- प्रतीक्षा खनाल गजुरेल, सञ्चारकर्मी
कुनै पनि महिला आफ्नो जीवनसाथीलाई ज्यान पनि दिन तयार हुन्छिन्। जसका लागि एक दिन व्रत बसिएको हुन्छ, त्यो दिन आफसे आफ इनर्जी आउँछ। महिला भनेका देवी, काली अनि धर्ती हुन्, जोसँग यति शक्ति हुन्छ कि एक दिन त के उनीहरू सैयौं दिन भोकै बसेर साधना गर्न सक्छन्।
- पल्पसा डंगोल, हास्यकलाकार
पहिलो कुरा त्याग र तपस्याका कारण यो सम्भव भएको हो। दोस्रो कुरा महिलाहरूमा हुने अदृश्य शक्ति त्यसको कारण हो, जुन शक्तिलाई महिलाहरूले आवश्यक परेको खन्डमा सहजै उपयोग गर्न सक्छन्। यो भगवान्ले महिलालाई दिएको उत्कृष्ट वरदान पनि हो।
- श्रद्धा अधिकारी, गीतकार
तीजको सांस्कृतिक पक्ष भनेको रमाइलो नाचगान पनि हो। विभिन्न ठाउँका महिलाहरू एकै ठाउँमा भेला भएर नाचगान गर्नुको आनन्द बेग्लै हुन्छ, केही समय भए पनि घर-व्यवहार, काम एवं परिवारबाट अलग भएकाले स्वतन्त्रताको आभास हुन्छ। महिलाहरू रमाइलो गर्न मानसिक रूपमै तयार हुन्छन्, जसले थकान महसुस गर्न दिँदैन।
- लीला अनमोल, साहित्यकार
तीज आउन दुई महिनाअघिदेखि दरका नाममा खाएका परिकारहरू जस्तै कुखुराका साँप्रा, विदेशी हि्वस्की-वाइनपछि तीजको दिन मात्र होइन, त्यसको सात दिनपछिसम्म पनि नाच्न लगायो भने नाचिरहन सक्छन्।
- कुमार कट्टेल, जिक्रीहजुर हास्यकलाकार
त्यही इनर्जी देखेर त भगवान् शिव दिवाना भा'का हुन् नि। अब म पनि भोकै व्रत बसेर अनि नाचगान गरेर आफ्नो हुनेवाला शिवलाई दिवाना बनाउने योजनामा छु।
- दीपाश्री निरौला, अभिनेत्री
यो आत्मसन्तुष्टिका कारणसम्भव भएको हो, नत्र कसरी भोकै नाच्न सक्नु नि ? हुन त महिलाहरूलाई भगवान्ले वरदान पनि दिएका हुन्छन्, भोकै नाच्न सकून् भनेर।
- कविता श्रेष्ठ, निर्मात्री
पहिले विवाहअघि भोकै बस्दा नाच्ने इनर्जी महेश्वरबाट आउँथ्यो, तर अहिले देश मोदेश्वरमय भएकाले भोकै बस्दा नाच्ने इनर्जी मोदीबाट आउँछ, छिमेकी मोदीचाहिँ होइनन् नि फेरि, छिमेकी मोदीले हाम्रो देश भोकै हुँदा १० हजार करोडको इनर्जी दिए, जसमा नेताहरू खुसीले नाचे अनि मेरो मोदीचाहिँ मेरा श्रीमान् हुन्, जसले मलाई अमूल्य माया दिएर भोकै नाच्ने इनर्जी दिनुभा'को छ।
- कुन्जना घिमिरे, हास्यकलाकार
तीजको व्रत जसका लागि बसेको हो, उसैको मायाले यस्तो शक्ति प्रदान गर्छ कि नाच्नेलाई भोको भएजस्तै लाग्दैन, भोक नै नलागेपछि छमछमी नाच्नुपरेन त ?
