उनले लोकेसन दिइन्- इन्द्रेणी हेल्थ क्लब। समय- बिहान।
अनुमान गर्न गाह्रो थिएन, त्यहाँ उनी फिजिकल फिटनेसका निम्ति पुग्छिन्। तोकिएकै समयमा पशुपति प्लाजास्थित इन्दे्रणी हेल्थ क्लब पुग्दा नायिका सञ्चिता लुइँटेल कल्पना गरेभन्दा भिन्न आवरणमा भेटिइन्। जिज्ञासा राख्न नपाउँदै उनले सुनाइन्- 'आज इदको सार्वजनिक बिदा, त्यसैले बिहान निस्कन पाइयो।' सामान्य दिन हुँदो हो त यतिबेला उनी आफ्ना छोराछोरीलाई विद्यालय पठाउने तरखर गरिरहेकी हुन्थिन्।
यसबाट पनि बुझ्न सकिन्छ, यी नायिका अब पारिवारिक जीवनमा फर्किएकी छिन्। उनी रिल होइन, रियल लाइफमै 'आमा'को भूमिका निर्वाह गरिरहेकी छिन्। वास्तविक आमा बन्नुको अनुभव कस्तो छ त ? 'एकदमै रमाइलो, साँच्चै भन्ने हो भने अहिले म सार्थक दिनहरू बिताइरहेकी छु।' यसो भनिरहँदा उनको अनुहारमा असीम सन्तुष्टि झल्कन्थ्यो।
छोराछोरीलाई समय दिनुपर्ने भएकाले उनको दैनिकी पूरै फेरबदल भएको छ। सञ्चिता भन्दै थिइन्- 'बिहान होइन, फिटनेसका लागि साँझ आउँछु।' साँझ विद्यालयवाट फर्किएपछि छोराछोरी खाना खाएर सुतिहाल्छन्। उनीहरूको सुत्ने तालिका नियमित छ, साढे ५ देखि ६ बजे। 'त्यसपछि मलाई फुर्सद हुन्छ,' सञ्चिताले भनिन्- 'अनि फिटनेस क्लब आउँछु।' नायक श्रीकृष्ण श्रेष्ठले सञ्चालन गरेको यो फिटनेस क्लबमा उनी करिब दुई घण्टा बिताउँछिन्। नियमित व्यायाम सकेपछि कहिले सौना त कहिले ज्याकुजी गर्न मन लाग्छ। क्लबको सदस्य भएका नाताले चाहेका बेला स्पा सेवा लिन कुनै रोकटोक छैन। त्यसपछि सञ्चिता सोझै बानेश्वरस्थित आफ्नो घर फर्कन्छिन्। रातिको खानामा उनलाई रोटी तथा मौसमी फलसँगै एक गिलास दूध भए पुग्छ।
छोराछोरीसँग तालमेल मिलाउन सञ्चिताले उठ्ने समयलाई पनि नियमित बनाएकी छिन्। बिहान पाँच नबज्दै उनी छोराछोरीहरूसँगै उठिसकेकी हुन्छिन्। उठ्नासाथ पानी पिउने बानी छ। त्यसपछि छोराछोरीलाई नास्ता बनाउने, लुगा लगाइदिने, सरसफाइ गर्ने कामले उनलाई बेफुर्सदिलो बनाउँछ। बिहान ९ नबज्दै छोराछोरीका साथमा उनले खाना खाइसकेकी हुन्छिन्। सञ्चिता माछामासु खाँदिनन्। त्यसैले खानामा दाल, भात र तरकारी भए हुन्छ। 'तर, छोराछोरीहरूचाहिँ मासु खान मन गर्छन्,' उनले भनिन्- 'त्यसैले हप्तामा दुई पटक आफैले पकाएर ख्वाउँछु।'
सञ्चिता आफ्ना सन्तानप्रति कति समर्पित छिन् भन्ने कुरा यसरी पनि बुझिन्थ्यो कि, हरेक प्रसंगमा कहीं न कहीं छोराछोरीलाई जोडेकै हुन्थिन्। 'म स्वयं बच्चाजस्तै भैसकेकी छु,' सञ्चिताले भनिन्- 'उनीहरूले जस्तै खान, खेल्न, बोल्न, रमाउन मन लाग्छ।' कतिसम्म भने सञ्चिता आफ्ना लागिसमेत बेबी प्रोडक्ट प्रयोग गर्छिन्। कार्टुन हेर्ने, चकलेट खाने बानी पनि छोराछोरीबाटै उनमा सरेको छ।
भान्छाको काममा खासै अभ्यस्त नभएकी सञ्चिता छोराछोरीका निम्ति भने आफैं डाडु-पन्यु चलाउँछिन्। नुहाइदिने र तेल लगाएर मसाज गरिदिने काम पनि आफैं गर्छिन्। छोराछोरीहरूसँगको यस्तो सामीप्यताले अपार आनन्दको अनुभूति हुँदो रहेछ, -सञ्चिताले भनिन्।
