टाइटलमा केही पुरानोपन देखिए पनि स्टोरी टेलिङलाई आधुनिक तरिकाले प्रस्तुत गर्ने उद्देश्यसहित अशोक शर्मा चलचित्र निर्देशनमा फर्कने भएका छन्। यो मायाको सागर निर्देशन गरेको झन्डै १३ वर्षपछि शर्माले पुनः चलचित्र निर्देशनको यात्रा रोजेका हुन्। सफल निर्देशक कलाकार एवं निर्माताका रूपमा चिनिएका शर्माले बीचको एक दशकमा दुईवटा चलचित्र मितिनी र अन्दाज निर्माण गरे। त्यसबीच टेलिसिरियल अपराधलाई पनि उनैले निर्देशन गरेका थिए। यसपटक शर्मालाई अमेरिकामा डाइरेक्सन पढिरहेकी छोरी तथा मलेसियामा डाइरेक्सन नै पढिरहेका छोराले एसोसिएट डाइरेक्टरका रूपमा सघाउने छन्। बल्कबस्टर चलचित्र अल्लारेको सिक्वेल बनाउने खबर केही समयअघि सार्वजनिक भए पनि शर्माले उक्त चलचित्रलाई पाइपलाइनको प्रोजेक्ट भनेका छन्। 'अल्लारे-२ अवश्य बनाउनेछु तर पहिले चलचित्र छोरी बनाएर मात्र,' - शर्माको भनाइ छ।