'मेरी आम्मै नि ...कहाँबाट हुनु ?' यो थेगो अहिले हिट भैसकेको छ। नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुने हास्यश्रृंखला 'भद्रगोल' का मुख्य पात्र पाँडे अर्थात अर्जुन घिमिरेले संवाद बोल्ने क्रममा यो थेगो प्रयोग गर्छन्। त्यसो त उनले नै प्रयोग गर्ने 'डाम्ना' शब्दावली पनि उत्तिकै चर्चित भैसकेको छ। २८ वर्षीय यी युवा पाँडेका रूपमा ६० नाघेका वृद्धको भूमिकामा अभिनय गरिरहेका छन्। एक दशकदेखि अभिनय क्षेत्रमा सक्रिय ओखरपौवा, नुवाकोटमा जन्मिएका अर्जुनले अभिनयको पहिलो स्वाद सन्तोष पन्तको लोकप्रिय हास्यश्रृंखला 'हिजोआजका कुरा' बाट लिएका थिए। 'श्रीकृष्ण श्रेष्ठको चलचित्र आफन्तको सुटिङ ओखरपौवामै हेरेपछि जागेको अभिनयको भूतका कारण म घरबाट भागेर काठमाडौं आएँ,' अर्जुन सम्झन्छन्- 'नियमित धाएपछि हिजोआजका कुरामा एउटा सानो भूमिका पाएँ।' टेलिभिजनमा एकपटक देखिएपछि भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य नै परिवर्तन भयो। लगातार टेलिभिजनमा देखिन मन लाग्न थाल्यो। यसबीच उनले ५२ घुस्सा ५३ ठक्कर, लगन जुर्लाजस्तो छ, सिस्नुपानी, सिस्नुपानी झ्याम्मै आदि टेलिश्रृंखलामा अभिनय गरे। घिमिरेले एक चलचित्रमा पनि कमेडी क्यारेक्टरमा काम गरे, दुर्भाग्य हालसम्म उक्त चलचित्र प्रदर्शनमा आएको छैन। स्नातक तहसम्मको अध्ययनलाई निरन्तरता दिएका अर्जुनले एक दर्जन म्युजिक भिडियो निर्देशन एवं लगभग त्यति नै भिडियोमा अभिनय पनि गरेका छन्। विज्ञापन निर्देशनमा समेत हात हालेका घिमिरे कुखुराको दानासम्बन्धी एक विज्ञापनका लिड क्यारेक्टरका रूपमा पनि देखा परे। हाल भद्रगोलमा कुमार कट्टेल जिक्री हजुरका साथमा लेखन तथा सहनिर्देशनको जिम्मेवारी निर्वाह गरिरहेका घिमिरेसँग विदुर खतिवडाको तीन प्रश्न ःपाँडेको चरित्र कत्तिको जमेको छ ?
चरित्र स्थापित भएको छ, जहाँ पुगे पनि मैले पाँडेको चरित्रको प्रशंसा र चर्चा पाएको छु। महोत्सव एवं अन्य कार्यक्रममा पनि पाँडेको भूमिकाको माग बढेको छ। उक्त चरित्र जमेको भएर नै हुनसक्छ, देश-विदेशका कार्यक्रममा माग बढेको छ।
पाँडेलाई माग्ने बूढाको कपीजस्तो देखियो भनिन्छ नि, होइन ?
धेरैले भन्छन्, तर माग्ने बूढा र पाँडेको भूमिकामा धेरै अन्तर छ। माग्नेबूढाको स्वभाव, बोल्ने शैली तथा पाँडेले बोल्ने शैली र स्वभावमा धेरै फरक छ। मैले समाजको पूर्ण नकारात्मक चरित्रमा अभिनय गरेको छु। माग्ने बूढा त्यस्ता छैनन्। माग्नेबूढा र पाँडेको समानता भनेको बूढाको भुमिका मात्रै हो। माग्नेबूढा युवा बूढा र पाँडे पूरै केश फुलेको बूढाको गेटअपमा देखिन्छन्।
भद्रगोलले यत्तिको सफलता पाउला भन्ने थियो ?
पक्कै थिएन, सुरुवातमा हामीले 'सिस्नुपानी झ्याम्मै' नामबाट नेपाल टेलिभिजनमै हास्यश्रृंखला तयार गर्यौं, त्यो १८ औं भागसम्म चल्यो। छैंटौ भागमा म र कुमार कट्टेलले साथमा काम गर्ने निर्णय लियौं। तत्पश्चात् नयाँ चरित्र 'पाँडे' जन्मियो। विविध कारणले उक्त हास्यश्रृंखला बन्द भएपछि हामी नयाँ हास्यश्रृंखलाको तयारीमा जुट्यौं। हास्यश्रृंखला भद्रगोलमा पनि मैले सोही चरित्रलाई निरन्तरता दिएँ। भद्रगोल प्रसारणमा आएको तेस्रो भागमै यो चरित्र स्थापित भयो। स्थापित सिरियलहरूका अगाडि यसलाई सफल बनाउने ठूलो चुनौती थियो, सोचेभन्दा राम्रो भएको छ। हामी पृथक् स्वाद पस्किन सफल भएका छौं। आगामी दिनमा पनि दर्शकको यो माया निरन्तर रहने गरी कार्यक्रम उत्पादन गर्दै जानेछौं।