साप्ताहिक संवाददाता
सञ्चारकर्मी
चलचित्र क्षेत्रमा आउनु अघि म सञ्चारकर्मी थिएँ भन्ने कुरा असाध्यै कम व्यक्तिलाई मात्र थाहा छ। म एउटा चलचित्रमा अभिनय गर्न विराटनगरबाट काठमाडौं आएको थिएँ तर विडम्बना उक्त चलचित्रमा मैले काम गरिन। चलचित्रमा काम नगरे पनि चलचित्र पत्रकारिता गर्नुपर्यो भनेर मैले एउटा टेलिभिजन च्यानलमा सञ्चारकर्मीका रूपमा काम गरेको थिएँ। करिब छ महिनासम्म टेलिभिजन पत्रकारिता गर्दा मैले चलचित्र क्षेत्रलाई नजिकबाट नियाल्ने अवसर पाएँ।
पृथ्वीनारायण शाह
नेपाल एकीकरण गर्ने श्रेय पाएका पृथ्वीनारायण शाहको जीवनीमा आधारित टेलिश्रृंखला 'पृथ्वीनारायण शाह' मा मैले पृथ्वीनारायणकै भूमिका निर्वाह गरेको थिएँ। बिडम्बना के भयो भने १५-२० भाग छायांकन भए पनि उक्त श्रृंखला प्रसारणमा आएन। चलचित्र क्षेत्रमा आउनुअघि नै मैले पाएको उक्त भूमिकालाई मैले चुनौतीका रूपमा स्वीकारेको थिएँ।
साहित्य अनुरागी
दर्शकहरूले चलचित्रको पर्दामा देख्ने जीवन लुइँटेल र वास्तविक जीवनको जीवन लुइँटेलबीच धेरै अन्तर छ। म चलचित्रमा रोमान्टिक, भावुक, आक्रामक आदि भूमिकामा प्रस्तुत भए पनि वास्तविकतामा सामान्य व्यक्ति हुँ। मलाई साहित्य मनपर्छ। फुर्सदमा कविता कोर्न मन पराउँछु। राम्रा-राम्रा पुस्तक अध्ययन गरेर फुर्सदको सदुपयोग गर्छु।
खेलाडी
विराटनगरमा हुर्किएकाले होला मैले विगतमा प्रसस्त क्रिकेट र फुटबल खेलेको छु। अहिले पनि ममा क्रिकेट र फुटबलप्रति उत्तिकै रुचि छ। कलाकारहरूले खेल्ने फुटबल खेलमा सहभागिता जनाइरहन्छु। म अभिनय क्षेत्रमा नआएको भए क्रिकेट र फुटबलमध्ये कुनै एउटा विधामा सक्रिय हुन्थे जस्तो लाग्छ।
कालो रंग
मलाई सबैभन्दा मनपर्ने रंग कालो हो। मैले लगाउने अधिकांश पहिरन कालो रंगका छन्। एक दर्जनभन्दा बढी सुट कालै रंगका छन्। जुत्तादेखि मोबाइलसम्म कालै रंगका छन्। मैले चढ्ने कारको रंग पनि कालो नै छ।
रिभान
मैले आफ्नो छोराको नाम रिभान राखेको छु। अधिकांश व्यक्तिमा 'रिदम' चलचित्र सफल भएपछि छोराको नाम रिभान राखेको होला भन्ने परेको छ। वास्तवमा रिभानको अर्थ मुटुको टुक्रा हो। म र मेरी श्रीमतीका लागि हाम्रो पहिलो सन्तान मुटुको टुक्रा जत्तिकै प्यारो भएकाले छोराको नाम रिभान राखेका हौं।