साप्ताहिक संवाददाता
यसपटकको इमेज एवार्डमा विभिन्न २३ विधा पुरस्कार वितरण गरिँदैछ। २२ विधामा निर्णायकबाट प्राप्त मत टेक्निकल भोट तथा एसएमएसमार्फत प्राप्त पपुलर भोटका आधारमा विजेता घोषणा गरिनेछ। इमेज पब्लिक च्वाइस एवार्डका लागि भने एसएमएसलाई मात्र आधार बनाइएको छ। नेपाली संगीतको उत्थानमा निरन्तर रुपमा योगदान पुर्याउँदै आएका सर्जकहरूमध्ये यो वर्ष गायक हरिप्रसाद रिमाललाई इमेज लाइफटाइम एचिभमेन्ट एवार्डबाट सम्मानित गरिँदैछ।
यसपटकको एवार्डका लागि मनोनयनमा पर्ने संगीतकर्मीहरूलाई विशेष समूह, सामान्य समूह, लोक समूह तथा म्युजिक भिडियो समूह गरी चार समूहमा विभाजन गरिएको छ। विशेष समूहमा सर्वोत्कृष्ट गायन पुरुष, सर्वोत्कृष्ट गायन महिला, सर्वोत्कृष्ट गायन पप पुरुष, सर्वोत्कृष्ट गायन पप महिला, सर्वोत्कृष्ट नव कलाकार, सर्वोत्कृष्ट समूह गायन, सर्वोत्कृष्ट चलचित्र गीत, सर्वोत्कृष्ट राष्ट्रिय भावनाले अभिप्रेरित गीत, सर्वोत्कृष्ट संगीत संयोजन तथा सर्वोत्कृष्ट गीत मुद्रण जस्ता विधा छन्। सर्वोत्कृष्ट गायन पुरुषमा अजर जंगम, प्रमोद खरेल, रामकृष्ण ढकाल, सत्यराज आचार्य तथा सुमनकुमार श्रेष्ठ मनोनीत छन् भने सर्वोत्कृष्ट गायन महिलातर्फ अञ्जु पन्त, दुर्गा खरेल, इन्दिरा जोशी, निशा देसार तथा रिमा गुरुङ होडा मनोनीत छन्। सर्वोत्कृष्ट गायन पप पुरुष विधामा बविन प्रधान, विश्व नेपाली, धर्मेन्द्र सेवान, कमल खत्री तथा सुगम पोखरेल मनोनीत छन् भने सर्वोत्कृष्ट पप गायन महिलाको विधामा बुनु राई मानन्धर, सिने गुरुङ, सहिमा श्रेष्ठ, सरीता प्रजापति र सुमी चाम्लिङ राई मनोनीत छन्। सर्वोत्कृष्ट चलचित्र गीतको विधामा मर्ने कसैलाई (नाइ नभन्नु ल-२, स्वरुपराज आचार्य/सुरेश गैरे), स्लोली स्लोली (काली, प्रहलाद तिमिल्सिना, मिलन अमात्य र वसन्त सापकोटा), सुन्छु तिमीले (बिन्दास-२, शिव परियार र अर्जुन पोखरेल), तिमी मेरै लागि (मौन, सुगम पोखरेल) तथा तिमी नै (झोले, राजेशपायल राई, रजिना रिमाल र हरि लम्साल) मनोनीत छन्।
सामान्य समूहको सर्वोत्कृष्ट एल्बमको विधामा बाँचुञ्जेल (रामकृष्ण ढकाल), दर्शन नमस्ते-२ (राजेशपायल राई), जिन्दगीले हिसाव माग्छ (दीपक जंगम), सुभव (सत्यराज आचार्य र सुनील मास्के) तथा सुगम सङ्गीत (सुगम पोखरेल) मनोनीत छन्। सर्वोत्कृष्ट गीतको विधामा छैन तिमी बाहेक (राजेशपायल राई), जिन्दगीले हिसाब माग्छ (अजर जंगम), कुन हुरीले (रामकृष्ण ढकाल), मेरो जीवन (सुगम पोखरेल) तथा साँझ पर्यो (सत्यराज आचार्य) मनोनीत छन्। सवोत्कृष्ट गीत रचनातर्फ आनन्द अधिकारी (हेर्न बाँकी), भावेस भुमरी (धनका लागि), भुपेन्द्र खड्का (कुन हुरीले), दिनेश अधिकारी (नखुलेको) र राजुबाबु श्रेष्ठ (तिम्रो माया) मनोनीत छन्। सर्वोत्कृष्ट संगीतको विधामा भूगोल दाहाल (तिमी बिना), दिपक जंगम -जिन्दगीले हिसाब), कालीप्रसाद बाँस्कोटा (कुन हुरीले), कल्याण सिंह (छैन तिमीबाहेक) तथा सुनिल मास्के (साँझ पर्यो) बीच प्रतिस्पर्धा हुँदैछ।
सर्वोत्कृष्ट लोकगीत गायनतर्फ देवी घर्ती, कमलीकान्त भेटवाल, थानेश्वर गौतम र माण्डवी त्रिपाठी, टीका पुन र तुलसी पराजुलीबीच प्रतिस्पर्धा हुँदैछ भने लोकदोहोरी गायनतर्फ पशुपति शर्मा र सीता केसी, मिलन लामा र कल्पना श्रीपाल, राजनराज शिवाकोटी र अञ्जु पन्त, विरही कार्की र सरीता कार्की तथा रामजी खाँड र सम्झना लामिछाने मनोनीत छन्। सर्वोत्कृष्ट दोहोरी गीतको विधामा चिन्ता छैन केही (पशुपति शर्मा र सीता केसी), धुवाँ सरी (रामजी खाँड र मञ्जु पौडेल), गल्कोटे साईंलो (मिलन लामा र कल्पना श्रीपाल), मायालु हजार (विरही कार्की र सरीता कार्की), फूल फुलेर (रामजी खाँड र सम्झना लामिछाने) बीच प्रतिस्पर्धा हुँदैछ।
म्युजिक भिडियो समूहतर्फ सर्वोत्कृष्ट म्युजिक भिडियोको विधामा बहुला (सुरज थापा), जाउँ कि नजाउँ (इन्दिरा जोशी), नाटक (मिलन अमात्य), सम्झनामा (बविन प्रधान) तथा श्राप (कोशिस क्षेत्री) बीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको विधामा आलोक नेम्बाङ, निकेश खड्का, प्रणव जोशी, प्रताप सिंह तथा प्रवीण श्रेष्ठबीच प्रतिस्पर्धा छ। पब्लिक च्वाइस एवार्डको विधामा भने पुष्पा गुरुङ, राज सागर, राजेशपायल राई, शिव परियार तथा सुरज थापा मनोनीत छन्।