साप्ताहिक संवाददाता
रातामकैको सक्रियता
हास्य श्रृंखला जिरे खुर्सानीमार्फत रातामकैको उपनामले लोकप्रिय हास्य कलाकार किरण केसीले समाजसेवालाई निरन्तरता दिइरहेका छन्। अघिल्लो वर्ष आफ्नै क्षेत्र (इमाडोल, ललितपुर) मा प्रहरी चौकी निर्माण गर्न सहयोग गरेका केसीले यसपटक सातदोबाटो, ललितपुरमा सुविधा सम्पन्न प्रहरी भवन बनाउने कार्यको नेतृत्व गरेका छन्। जनताका तर्फबाट निर्माण भएको उक्त भवनका लागि कलाकार केसीको नेतृत्वमा अभियान नै चलाइएको थियो। महानगरीय प्रहरी वृत्त सातदोबाटोका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च गरेर उक्त भवन निर्माण गरिएको हो। नवनिर्मित भवनको उद्घाटन मुख्यसचिव लीलामणि पौड्याल, मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसहितको समूहले गत आइतबार गरेको थियो।
बिजुलीलाई मातृशोक
हास्य श्रृंखला 'तीतो सत्य' मा बिजुलीको नामले चर्चित कलाकार मञ्जु श्रेष्ठलाई मातृशोक परेको छ। मञ्जुकी आमा ७१ वर्षीया सरस्वती तुलाधरको अघिल्लो बिहीबार पाटन अस्पतालमा निधन भएको थियो। तुलाधर लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्।