साप्ताहिक संवाददाता
-४३३४
व्यवस्थित परिवारको कुरा
व्यवस्थित परिवार बनाउन सकेको स्थितिमा तपाईंहरू दुवैको वृत्ति विकासलाई एउटा निप्कर्षसम्म पुर्याउन सकिन्छ, जसले भावी जीवनलाई सुखमय बनाउँछ। अर्कातिर विवाहको तुरुन्तै पछि एक-अर्कालाई अझै बुझ्न, एक-अर्काबीच सामञ्जस्यता ल्याउनका साथै पर्याप्त यौन आनन्द प्राप्त गर्न सकिन्छ। त्यस्तो व्यवस्थित परिवारका लागि गर्भनिरोधका साधनहरू धेरै नै सहयोगी हुन्छन्। नवविवाहितहरूलाई उपयुक्त केही गर्भ निरोधका साधनहरूका बारेमा छोटकरीमा चर्चा गरौं।
कन्डम :
यो पुरुषले यौनसम्पर्कका बेला लिङ्गमा लगाउने रबरको पातलो खोल हो। यसले वीर्यमा हुने शुक्रकीटलाई महिलाको प्रजनन अङ्गमा जान दिँदैन, जसले गर्दा शुक्रकीटको महिलाको डिम्बसँग मिलन हुन पाउँदैन र गर्भ रहन सक्दैन। यसले गर्भनिरोध गर्ने मात्र नभई एचआईभी तथा अन्य यौनरोग सर्नबाट पनि जोगाउँछ। अहिले महिलाको योनिमा लगाइने कन्डम पनि उपलब्ध छ, जसलाई महिला कन्डम भनिन्छ।
खाने चक्की (पिल्स) :
हार्मोनयुक्त यो चक्की महिलाहरूले नबिराई दिनहुँ खाए गर्भनिरोध हुन्छ। यो चक्की दिनहुँ खाए महिलाको डिम्बाशयवाट डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन। यो चक्की खान बन्द गरेपछि डिम्ब परिपक्व हुने र निष्कासन हुने प्रक्रिया पुन: प्रारम्भ हुन्छ र अर्को मासिक चक्रमै गर्भ रहने सम्भावना हुन्छ।
तीनमहिने सुई (डिपो) :
डिपोप्रोभेरा सुईद्वारा दिइने हार्मोनयुक्त गर्भनिरोधको साधन हो। यसमा medroxyprogesterone नामको औषधि हुन्छ। यसको एक सुईले तीन महिनासम्म काम गर्छ। यो सुईले महिलाको डिम्बाशयबाट डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन।
आईयूसीडी (कपर-टी):
यो पनि महिलाले नै प्रयोग गर्ने साधन हो। यसलाई पाठेघरमा राखिन्छ। यसले विशेष गरेर पाठेघरको भित्रि वातावरणलाई परिवर्तन गर्छ अनि डिम्ब र शुक्रकीटको मिलन हुन तथा डिम्बलाई पाठेघरमा बस्न असहज बनाएर गर्भ रहनबाट जोगाउँछ। एकपल्ट राखेपछि यसले १२ वर्षसम्म काम गर्छ। यसमा हार्मोन नहुने भएकाले महिलाको मासिक चक्रमा प्रभाव पर्दैन, त्यसैले निकाले पछि अर्को मासिक चक्रमै गर्भ रहन सक्छ।
इम्लान्ट :
हार्मोनयुक्त यो साधन पनि महिलाहरूले नै प्रयोग गर्ने गर्भनिरोधक साधन हो। सलाईको काँटीजस्ता तर केही लामा स-साना दुईवटा सिन्का महिलाको पाखुराको छालामुनि राखिन्छ। एकपल्ट राखेपछि यसले पाँच वर्षसम्म काम गर्छ। यसले डिम्ब उत्पन्न हुन दिँदैन भने शुक्रकीटलाई पाठेघरभित्र पस्न नदिई गर्भ रोक्छ। यसलाई निकालेपछि केही महिनामै महिनावारी र्फकन्छ र गर्भ रहन सक्छ।
प्राकृतिक तरिका जस्तै क्यालेन्डर विधिको उपयोग गर्न महिला (दम्पती) ले आफ्नो महिनावारीका दिनहरूमध्ये कुन दिनहरूमा सम्भोग गरे गर्भ रहन्छ र कुन दिनहरूमा सम्भोग गरे गर्भ रहँदैन भन्ने कुरा थाहा पाउनुपर्छ। त्यसका लागि गर्भ रहने दिनहरू कहिले सुरु हुन्छ र कहिले सकिन्छ थाहा पाउन सक्नुपर्छ। लिङ्ग-योनि मैथुन गरिरहेका जोडीले वीर्य स्खलन हुन लागेको थाहा पाएपछि पुरुषले आफ्नो लिङ्गलाई योनि बाहिर झिक्छन् र योनिक्षेत्रभन्दा बाहिर वीर्य स्खलन गराउँछन्। यस्तो बाह्य स्खलन विधि प्रयोग गर्न अभ्यस्त नहुँदा गर्भ रहने जोखिम बढी हुन्छ।
गर्भनिरोध प्रयोग गर्दा गर्भ रहने चिन्ता नभई पर्याप्त यौन आनन्द लिन पाइने भएकाले यसलाई एक किसिमले यौन प्रसाधन भने पनि हुन्छ। कन्डमको कुरा गर्दा यसले यौनसुखलाई कम गर्ने होइन, किनभने यसलाई पनि दुवै जना मिलेर लगाए रमाइलो हुन्छ। यौन क्रियाकलापमा रोमाञ्चकता थप्नुका साथै बढी यौन सुख दिने कन्डम पनि बजारमा उपलब्ध छन्। यसले शीघ्र स्खलनको समस्या कम गर्छ।
उपयुक्त गर्भनिरोधको साधनको छनौट
अन्य कतिपय औषधि वा उपायजस्तै गर्भनिरोधको छनोटको सन्दर्भमा पनि धेरैले स्वास्थ्यकर्मी वा चिकित्सकहरूसँग प्रश्न गरेको पाइन्छ। वास्तवमा गर्भ निरोधको छनौट प्रयोग गर्ने व्यक्तिले गर्नुपर्छ। यसका लागि परामर्श पनि दिइन्छ। यसरी परामर्श लिँदा सुसूचित रहनुका साथै उपयुक्त छनौट पनि गर्न पाइन्छ। यसो भन्नुको अर्थ सबै साधनका बारेमा जानकारी लिई आफूलाई उपयुक्त गर्भ निरोधको छान्न पाइन्छ भन्ने हो। स्वास्थ्यकर्मी वा चिकित्सकले तपाईंलाई तथ्य परक जानकारी उपलब्ध गराई छनौट गर्न सहयोग गर्छन्। छनौट गरेपछि सेवा उपलब्ध गराइन्छ। त्यसैले तपाईं माथि उल्लेखित उपयुक्त साधनमध्ये कुनै एक छनौट गर्न आफूलाई पायक पर्ने स्वास्थ्य केन्द्र वा सेवा केन्द्रमा जान सक्नुहुन्छ। यस्ता कुरा पहिले नै व्यवस्थित गरियो भने विवाहको अलमलमा व्यवस्था गर्न नसकिने स्थितिबाट पनि जोगिन सकिन्छ।