साप्ताहिक संवाददाता
स्कुल छिर्नुअघि नै उनी घरको अवस्था सुधार्न विदेश जाने मुडमा पुगिन्। आमासँग सल्लाह गरिन्। 'छोरी तँ सानै छस्, मिल्छ भने मै जान्छु। आखिर केही त गर्नैपर्छ।' आमाले भनिन्, 'मलाई दलालसँग भेट्टाइदे, म कुरा गर्छु।' दुवै जनाबीच विदेश जानैपर्छ भन्ने मतैक्य भयो।
उनी हुन् दीपा अधिकारी। सुनसरीको चक्रघट्टी घर भएकी दीपाले आमालाई दलालसँग भेट्टाइ दिइन्। २५ हजार र एउटा पासपोर्ट भए मुम्बई हुँदै कुवेत पुर्याइदिने र काम लगाउने जिम्मा दलालले लिए। दुवै खुसी हुँदै घर फर्किए। आमाको पासपोर्ट बनाउन ठिक्क परेका बेला थाहा भयो, आमा त गर्भवती पो भै'छन्। यसअघि नै ५ छोरी भैसकेको घरमा आमा फेरि गर्भवती भएको खबरले दीपालाई हुनसम्म दिक्क लाग्यो। यस्तो बेलामा आमालाई विदेश पठाउने कुरै भएन। दलालले सल्लाह दिए, उमेर बढाएर तिमी नै कुवेत जाऊ, म व्यवस्था मिलाइदिन्छु।'
दीपाका बुवा उति राम्रो कान सुन्दैनन्। पहाडको सारा सम्पत्ति बेच्ोर किनेको थोरै जग्गाले वर्षभरि खान पुग्दैन। त्यसमाथि त्यतिका सन्तानलाई पढाउने कुरा त धेरै परको कुरा भयो। यस्तो बेलामा आमा र छोरीमध्ये एक जना विदेश जानु बाध्यता नै थियो। आमा पनि गर्भवती भएपछि दीपाले उमेर बढाएर भए पनि पासपोर्ट बनाइन्। खोजखाज गरेर दलाललाई २५ हजार बुझाइन् र ७ वर्षअघि मुम्बई हुँदै कुवेत लागिन्।
'नेपालबाट मुम्बई पुगुन्जेल त मलाई खुसी लागेको थियो, मुम्बई पुगेपछि मलाई घरको साह्रै नियास्रो लाग्यो। घर र्फकन्छु भनेर धेरै रोएँ तर कसैले मेरो कुरा सुनेनन्।' सात वर्षपछि नेपाल फर्किएकी दीपाले साप्ताहिकसँग पुरानो कुरा सम्झँदै भनिन्, 'घरमा आमाले पनि हाम्रो बाध्यता हो छोरी, जे हुन्छ सहेर बस् भन्नुभयो।' उनी एक महिना मुम्बई बसिन्। त्यसपछि सीधा कुवेत पुगेकी दीपा भाषा र उमेरका कारण समस्यामा परिन्। 'त्यहाँ कामदारहरूको किनबेच हुँदो रहेछ, कानुनी रूपमा।' दीपाले त्यहाँकी नियम सम्झदै भनिन्, 'म दुब्ली, काली, १५ वर्षकी केटी कसरी काम गर्छे भनेर मलाई कसैले किन्न मानेनन्।'
नेपालबाट मुम्बई पुर्याएको दलालले कुवेती दलालसँग पैसा लिएपछि उनीहरूको जिम्मा लगाउँदा रहेछन्। त्यसैले नेपालबाट गएका महिलालाई त्यहाँका मालिकले पैसा हालेर किन्नुपर्दो रहेछ। जसले बढी दाम लगाउँछ, उसले नेपालीलाई आफ्नो घरमा लाँदो रहेछ। जान नमाने कुटेर, घिसारेस पनि लाँदा रहेछन् । ९ कक्षा पढेकी दीपालाई मान्छेको यसरी किनबेच भएको पटक्कै मन परेन, तर बाध्यता थियो, उनी भगवान्को नाम जप्दै परिस्थितिलाई स्वीकार गर्न थालिन्।
