भावना साटासाट तथा रमाइलो भेटघाटका रूपमा लिइने तीजलाई अब सामाजिक एवं राजनैतिक जागरण ल्याउने अवसरका रूपमा प्रयोग गर्ने क्रम बढेको छ। यति बेला विभिन्न महिलावादी संघ, संगठन तथा राजनीतिक दलहरूले छुट्टाछुट्टै कार्यक्रमको तयारी गरिरहेका छन्। पीडा बिर्साउने वा चेली-माइतीबीच भेटघाट गराउने सांस्कृतिक पर्व तीजलाई राजनैतिक भाषण गर्ने थलोका रूपमा विकास गरिँदै लागिएकोमा कतिपय खुसी नभए पनि धेरैले यसलाई राजनैतिक जागरणको अवसरका रूपमा हेरेका छन्। समाजसेवी राधा पौडेल तीजलाई राजनीति गर्ने थलोका रूपमा विकसित गर्दै लानु उचित नभएको बताउँछिन्। पौडेल भन्छिन्- 'तीजलाई सामाजिक जागरण एवं चेलीहरूबीच आपसी सदभाव कायम गर्ने अवसरका रूपमा लिनुपर्छ।'
कतिपय महिलाले राजनीतिक संस्कारलाई व्यवस्थाअनुकूल अघि बढाउन चाडपर्वलाई प्रयोग गर्ने गरेका छन्। त्यतिमात्र नभएर राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि अधिकारको वकालत गर्ने अवसरका रूपमा पनि तीजको सदुपयोग गरेको बताइरहेका छन्। नेविसंघका केन्द्रीय सदस्य लाओस राई तीजलाई धार्मिक तथा सांस्कृतिक मान्यता स्थापित गर्ने मात्र नभै राजनैतिक जागरण सिर्जना गर्ने अवसरका रूपमा पनि लिइनुपर्ने तर्क गर्छन्। राई भन्छन्, 'महिला अधिकारको आवाज उठिरहेका बेला चाडपर्वले अधिकारको बहसलाई थप सशक्त बनाउँछ।'
तीजका अवसरमा विभिन्न राजनैतिक दलका भ्रातृ संगठनहरूले छुट्टाछुट्टै कार्यक्रम आयोजित गर्छन्। विशेष गरेर सरकारी क्याम्पसहरूमा फरक-फरक कार्यक्रम सम्पन्न गरिन्छन्। यस्ता कार्यक्रमले एकआपसमा विभेदको अवस्था सिर्जना गरेको पनि बुझ्न गार्हो छैन। एउटा संगठनले आयोजना गरेको कार्यक्रममा अर्को संगठनमा आस्था राख्ने व्यक्ति सहभागी नहुने परिपाटी पनि उत्तिकै छ। ज्योतिष डा. सुनिल सिटौला यसलाई सकारात्मक पक्षका रूपमा स्वीकार गर्न तयार छैनन्। डा. सिटौला भन्छन्- 'कतिपय राजनीतिक संगठनले पर्वलाई भड्किलो मात्र बनाएका छैनन्, एक-आपसमा विभेद सिर्जना गराउने काम पनि गरेका छन्।'
नेपालमा पछिल्लो एक दशकयता चाडपर्वहरूलाई राजनीतिसँग जोडेर मनाउन थालिएको हो। फरक संगठनहरूले छुट्टाछुट्टै दरखाने कार्यक्रम आयोजित गरेर आफनो राजनैतिक संगठनको आदर्श एवं सिद्धान्तको प्रचार गर्ने अवसर पनि पाएका छन्। त्यस्ता संगठनहरूको दर ख्वाउने कार्यक्रमलाई शक्ति प्रदर्शन गर्ने अवसरका रूपमा पनि हेरिन्छ। हाँसो, उमंग र रमझमले नै महिलाहरूको दुःख, पीडा र आँसुलाई प्रभावित तुल्याउन सकिँदैन भन्ने कुरा राम्रोसँग बुझेका राजनैतिक संगठनहरूले महिला अधिकारको आवाज उठाउने मात्र होइन अधिकार स्थापित पनि गराउन सक्नुपर्ने रेडियोकर्मी सन्तोषी अधिकारी बताउँछिन्। ठूला सहरहरूमा आफ्नो संगठनको प्रभाव बढाउन एवं महिलाहरूको भावनालाई आफ्नो स्वार्थमा प्रयोग गर्न राजनीतिक संगठनहरूको अभियान सञ्चालन हुनु उपयुक्त नहुने उनको धारणा छ।