तीज आउन दुई हप्ता बाँकी छँदा शनिबार बुटवलको नयाँबसपार्क तीजमय भयो। तीजको अवसर पारेर डार्सिज इन्टरनेसनल होटलमा आयोजित सांगीतिक कार्यक्रममा चर्चित लोकदोहोरी कलाकार खुमन अधिकारी तथा रमिला न्यौपानेले सहभागीहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गर्दै दिनभर नचाए। सुरुमा स्टेज चढेका खुमनले नयाँ पुराना गरी आधा दर्जन तीज गीतमार्फत महिलाहरूलाई छमछमी नचाए। लायन्स क्लब न्यू होराइजनले आयोजना गरेको उक्त कार्यक्रममा रमिला न्यौपानेले 'झम झम दर्कियो पानी', 'ओम शिव शंकर' र 'लचक्कै कम्मर' गाएर वातावरण तताइन्। कार्यक्रममा स्थानीय हास्य कलाकार पुरुषोत्तम भण्डारीले क्यारिकेचरमार्फत सहभागीहरूलाई हँसाएका थिए।