लेखेर सेलिब्रेटी हुनु चानचुने कुरा होइन, केश नै फुलाउनुपर्छ। लेखेर बाँच्न सकिन्छ र ? भन्ने प्रश्न उठिरहेका बेला सुबिन भट्टराईले एउटा गतिलो जवाफ दिएका छन्, लेखेर बाँच्न मात्र होइन, सेलिब्रेटी नै हुन सकिन्छ। तीन वर्षअघि लेखन प्रारम्भ गरेका सुबिनले तीनवटा पुस्तक निकाले र सबै हिट बनाए। गत सोमबार उनको पछिल्लो उपन्यास 'साया' विमोचनअघि नै ५ हजार प्रति प्रि-अर्डर भैसकेको थियो। भट्टराईको तेस्रो पुस्तक 'साया' विमोचन हुँदा हजारभन्दा बढी युवा-युवतीको भीड प्रज्ञाभवनमा उपस्थित थियो। उनीहरू पुस्तकमा हस्ताक्षर गराउन सायाका लेखक सुबिनलाई खोजिरहेका थिए। भीडबाट जोगिन सुबिन कार्यक्रमअघि लुकेरै बसे। फेसबुकको निम्तो स्वीकार गरेर भेला भएको भीड नियन्त्रण गर्न कठिन भैरहेका बेला नायिका गरिमा पन्त तथा केकी अधिकारीले हात नै जोडेर धैर्यधारण गरिदिन अनुरोध गर्नुपरेको थियो। पुस्तक विमोचन गर्न बोलाइएका नायिका अधिकारी र पन्तका अघिल्तिर सुबिन भट्टराई हिपहिप हुर्रे नारा लाग्न थालेपछि केकीले भनिन्, 'यो बेला मलाई सुबिनकी साया (उपन्यासकी पात्र) हुन पाए कस्तो हुन्थ्यो भन्ने लागिरहेको छ।'