मृत्यु संस्कारलाई छोट्याउनुपर्ने आवस्यकता छ ?
विगतमा हिन्दू समाजले मृत्यु संस्कार छोट्याउँदै आएको विभिन्न ग्रन्थमा उल्लेख छ। पहिले १२ वर्षसम्म मृत्युसंस्कार हुन्थ्यो, त्यसलाई १३ दिनमा छोट्याइएको हो। मानिस बढी व्यस्त हुन थालेपछि आमा-बुवालाई श्रद्धापूर्वक बिदा गर्ने र त्यसमा शोक मनाउने चलनअनुरूप १३ दिन आशौच बार्नुपर्ने नियम बनाइयो। समयका हिसाबले आजको समयमा त्यो पनि बढी भयो भन्ने टिप्प्णी हुन थालेको छ। म आफैंले पनि गम्भीर रूपमा विभिन्न स्थानमा आशौच बार्नेहरूसँग कुरा गर्दा १३ दिन बढी भएको गुनासो सुने। कतिपय नेता तथा समाजका अगुवाहरूले काजकिरिया नै गर्न छाडे। विश्वेश्वरप्रसाद कोइरालादेखि प्रचण्डसम्मका नेताहरूले पनि यो संस्कारलाई अस्वीकार गर्नुभयो। यो प्रवृत्ति बढ्दै जाँदा यो संस्कार नै हराउने त होइन ? यसमा चिन्तन गर्दै जाँदा हाम्रो मृत्यु संस्कारलाई छोट्याउनुपर्छ भन्ने आवश्यकता महसुस भएको हो।
मृत्यु संस्कार हिन्दू धर्मको महत्वपूर्ण संस्कार हो। बिना आधार यसलाई छोट्याउन मिल्छ ?
सबैभन्दा पहिले हामीले मृत्यु संस्कार कहाँबाट लियौं, कसरी पद्धति बस्यो त्यसको सोधखोज गर्नुपर्छ। म पाँच वर्षदेखि यसको सोधखोजमा लागिरहेको छु। मैले पाएअनुसार हाम्रो मृत्युसंस्कार निर्णय सिन्धु, धर्म सिन्धु तथा मनु स्मृतिमा आधारित छ। मनु स्मृति सत्ययुगमा लागू भएको मानिसको एउटा संविधान हो। त्यो बेला मानिसलाई बाँध्न एउटा नियम चाहिएको थियो, फलस्वरूप उक्त संविधान बन्यो। त्यो संविधानमा प्रस्टसँग लेखिएको छ, 'कलियुगमा मृत्यु संस्कार पराशर स्मृति अनुसार गर्नू।' मैले पराशर स्मृति खोजें, त्यहाँ धेरै कुरा लेखिएका छन्, तीमध्ये मृत्युसंस्कार ब्राह्मणले ३ दिनमा सक्न मिल्ने कुरा उल्लेख गरिएको छ। आजको समयमा सबै ब्राह्मण नै हुन्। त्यसैले मृत्युसंस्कारलाई ३ दिनमा छोट्याउन सकिन्छ। निर्णय सिन्धु र धर्म सिन्धुहरूमा पनि मृत्यु संस्कार ३ देखि ५ दिनमा छोट्याउन सकिने कुरा उल्लेख छ।
अहिले १३ दिनमध्ये १० दिन एक-एकवटा पिण्ड दान गर्ने चलन छ। उक्त पिण्डले मृतकको शरीर प्रेत बन्ने कुरा उल्लेख छ। त्यही प्रेतलाई तार्न थप तीन दिन अन्य कर्म गर्नुपर्छ। ३ दिनमा कर्म छोट्याएपछि ती सबै संस्कारको के अर्थ भयो र ?
