साप्ताहिक संवाददाता
निकै वर्ष लामो अनुभव बटुलेका मोबाइल व्यवसायीहरूको समूहले सञ्चालन गर्ने न्यू मोबाइल मार्केटका अध्यक्ष पुरुषोत्तम बस्नेतले सबै पसलको निर्माण पूरा भएको र सामान्य सजावटको काम मात्र बाँकी भएको जानकारी दिए। बस्नेतका अनुसार 'हामी तयारी अवस्थामा छौं र केही प्राविधिक काम सम्पन भएपछि भदौ १२ गतेदेखि न्यू-मोबाइल मार्केट शुभारम्भ गर्नेछौं।' मार्केटले नेपाली महिलाहरूको महान चाड तीजको अवसर पारेर मार्केटको शुभारम्भका साथै विभिन्न ग्रान्ड ओपनिङ प्रवर्द्धनात्मक एक्स्पो पनि गर्ने भएको छ। काठमाडौंको मुख्य सहरी इलाका तथा बजारक्षेत्रमा रहेको यो मलमा कुनै पनि मोबाइल ग्राहकले आफूलाई मन परेको मोबाइल तथा एसेसरिज सहज एवं सुविधाजनक ढंगले खरिद गर्न सक्ने अध्यक्ष बस्नेतको दाबी छ।
सिभिल ग्रुपका अध्यक्ष तथा संविधानसभाका सभासद इच्छाराज तामाङका अनुसार मोबाइल मार्केटले ग्राहकहरूलाई एउटै स्थानमा विभिन्न ब्रान्डका मोबाइल खरिद गर्ने अवसर प्रदान गरेको छ।
सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसका अध्यक्ष दीपक मलहोत्राले सामसुङ कम्पनीले न्यू मोबाइल मार्केटमा आफ्नो आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने बताएका छन्। उनले व्यवस्थित मोबाइल मार्केटको आवश्यकता खट्किरहेको बेला न्यू मोबाइल मार्केट सञ्चालनहुनु सराहनीय काम भएको बताए। मलहोत्राका अनुसार 'हाल नेपालको बजारमा ५ लाख मोबाइल सेट बिक्री भैरहेको छ र बढ्दो बजारका लागि नयाँ मार्केट आवश्यक छ।'
ग्रान्ड ओपनिङको अवसर पारेर मोबाइल मार्केटले भदौ १२ गतेदेखि २१ गतेसम्म प्रवर्द्धनात्मक एक्स्पो पनि सञ्चालन गर्न लागेको छ। उक्त एक्स्पो अवधिभर मोबाइल खरिदमा प्रत्येक दिन ३० हजार रुपैयाँ बराबरको एउटा मोबाइल सेट तथा बम्पर उपहारका रूपमा ८० हजार रुपैयाँ बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिनेछ। त्यसैगरी ग्रान्ड ओपनिङ एक्स्पोको अवसर पारेर हरेक ब्रान्डको नयाँ मोबाइल खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्म विशेष छुट पनि प्रदान गरिने मार्केटका अध्यक्ष बस्नेतले जानकारी दिए ।
मोबाइल बजारमा सामसुङ, हुवावे, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, सेलकोन, आईफोन, स्पाइस, डिटिसी, इन्टेक्स, एचटिसी, लाभा, जोलो, रेज, माइक्रोम्याक्स, फ्लाई तथा विनकम आदि कम्पनीबाट उत्पादित मोबाइल सेटहरू बिक्री हुने कम्पनीले जनाएको छ। जसअन्तरगत विभिन्न कम्पनीले यो मार्केटमा सञ्चालन हुने पसलहरूका लागि ब्रान्डिङ र नयाँ मोडलहरू सार्वजनिक पनि गर्नेछन्। यो मार्केटमा बजेट फोन, फिचर फोन, स्मार्टफोनका साथै विभिन्न किसिमका ग्याजेट्स तथा मोबाइल एसेसरिज, ट्याबलेट, ल्यापटप, फ्याबलेट आदि पनि उपलब्ध हुनेछन्।
मोबाइल बजारका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको व्यवस्थित मोबाइल बजारको शुभारम्भका अवसरमा गर्न लागिएको
'ग्रान्ड ओपनिङ प्रोमोसनल एक्स्पो' को मुख्य प्रायोजकमा सामसुङ मोबाइल आबद्ध भएको छ।
उक्त मोबाइल एक्स्पो यही भदौ ११ देखि २१ गतेसम्म सञ्चालन हुनेछ। मलको चौथो र पाँचौं तलामा १ सयभन्दा बढी मोबाइलका ब्रान्डेड पसल तथा विभिन्न कम्पनीका शोरुम एवं केयर सेन्टरबीच चल्ने एक्स्पोको अवधिभर करिब ४ लाख अवलोकनकर्ता नयाँ मोबाइल बजारमा आउने आयोजकहरूको दाबी छ।
उक्त मोबाइल मार्केटमा २४ सै घण्टा बिजुली, पार्किङ तथा सुरक्षाको व्यवस्था मिलाइएको छ भने मोबाइल बजारमा आउने ग्राहकहरूले निःशुल्क वाइफाइमार्फत इन्टरनेट प्रयोग गर्न पाउनेछन्। मार्केटमा मोबाइल खरिद गरेको खण्डमा पार्किङ शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ भने नेपालको हालसम्मकै भव्य, व्यवस्थित एवं आधुनिक मोबाइल बजारका रूपमा सञ्चालन हुन लागेको उक्त मार्केटमा गुणस्तरीय मोबाइल मात्र बिक्री गर्ने योजना छ।
हरेक वर्गका ग्राहकहरूको आवश्यकता र मागलाई ध्यानमा राखेर उक्त मार्केटमा विभिन्न किसिमका मोबाइल सेट बिक्रीका लागि राखिने कम्पनी सञ्चालकहरूको भनाइ छ। सस्तादेखि महँगा सम्मका विभिन्न ब्रान्डका उच्चस्तरीय मोबाइल सेट मात्र बिक्री गरिने मोबाइल मार्केटमा एक्सचेन्जको सुविधा पनि उपलब्ध हुनेछ। स्तरीय कम्पनीबाट उत्पादित मोबाइल सेट मात्र बिक्री हुने र बिक्री भएका हरेक मोबाइलमा १ वर्ष वारेन्टी दिने व्यवस्था गरिनेछ। यो मार्केटमा दैनिक ५ हजारभन्दा बढी उपभोक्ताले सुविधा लिन सक्ने व्यवस्था छ।