- शशि खड्का, नायिका
एक महिनाअघिदेखि दर खाएको हुन्छ नि त, त्यत्रो खाएपछि १ दिन त के २-३ दिन नै लगातार नाच्न सकिन्छ।
- वर्षा शिवाकोटी, नायिका
जब कुनै कुरालाई भित्री मनले विश्वास गरिन्छ, त्यसपछि इनर्जी स्वतः आइहाल्छ, तर यो भोकै बसेर नाच्न सक्ने इनर्जीका बारेमा गिनिज बुकमा नाम लेखाए विश्वमै धेरै नेपाली महिला गिनिज बुकमा नाम लेखाउन सफल हुने थिए।
- योजना पुरी, गायिका
व्रत बस्नुभन्दा केही घण्टाअघिसम्म अझ भनौं रातभर दरका नाममा डाइट पेलेर इनर्जी स्टोर गरिन्छ नि त, अनि नाच्दा-नाच्दै भोक लागेको बिर्सने पो हो कि ? मुख्य कुराचाहिँ भगवान् शिवले शक्ति दिएर हुन सक्छ।
- अभिरुचि बुढाथोकी, मोडल
महिलाहरूको महान् पर्व भएकाले तथा परम्परादेखि नै व्रत बस्ने नियम बसाइएकाले महिलाहरूमा पर्याप्त इच्छाशक्ति हुन्छ, त्यही जोसमा भोकै भए पनि मतलब नगरी नाच्छन्।
- सुप्रिया कटुवाल, मोडल
भगवान् शिवको शक्तिले गर्दा होला, दिदी-बहिनीहरूसँग रमाइलो गर्न पाएर पनि हुनसक्छ, इनर्जी आएको।
- रीतु कँडेल, गायिका
एक महिना लगातार खान्छन् अनि जाबो एक दिन नाच्छन्, त्यति इनर्जी त आइहाल्छ नि।
- लक्ष्मी खतिवडा, युवा नेतृ
मानिसहरू उट्पट्याङ अनुमान गर्छन्। मुख्य कुरा त्यो दिनको इनर्जी सञ्चित बोसोबाट पूर्ति हुन्छ, कसैकसैले लुकेर खाएर उफ्री-उफ्री नाचेको कुरा पनि सुनिन्छ, तर मचाहिँ भोकै नाच्छु। नाच्ने त्यो इनर्जीचाहिँ एक महिनाअघिदेखि खाएको दरको केही अंश दैनिक रूपमा बचेकाले आएको हुनसक्छ। तीजको दिन नाच्नकै लागि भनेर अघिल्लो दिन खाइने ३-४ प्रहरको त हिसाब हुनै बाँकी छ, पक्का खाली पेट त कसको पो हुन्छ र ? बिहान ३ बजेतिर पनि टन्न दर हानेको हुन्छ, दिनभरका लागि पुगोस् भनेर।
- कला पंगेनी, लोकदोहोरी गायिका
यो त सामान्य कुरा हो नि, हामी आफ्नो रहरले भोकै बस्छौं, त्यसकारण भोको भएको अनुभव नै हुँदैन। स्वाभाविक कुरा, महिलाहरू आफ्ना साथीसँगी भेट भएका बेला खाना खानै बिर्सन्छन्, अझ नाचगान गर्न पाउँदा झन रमाउँछन्। वर्षको एक दिनका लागि इनर्जी त जताबाट पनि आइहाल्छ नि।
- श्वेता भट्टराई, नायिका
तीजको व्रतको सम्बन्ध भगवान् शिवसँग हुने भएकाले त्यो इनर्जी सीधै कैलाशबाट शिवले नै पठाउँछन् नि।
- शोभिता सिम्खडा, नायिका
महिलाको दिमागले चाह्यो भने जे पनि गर्न सक्ने क्षमता राख्छ, दिमागले चाहनुमात्र पर्छ, शरीरले अचम्मको तथा जटिल र कठिन काम पनि गर्न सक्छ, एक दिन भोकै नाच्ने कुरा त सामान्य हो नि।
- निशा अधिकारी, नायिका
त्यस्तो इनर्जी कहाँबाट आउँछ, ठ्याक्कै भन्न सक्दिनँ.... म पनि त्यसकै उत्तरको खोजीमा छु।
- मुकेश ढकाल, नायक
श्रीमान्प्रतिको माया दर्साउँदै श्रीमान्का लागि भनेर ब्रत बसेको भएर त्योभित्रैदेखि आएको शक्ति हो, तर भित्र कुन ठाउँबाट इनर्जी आएको हो भन्ने कुराचाहिँ मलाई पनि थाहा छैन।
- मेलिना मानन्धर, नायिका
जसको आत्मा स्वच्छ छ, उसको आत्मामा भगवान्को बास हुन्छ, त्यसैले भगवान्को भक्तिमा लीन भएपछि भोको बसेको सोच्नु पनि पाप हो। भगवान्लाई कहिल्यै भोक लागेको थाहा छ ?
- देविका केसी, लोकदोहोरी गायिका
भोकले पेटमा मुसा कुद्न थाल्छ, अनि पेटमा काउकुती लागेर होला महिलाहरू एकछिन पनि ननाची बस्न सक्दैनन्। पेटको त्यो काउकुती नै इनर्जीको मुख्य स्रोत हो।
- सुनिता गौतम मैयाँ, हास्यकलाकार