हामीले दिन मात्र छोट्याउने अभियान चलाएका हौं। पिण्ड दान र अन्य कर्म छोट्याउने भनेका छैनौं। हामीले दिने १० वटा पिण्ड दिनैपर्छ। त्यसका लागि पहिलो दिन ३ वटा, दोस्रो दिन ३ वटा र तेस्रो दिन ४ वटा पिण्ड दान दिन सकिन्छ। कर्ममा पनि हेरफेर गरिएको छैन। आजको व्यस्त समयमा धेरैले आमा-बुवाको काजकिरियालाई बोझ नसम्झिउन् भनेर यो उपाय निकालिएको हो।
आखिर पिण्ड दान गरेर मानिस स्वर्गलोक जान्छ भन्नु पनि अन्धविश्वास नै हो, यसलाई पनि हटाए भैगोनी, किन राख्नुपर्यो ?
हिजो तुलसीको बोट रोप्नु, पीपलमा पानी चढाउनु पनि अन्धविश्वास नै मानिन्थ्यो। आज वैज्ञानिकहरूका लागि सबैभन्दा मूल्यवान् वनस्पति नै तुलसी र पीपल भएका छन्। हिजो गाईको गहँुतले घर पवित्र बनाउनु धार्मिक कार्य थियो, आज त्यसलाई विषादी मेटाउने अचुक औषधि मानिन्छ। हाम्रा पुर्खाहरूले सुरु गरेको कुनै पनि कामको गहिरो अर्थ छ। त्यसैले पिण्डदान अन्धविश्वास होइन, विज्ञानले त्यसको गूढ रहस्य पत्ता लगाउन नसकेको मात्र हो। यसको अर्थ पक्कै छ, त्यसैले चलिरहेको चलन हटाउनु हुँदैन। हाम्रा परम्परा ५ सय वर्ष मात्र जोगाउन सक्यौं भने हिन्दू धर्मका सबै गूढ रहस्य पत्ता लागिसक्छन्। अहिले हटायौं भने त्यो लोप भएर जान्छ र हिन्दुहरू अन्धविश्वासी थिए भन्ने तथ्य स्थापित हुनसक्छ, त्यसो गर्नु हुँदैन।
कतिपय पण्डित-पुरोहितले तपाईंहरूले भैरहेको चलन छोट्याउन खोजेर हिन्दु धर्म नष्ट गर्नेतिर लाग्नुभयो भन्ने आरोप लगाइरहनु भएको छ, विरोध हुन थालेको छ, के भन्नुहुन्छ ?
मैले अघि नै भने, धेरै मानिस हिन्दु धर्मभित्रको गूढ रहस्य बुझ्न नसकेर पलायन हुन थाल्नुभएको छ। हिजो योग र ध्यानले के गर्छ भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको थ्ािएन। यो अन्धविश्वास हो भनेर छाडेको भए हामीले योग ध्यान नै गुमाउने थियौं। मृत्यु संस्कारभित्र पनि पक्कै ठूला रहस्य छन्। झन्झटिलो हुन दिएर त्यसमा वितृष्णा बढाउने कि आफ्नो संस्कार जोगाउने ? म पाँच वर्षदेखि किरियापुत्री बसेको स्थानमा चुपचाप पुग्छु, त्यहाँ घण्टौं बस्छु र किरियापुत्री लगायत भेटघाट गर्न आएका मानिससँग यस विषयमा चासो राख्छु। धेरैले यसलाई बोझ मान्न थाल्नुभएको छ।
र इज्जतका कारण मात्र १३ दिन किरिया बस्छन्। मानिसले आफ्ना बा-आमाका लागि आशौच बारेको हो कि अरूका लागि ? जब अरूका लागि काम गरिन्छ, त्यहाँ श्रद्धा कहाँ बाँकी रहन्छ र ? त्यसलाई छोट्याउनेबित्तिकै मानिस साँच्चै श्रद्धापूर्वक शोक मान्छन् र काजकिरिया गर्छन्।
त्यसो भए किन विरोध भैरहेको छ ?