बच्चाहरू कस्ता कुरामा रमाउँछन्, के कुराले खुसी हुन्छन्, कस्तो व्यवहारको अपेक्षा गर्छन् जस्ता सामान्य मनोविज्ञान उनले राम्रोसँग बुझेकी छिन्। टेलिभिजन हुन् वा पत्रपत्रिका, उनलाई बालबालिकासँग जोडिएका सामग्रीले तानिहाल्छ। 'मैले गर्भवती हुँदादेखि नै शिशुसँग गरिने व्यवहार, हुर्काउने विधिसम्वन्धी विस्तृत जानकारी लिएँ,' सञ्चिताले भनिन्- 'टेलिभिजनमा पनि सिरियल वा मनोरञ्जनभन्दा बालबालिकाहरूको विषयमा केन्दि्रत अन्तर्वार्ता हेर्थें।' त्यसैले त उनलाई राम्रोसँग थाहा छ, बालबालिकाहरूलाई कसरी स्वस्थ्य बनाउने एवं सभ्य बनाउने, सुशिक्षित बनाउने, संस्कारिक बनाउने। छोराछोरीको खुसीका लागि बर्थ डे सेलिब्रेट गर्ने, केक काट्ने, बेलुन सजाउने आदि काम पनि गर्छिन् उनी। चिनेजानेका कसैको बर्थ डे छ भने सञ्चिता स्वयं उक्त अवसरलाई सेलिब्रेट गर्न उक्साउँछिन्। 'म आफैं केक लिएर आउँछु भन्छु र छोराछोरी लिएर बर्थ डे सेलिब्रेट गर्न पुग्छु,' सञ्चिता भन्छिन्- 'यो बालबालिकाहरूसँग रमाउने राम्रो बहाना पनि हो।'
प्रायः बिदाको बेला सञ्चिता छोराछोरी डोर्याउँदै चाबहिलस्थित केएल टावर पुग्छिन्, जहाँ बालबालिकाहरूका लागि छुट्टै गेम जोन छ। त्यसबाहेक उनी चलचित्र हेर्न तथा सपिङ गर्न घरबाहिर निस्कन्छिन्। सपिङका लागि कुनै निश्चित गन्तव्य छैन, जहाँ सहज लाग्छ त्यहीं पुग्छिन्। 'तर सपिङमा पनि आफ्ना लागि भन्दा बालबालिकाहरूका लागि सामान छानिरहेकी हुन्छु,' सञ्चिता भन्छिन्। कहिलेकाहीं छोराछोरीले रुचाएको खेलौना किन्न नसक्दाचाहिँ उनको मन दुख्छ।
सञ्चितालाई उनका छोराछोरीले 'आमा' भनेर सम्बोधन गर्छन्। 'यो शब्दले मलाई भित्रैसम्म छुन्छ,' सञ्चिता केही भावुक भइन्- 'एक-अर्काप्रति गरिने सम्बोधन पनि कति प्रिय हुन्छ।' उनले छोरालाई बोलाउने प्यारो नाम छ, बी। छोरा आउँदो भदौमा तीन वर्ष पुग्दैछ। छोरी अर्थर छोराभन्दा ठीक एक वर्ष जेठी छिन्। दुवै युरो किड्समा पढ्छन्।
'उनीहरूलाई भर्ना गर्नुअघि तीन दिनसम्म विद्यालयमै बसेर मैले त्यहाँको वातावरण अध्ययन गरें,' सञ्चिताले भनिन्- 'भर्नापछि पनि नियमित रूपमा १० दिनसम्म उनीहरूको क्लासमा बसें।' आफ्ना छोराछोरीको भविष्यका खातिर उनले गरेको यो समर्पण एवं लगाव वास्तवमै अनुकरणीय लाग्छ।
सञ्चिताका निम्ति सामान्य जीवनशैली स्वीकार्य छ। उनी महत्त्वाकांक्षी छैनन्। गरगहनामा आशक्ति छैन। हिँडडुल गर्नुपर्दा ट्याक्सी प्रयोग गर्छिन्। सामसुङको ग्यालेक्सी एस फोर बोक्छिन्। आफूलाई सुहाउँदो पहिरन भए पुग्छ, ब्रान्डेड वा महँगो नै हुनुपर्छ भन्ने छैन। सन्तुलित खानपान, नियमित जीवनशैली एवं सकारात्मक सोच नै उनको सुन्दरताको रहस्य हो। चलचित्रमा फर्कने तयारी गरिरहेकी सञ्चितासँग कुराकानीको अन्त्यमा सोधियो- 'संगिनी सुईको विज्ञापनवाट जन्मान्तरको सन्देश दिने तपाईं स्वयंले त त्यसलाई उल्लंघन गर्नुभो नि ?' उनले सहजतापूर्वक जवाफ फर्काइन्-'त्यो व्यावसायिक जीवनको कुरा हो, निजी जीवन त फरक हुन्छ नि।'