फोब्र्स म्यागेजिनले हलिउडका सबैभन्दा महँगा नायिकाको सूची जारी गरेको छ। उक्त सूचीमा एक्टे्रस स्यान्ड्रा बुलाक शीर्ष स्थानमा छिन्। बुलाकले जेनिफर लरेन्स र जेनिफर एनिस्टनलाई पछाडि छोड्दै महँगो नायिकाको ताजा सूचीमा पहिलो स्थान बनाएकी हुन्। फोब्र्सका अनुसार स्यान्ड्रा बुलाक अभिनीत चलचित्र ग्रेभिटीबाट उनले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार हासिल नगरे पनि सबैभन्दा महँगी नायिका भने भएकी छिन्। उनले सन् २०१३ जुन देखि सन् २०१४ सम्म ५ करोड १० लाख डलर कमाएकी थिइन्। दोस्रो स्थानमा रहेकी जेनिफर लरेन्स ३ करोड ४० लाख डलर तथा तेस्रो स्थानमा ३ करोड १० लाख डलरका साथ जेनिफर एनिस्टन छिन्। चौथो स्थानमा नायिका ग्वेनिथ पाल्ट्रो छिन्, जसको कमाइ १ करोड ९० लाख डलर छ। यस्तै पाचौं स्थानमा एन्जेलिना जोली र क्यामरुन डियाज छन्, उनीहरूको कमाइ १ करोड ८० लाख डलर छ। स्कारलेट जोहान्सन १ करोड ७० लाखका साथ छैटौं स्थानमा छिन्। हलिउडका १० महँगा नायिकामा एमी एडम्स, नताली पोर्टम्यान र क्रिस्टिन स्टिवर्टको नाम पनि छ।