'सबैभन्दा पहिले एउटा दारीवाल मान्छेले एउटी महिलामार्फत मेरो हात र खुट्टाको नापजाँच गर्यो। त्यसपछि उनीहरूको भाषामा मलाई जाउ भन्यो।' दीपाले सात वर्षअघिको घटना सम्झँदै भनिन्, 'आफूलाई कारमा हालेपछि म नराम्रोसँग रोएँ। अब मलाई के गर्छन् भन्ने धेरै डर लाग्यो। भगवान्लाई धन्यवाद, मलाई एउटी महिलाको जिम्मा लगाइयो र घरको काम सिकाइयो।'
त्यहाँ गएपछि दीपालाई थाहा भयो, उनीजस्तै धेरै महिला कुवेतभरि छरिएका छन्। एउटी युवतीले नेपाली भाषामा कुरा गरेपछि उनी उसलाई अँगालो मारेर रोइन्। नवलपरासीबाट आएको बताउने ती महिलाले नआत्तीकन घरको काम गर्न सुझाव दिइन्। त्यसपछि बल्ल उनी रुन छाडिन्। 'त्यसपछि पो मलाई थाहा भयो, नेपालबाट महिलालाई वैदेशिक रोजगारीमा जान सरकारले बन्द गरेको रहेछ। त्यहि भएर हामी भारतबाट कुवेत पुगेका रहेछौं। हजारौं महिला कुवेतमा घरेलु कामदार रहेछन्।' दीपाले भनिन्, 'मलाई मात्र समस्या भएर विदेश जानुपरेको भन्ने लागेको थियो, मभन्दा पनि दर्दनाक कथा भएका दिदीहरूलाई भेटें मैले।'
हुन त जुन घरमा उनलाई काम गर्न पठाइएको थियो, त्यो घरमा उनी एक वर्ष भन्दा टिक्न सकिनन्। सानो उमेर र धेरै काम उनका लागि उठाउनै नसक्ने भार भयो। भाँडा मोल्दा धेरै भाँडा फुटाउने, भुइँ पुच्दा आधा मात्र पुछ्ने, जतिबेला पनि कामिरहने र कसैले गाली गरे भने रुन थालिहाल्ने कारणले उनलाई एक वर्षपछि त्यो घरबाट निकालियो। उनी घर र्फकन चाहन्नथिन्। फेरि नेपाली महिलाहरूको सहयोगमा उनी कामदार किनवेच गर्ने ठाउँमा लाइन लागिन्। दुई दिनसम्म धेरैले उनलाई हेरे। कसैले पनि राम्रो मूल्य हाल्न मानेनन्। अन्त्यमा एउटी धनाढ्य महिलाले उनलाई १ सय ५० कुवेती मुद्रामा किनिन्। 'ती महिला निकै दयालु थिइन्। उनले मलाई नियमित ९० कुवेती मुद्रा तलब दिने निर्णय गरिन्।' दीपाले आफ्नो खुसीको दिन सुरु भएको बताउँदै भनिन्, 'उनको घरमा ६ वर्ष कसरी वित्यो, थाहै पाइन।'
साप्ताहिकले उनलाई कुवेतबाट र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भेटेको थियो। 'म महिनाको ७५ कुवेती मुद्रा घर पठाउँथे। यो ६ वर्षमा मेरो भत्किएको घर बन्यो। बैनीहरू राम्रोसँग स्कुल जान थाले। केही जग्गा पनि जोडे।' आफ्नी साहुनीले किनिदिएको ब्याग काँधमा भिर्दै दीपाले भनिन्, 'अब छ महिना नेपाल बस्छु र कुवेत नै र्फकन्छु। बैनीहरूको विवाह र घरको व्यवस्था नगरी केही हुन्छ जस्तो लाग्दैन।'
हिजोआज महिलालाई पनि वैदेशिक रोजगारीमा जान सरकारले खुला गरेकोमा दीपा खुसी थिइन्। नेपालमा आफूजस्ता धेरै दु:खी महिला भएकाले विदेश जानु सबैको बाध्यता हो भन्ने उनको ठहर छ। 'विदेशमा केही महिलालाई समस्या पर्न सक्छ तर सबै महिला समस्यामै छ भन्ने होइन।' दीपाले भनिन्, 'कुवेतका घरमा काम गर्नुपर्छ। केही महिलाले दु:ख पनि भोगेका छन्, तर नेपालको दु:ख भन्दा मलाई त कुवेतकै दु:ख ठीक लाग्यो।'