रूपन्देही देवदहका संगीतपारखीहरूले आइतबार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको अनेकन प्रस्तुतिमा रमाउने अवसर पाए। तीजको अवसरमा खैरेनीचोकमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा मुख्य आकर्षण बनेका लोकदोहोरी गायक नवीन पौडेलले आधा दर्जन गीतमार्फत दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरे। लोकगायिका जमुना रानाले 'मै काली काली', 'नौलो चलन ल्याम', 'मैले मन पराको' गाएर सहभागीहरूलाई झुमाइन्। नेपाल महिला संघ देवदह नगर समितिले आयोजना गरेको उक्त कार्यक्रममा मोडल सविता रसाइलीले नृत्यमार्फत मनोरञ्जन प्रदान गरिन् भने डिल्लीनारायण पाण्डेले गीत सुनाएर सहभागीहरूको मन जिते।