गोठाटारमा भदौ १० गतेदेखि १४ गतेसम्म सम्पन्न गोठाटार-मनहरा महोत्सवमा गायक, गायिका तथा हास्यकलाकारहरूको आगमनका कारण दर्शक श्रोताहरूको घुइँचो निकै देखियो। पाँचदिने उक्त महोत्सवमा सुगम पोखरेल, यशकुमार, मिग्मा शेर्पा, प्रकाश ओझा, धीरज राई, मल्लिका कार्की, तुलसी पराजुली, भोजराज काफ्ले, कुलेन्द्र विक, शशि रावल, मञ्जु गौतम, उमा श्रेष्ठ, आगन्तुक खरेल, दमन रूपाखेती, सु्रेन्द्र केसी 'मुला साग', शिवशंकर रिजाल 'जोगिन्दर पानवाला' आदि कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिए। गायक तुलसी पराजुलीले मोफसलमा हुने महोत्सवहरूमा दर्शकको ओइरो देखेको अनुभव सुनाउँदै भने- 'उपत्यकाभित्र पनि दर्शकहरू महोत्सवमा आउनु मेरा लागि अचम्मको कुरा हो।' गायक तथा हास्यअभिनेता प्रकाश ओझा काठमाडौंमा दर्शक आउलान् र ? भन्ने अनुमानविपरित दर्शकहरू ओइरिएकोमा आफू छक्क परेको बताए।आयोजक आशापुरी मनहरा युवा क्लब तथा माइनस मिडियाका रञ्जित कोइरालाका अनुसार दैनिक १० हजारभन्दा बढी सर्वसाधारणले महोत्सव अवलोकन गरेका थिए। गोठाटारलाई सरकारले नगरपालिकामा गाभ्ने भएपछि त्यहाँको पुरातात्त्विक अवस्थाको जानकारी दिन महोत्सवको आयोजना गरिएको बताइन्छ।