जसले विरोध गर्नुभएको छ, उहाँहरू संस्कार विग्रिएर जाला कि, मानिसहरू आफ्नो कर्मसंस्कारबाट विमूख होलान् कि भनेर डराउनुभएको छ। उहाँहरूले हाम्रो असल नियत बुझ्न नसक्नु भएको हो। उहाँहरू चिन्तित हुनु जायज पनि छ किनभने हामीले लहैलहैमा लागेर धेरै राम्रा कुरा गुमायौं। यसलाई अरूको शोषण गर्ने माध्यम बनायौं। त्यसको असर अहिले देखिन थालेको छ। जुन दिन उहाँहरूले यो संस्कार विगार्ने होइन, जोगाउने अभियान हो भन्ने बुझ्नु हुन्छ, त्यहि दिन समस्या समाधान हुन्छ।
युगौदेखि चल्दै आएको संस्कार परिवर्तन गर भन्दा मानिसहरूले मान्छन्, यसले मानिसको आस्थामा ठेस लाग्दैन ?
कुनै पनि नयाँ कुरा सुन्दा मानिस झस्कनु स्वभाविक हो। निदाइरहेको मानिसलाई अचानक उठाउँदा ऊ रिसाउँछ। जसलाई यो नै अन्तिम सत्य हो भन्ने लाग्छ, त्यस्ता मान्छे झस्किनु स्वभाविक हो। जब गम्भीर विचार विमर्श हुन थाल्छ, मानिसहरू हाम्रो कुरामा सहमत हुन थाल्छन्। कुनै पनि आमा-बुवा आफ्नो काजकिरिया श्रद्धापूर्वक होस्, सन्तानलाई कुनै बोझ नहोस् भन्ने चाहन्छन्। यो अभियानमा ९० वर्ष हाराहारीका ज्येष्ठ नागरिकले आफ्नो काज-किरिया ३ दिनमै सकियोस् भनेर हाम्रो पुस्तकमा नाम लेखाइरहनुभएको छ। हिजो हाम्रो अभियानको विरोध गर्नेहरू नै आज ३ दिनमा आफ्नो काजकिरिया सक्न सन्तानलाई अनुरोध गरिरहनु भएको छ।
तपाईं पूर्वसरकारी कर्मचारी, शास्त्रको धेरै ज्ञान नभएको मानिस, यो अपजसी काममा किन हात हाल्नुभएको ?
जागिरमै छँदा मैले विराटनगरको सिंघाइ खोलास्थित परोपकार घाट व्यवस्थापन समितिमा काम गर्ने अवसर प्राप्त गरे। एक कार्यकाल पुरा गर्दा गर्दै मैले के महसुस गरें भने मानिसहरूले श्रद्धाले भन्दा पनि चलेको सामाजिक रीत भनेर १३ दिन आशौच बारिरहेका छन्। उनीहरूले समय नष्ट भयो, कामकुरा अन्धविश्वासी भयो भनेको पनि सुने। यसलाई श्रद्धाको विषयभन्दा पनि बोझको विषय बनाइएको पाएँ। त्यसले मलाई भित्रैदेखि छोयो। म शास्त्र पढेको मानिस त होइन, तैपनि शास्त्रले किन यस्तो विधान बनायो भनेर खोजी गर्न थाले। कुरा त निकै राम्रा छन्, हामीले बुझाउन नसकेको मात्र हो। त्यसपछि ठूला-ठूला विद्वानहरूसँग भेट्न थालें। जब जागीर छाडे, फुर्सदमा पुस्तक पढ्न थाले। हाम्रा धर्मशास्त्रहरूका कतिपय कुरा हामी छोट्याउन सक्छौं, मिलाउन सक्छौं भन्ने लाग्यो। त्यसमा पनि मृत्युसंस्कार छोट्याउन सकिन्छ जस्तो लाग्यो। गर्दै जाँदा पुस्तक लेख्न थाल्ो। अहिले साथीभाइले नै मलाई यो अभियानको अध्यक्ष बनाइदिनुभयो।
तपाईंको पुस्तकको पाण्डुलिपि हेर्दा के लाग्छ भने तपाईंले संस्कारलाई कसरी घटाउने भन्ने कुरामा मात्र ध्यान दिनुभएको छ। घटाउन नहुने तर्कप्रति आँखा चिम्लिरहनुभएको छ ?
