हरकोहीलाई आफ्नो जन्मदिनमा यस्तै हुन्छ। सबैलाई आफ्ना नजिकैका आफन्त, साथीभाइ एवं हितैषीले विस गर्नासाथ एकपटक यसै भन्न मनलाग्दो हो।
जन्मदिन शंकरको थियो।
'ह्याप्पी बर्थ डे डियर,' सुजिताको म्यासेज आयो, रातको १२ बजे। सुजिता अर्थात्, शंकरकी प्रेमिका। फस्र्ट विस। शंकर एक्साइटेड भयो। निदाउन-निदाउन के आँटेको थियो, सुत्नै सकेन। उसलाई लागेको थिएन रातको बाह्र बजेसम्म कुरेर सुजिताले यस किसिमले एसएमएस पठाउँछे।
पहिलो प्रेम, नयाँ-नयाँ जोडी।
शंकरलाई सुजिताका केही बानीबेहोरा साह्रै मन पर्थे। जाडो महिनामा उनीहरू चौरमा बसेर बदाम र सुन्तला खाइसकेपछि उठेर हिँड्नै लाग्दा सुजिता बदामका छरिएका बोक्राहरू एक-एक गर्दै टिपेर सँगाल्थी र आफ्नै झोलाभित्र हाल्थी। सार्वजनिक ठाउँमा कसैले चुरोट पिए देखिसहन्नथिइ। महसुर भएर कराइहाल्थी।
शंकर भने लाज मान्थ्यो। भन्थ्यो, 'तिमी कत्ति कन्सस यस्तो कुरामा !'
सुजिता भन्थी, 'कसै न कसैले त सुरु गर्नैपर्छ शंकर। बाटो नै बनाएन भने मान्छेहरू कहाँबाट हिँडून् ?' हरेक शनिबार बाग्मती सफाइ अभियानको कार्यक्रम खोज्दै हिँड्थी। शंकर पनि जान्थ्यो कहिलेकाहीँ। छुट्टीका दिनमा एक-दुई पटक उनीहरू काठमाडौंवरिपरिका डाँडाकाँडा घुम्न गएका थिए। सुजिता निकै खुसी हुन्थी।
बादल, कुहिरो र जंगल देख्नासाथ अनुहार उज्यालो बनाउँदै भन्थी, 'आई लभ नेचर।'
हो, यस्तै स-साना कुराबाट शंकर सुजितासँग इम्प्रेस्ड थियो।
'थ्याङ्क यु डियर,' शंकरले सुजिताको एसएमएसको रिप्लाई पठायो।
'सरप्राइज गिफ्ट छ तिम्रा लागि,' अर्को एसएमएस आयो।
'एक्साइटेड।' शंकरको एसएमएस।
भोलिपल्ट। वसन्तपुर फ्रिक स्टि्रटको अग्र्यानिक क्याफेमा उनीहरू भेटिए। शंकरले सुजिताका लागि ग्रीन टी मगायो।
'खै त बर्थ डे गिफ्ट ?' शंकरले सोध्यो।
'यति सजिलै कहाँ दिन्छु।' सुजिताले भनी।
त्यसपछि उनीहरू वसन्तपुरबाट पेप्सीकोलातिर हान्निए। शंकर निकै कौतूहलले भरिएको आँखाले सुजितालाई घरीघरी हेरिरहेको थियो। 'आखिर के दिन लागि बर्थ डे गिफ्ट ?'
एउटा खुल्ला ठाउँ देखाउँदै सुजिताले शंकरलाई भनी, 'ल अब खोल्छु सस्पेन्स। थाहा छ, यो ठाउँ पुरानो डम्पिङसाइट हो। खासमा म एउटा संस्थामा आबद्ध छु जसले स्मृतिवृक्ष नाम गरेको प्रोजेक्ट सञ्चालन गरेको छ। यसअन्तर्गत हामी आफूले चिनेका अरू संस्थाहरूलाई वृक्षारोपण गर्न कन्भिन्स गरेका थियौं। वृक्षारोपण कसैको जन्मदिन, एनिभर्सरी वा कुनै आफन्तजन मरिसकेका छन् भने तिनको सम्झनामा वा जुनसुकै पर्व/उत्सवमा आफ्नो इच्छाअनुसार रोप्न सकिन्छ। हामी यसरी वृक्षारोपण गर्न खेर गएको जमिनको खोजीमा छौं।'
शंकर नन स्टप बोलिरहेकी सुजिताको आँखामा प्रेमिल दृष्टि फ्याँकिरहेको थियो। सुजितालाई अझै केही भन्नु थियो, भनी- 'हाम्रो मेन टार्गेट भनेको क्लिन एन्ड ग्रीन काठमाडौं हो। थाहा छ यही पेप्सीकोलाको स्मृति वाटिकामा हामीले सोह्र सयभन्दा बढी रूख रोपिसकेका छौं। यो पुरानो डम्पिङसाइट हो। सरसफाइ गरेर हामीले यसलाई यत्तिको बनाएका हौं।'
'...........र आज। म तिम्रो नाममा एउटा कपुरको रूख रोप्दैछु। यही हो बर्थ डे गिफ्ट।' 'हाउ स्वीट !' शंकरको अवचेतन मनबाटै फुत्कियो। सुजितासँग ऊ इम्प्रेस्ड त छँदै थियो, अब थप इम्प्रेस्ड भयो।
दुवैले त्यहाँ एउटा रूख रोपे। प्रेमको बीउ।
'एक दिन यो ठूलो हुनेछ र हामीलाई हाम्रो प्रेमको सम्झना दिलाउनेछ,' शंकरले भन्यो। शंकर र सुजिताको प्रेमकथाले मलाई पनि निक्कै छोयो। मनमनै यस्तो संकल्प गरेँ— म पनि अब कसैलाई गिफ्ट दिनु परे उसको नाममा रूख रोप्छु। रंगीबिरंगी ग्रिटिङ कार्ड बनाउन कैयौं रूख काटिन्छन्, तर यहाँ रूख रोपिने काम थियो, पुण्यको काम। के मेरो नाममा पनि कहीं कतै कसैले रूख रोपेको होला ?