साप्ताहिक संवाददाता
आमाले पुलिस बोलाइन्
आमाले आफ्ना सन्तान राम्रो बाटोमा लागून् भनेर सधैं उनीहरूको हित चिताइरहेकी हुन्छिन्, तर ठूलो हुँदै गएको छोराले भनेको नमानेपछि दक्षिण क्योरोलिनकी एक आमाले प्रहरीलाई नै घरमा बोलाइन्। स्थानीय प्रहरी अधिकारीका अनुसार ती आमा घरमा आउँदा उनले आफ्नो १५ वर्षीय छोरालाई आफ्नो सुत्ने कोठामा फेला पारिन्। दुई वर्षीया छोरी लिएर घर आएलगत्तै छोरीले टेलिभिजन अन गर्दा स्क्रिनमा अश्लील दृश्य आयो। उक्त कुरा असह्य भएपछि उनले प्रहरीलाई बोलाइन्। ती आमाको आग्रहअनुसार प्रहरी घरमा आएर छानबिन गर्दा ती छोरालाई कानुनी रूपमा दोषी ठहर गर्न नमिल्ने प्रहरीले बताए, तर आमाले आफ्नो छोराको बानीबेहोरामा परिवर्तन नआएका कारण उनलाई सुधारगृहमा लान अनुरोध गरिन्।
कति क्यालोरी सकियो
वैज्ञानिकहरूले यौन क्रियाकलापमा संलग्न हुँदा शरीरको क्यालोरी नष्ट हुने कुरा प्रमाणित गरिसकेका छन्, तर एक पटकको सम्बन्धमा कति क्यालोरी खपत हुन्छ भन्ने यकिन तथ्यांक भने दिन सकेका छैनन्। यौन क्रियाकलापमा संलग्न हुने समयअनुसार उक्त कुरा निर्धारण हुने हुँदा पनि वैज्ञानिकहरूले स्पष्ट रूपमा भन्दा पनि समष्टिगत रूपमा त्यसको तथ्यांक दिने गरेका छन्।
यो द्विविधा हटाउन बेलायतको एक यौन खेलौना निर्माता कम्पनीले 'सेक्स फिट' नामक उपकरणको विकास गरेका छन्। औंठीको आकारमा आउने यो उपकरणलाई लिंगको तल्लो भागमा जडान गरेपछि त्यसले यौनसम्बन्ध राख्दा प्रयोगकर्ताले कति क्यालोरी खर्च गर्यो भन्ने तथ्यांक राख्छ। उक्त तथ्यांकलाई ब्लुटुथमार्फत आफ्नो स्मार्ट फोनको एप्समा पठाइन्छ। यो उपकरण क्यालोरी खर्च गर्नुपर्ने व्यक्तिहरूलाई निकै उपयोगी हुने विश्वास लिइएको छ।
पहिलो समलिंगी विवाह
रूसमा समलिंगी विवाहलाई गैरकानुनी मानिन्छ, तर रूसका एक जोडीले कानुनी रूपमै समलिंगी विवाह सम्पन्न गरेका छन्। २१ वर्षीया एलिसन ब्रुक्स तथा २३ वर्षीय एलिना डेभिसबीच हालै मस्कोको विवाह दर्ता कार्यालयमा विवाह सम्पन्न भएको हो। विवाह कसरी सम्पन्न भयो भने एलिना डेभिस जन्मजात पुरुष थिए। जन्मदर्तामा उनको नाम दिमित्री कोजुहोभ थियो। पछि उनी आफ्नो लिंग परिवर्तन गरेर महिला बनेकी थिइन्। कानुनी रूपमा पुरुष भए पनि शारीरिक रूपमा उनी महिला हुन्, जसका कारण उनीहरूको विवाह हुन सक्यो। विवाह समारोहमा दुवै जना दुलहीको पोसाकमा सजिएका थिए। सरकारी अधिकारीहरूले दुवै जना दुलहीको पोसाकमा सजिएर विवाह गर्न नमिल्ने बताएपछि उनीहरू कार्यालयको पछाडिको ढोकाबाट प्रवेश गरेका थिए।