तपाईंले सत्य भन्नुभयो। मैले के गर्दा मृत्यु संस्कार घटाउन सकिन्छ भनेर मात्र खोजी गरेको छु। जस्तो जुन ठाउँमा छोरीले तीन दिन मात्र जुठो बार्नु भनेर लेखिएको छ, त्यहाँ छोराले पनि तीन दिन जुठो बार्न मिल्छ। कारण आजको युगमा छोरा र छोरी बराबर हुन् भनेर तर्क गरेको छु। त्यस्तै कतिपय स्थानमा शूद्रले ३ दिन मात्र जुठो बार्नु भन्ने स्थानमा सबैले ३ दिन बार्नु भनेर लेखेको छु। कारण आजको युगमा न कोही ब्राह्मण छन् न कोही शूद्र, सबै मानिस बराबर छन्।
तपाईंको अभियानको कस्ता मानिसले विरोध गरिरहनु भएको छ, कसले सहयोग गरिरहनुभएको छ ?
वेदविज्ञ, विद्वान्, अनुसन्धानकर्ता एवं पढेलेखेका मानिसले समयअनुसार तपाईंको काम सही हो भनिरहनुभएको छ। पण्डित, पुरोहित र कतिपय धार्मिक नेताहरूले चाहिँ हाम्रो धर्म नै नष्ट हुने हो कि भनेर विरोध गर्नुभएको छ। विरोध र समर्थन गर्नेहरू बराबर जस्तो हुनुहुन्छ। यो लामो अभियान हो। यहाँ कसैलाई पनि ३ दिन नै जुठो बार्नुपर्छ भनेर जबरजस्ती गरिएको छैन। जसलाई १३ दिन बस्न मन लाग्छ, बस्नुहुन्छ, जसले छोट्याउन चाहनुहुन्छ, छोट्याउन सक्नुहुन्छ। यत्ति हो, काजकिरिया अवैज्ञानिक हो, अन्धविश्वास हो भन्ने मान्छेलाई तर्कसहित ३ दिन काजकिरियामा बसाउने र हाम्रो धर्म एवं संस्कारका बारेमा बुझाउन सकिन्छ कि भन्ने प्रयास हो।
धर्म र संस्कार निकै संवेदनशील विषय हो, तपाईंले यस्तो कुरामा हात हाल्न खतरा मोल्नुपर्छ भन्ने डर लागेन ?
उद्देश्य बिगार्ने हो कि व्यवस्थित गर्ने ? कुनै पनि कामले के परिणाम दिन्छ, त्यसले त्यसको भविष्य निर्धारण गर्छ। हाम्रा संस्कार गलत बाटोमा जाला कि भनेर सचेत हुँदै यो काम गरेकेा हुनाले मलाई गौरव लागिरहेको छ। गलत कार्य नगरेपछि किन डराउनु ?
तपाईंमाथि अन्य धर्म सम्प्रदायको पैसा खाएर यस्तो काम गरेको आरोप लाग्न थालेको छ, के भन्नुहुन्छ ?
मलाई पूर्वसचिव, लेखक, अधिवक्ता, समाजका अगुवा तथा समाजसेवीहरूको साथ छ। राजनैतिक नेताहरूले पनि साथ दिन खोज्नुभएको थियो तर म यो कुरामा राजनीति नहोस् भनेर आफैं पछि हटें। जुन बेला हाम्रो अभियान परिपक्व हुन्छ, त्यो बेला राजनैतिक नेताहरूबाट यसको अनुमोदन गराउने योजना छ। रह्यो, अन्य धर्म र सम्प्रदायको पैसा खाएको कुरा, त्यसमा यति मात्र भन्न सक्छु, मेरो अभियानले अन्ततोगत्वा हिन्दू धर्मको सेवा हुन्छ भने त्यसमा अरूले किन सहयोग गर्छन् ? मेरो पुस्तक प्रकाशन भएपछि यस्ता सबै भ्रम हट्छन् भन्ने विश्वासमा छु।