साप्ताहिक संवाददाता
अ.
हार्मोनहरूमा आएको परिवर्तन, जिम्मेवारीहरूको बोझ, पश्चात्तापको मनोविज्ञान, मानसिक अन्तरद्वन्द्व, जीवनशैलीजस्ता थुप्रै कारणले मानिसको यौन सन्तुष्टिलाई प्रभाव पारेको हुन्छ। यी प्राय: सबै पक्ष मनोविज्ञानसँग सम्बन्धित हुन्छन् र यिनको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ। दोस्रो विवाहमा सन्तुष्टि कम भेटिने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तरद्वन्द्वलाई एउटा प्रमुख कारण मानिन्छ। तपाईंले दोस्रो विवाह त गर्नुभयो तर ती श्रीमती र छोराछोरीसँग आफ्नो नि:स्वार्थ सम्बन्ध भएन कि भन्ने कुरा तपाईंको मनको कुनै कुनामा खट्किरहेको हुन सक्छ। तपाईंलाई आफ्नी श्रीमती र छोराछोरीप्रति वफादार नभएको तथा उनीहरूको मायालाई सम्मान नगरेको महसुस हुनसक्छ। कतिपय अवस्थामा दोस्रो विवाह गर्नु कतै गल्ती पो हो कि भन्ने आभास पनि हुनसक्छ। यस्ता कुराले मनोविज्ञानमा प्रतिकूल असर पारेर तपाईंलाई यौनसन्तुष्टि प्राप्त गर्न समस्या भएको हुन सक्छ। अनुसन्धानहरूले पनि दोस्रो विवाह पहिलेको भन्दा उत्साहित नहुनुको प्रमुख कारण छोराछोरी र पैसासम्बन्धी भएको देखाएका छन्। त्यसैले तपाईंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्नु आवश्यक हुन्छ।
दोस्रो विवाहमा प्राय:जसो पहिलेकी श्रीमतीसँगको अनुभव अहिलेकी श्रीमतीसँग तुलना गर्न पुगिन्छ। महत्त्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्ति फरक हुन्छन् र हरेक व्यक्तिसँगको यौनसम्बन्ध फरक किसिमले रमाइलो बनाउन सकिन्छ। अर्को कारण भनेको हार्मोनहरूमा आएको परिवर्तन हो। उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वाभाविक हो। महिनावारी रोकिनुअघि महिलाको योनिका तन्तुहरू पातलो हुने, सुख्खा हुने र चिल्लो पदार्थ निस्कन कम हुने हुनसक्छ, त्यसैले पहिले यौन आनन्द महसुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द प्राप्त नगर्न सक्छन्। त्यसैगरी पुरुषमा पनि हार्मोन परिवर्तन हुन्छ, टेस्टोसटेरोन हार्मोनले पुरुषको यौन इच्छामा प्रभाव पार्छ। पुरुष २० देखि ३० वर्षको हँुदा यौन इच्छा तीव्र हुन्छ र त्यसपछि कम हुँदै जान्छ। १ हजार ४ सय ८ जना २० देखि ६० वर्षका स्वस्थ पुरुषमा गरिएको एक फ्रेन्च अनुसन्धानअनुसार २५ प्रतिशत पुरुषमा ४० वर्ष उता टेस्टोसटेरोन हार्मोन कम हुँदै जान्छ र त्यसले यौन जीवनमा असर गर्छ। न्युयोर्क सिटीको मेडिसिन अफ माउनसिनाई स्कुलको मानव यौनिकता कार्यक्रमअन्तर्गत राहुल सी सिचाभिले ४५ देखि ७४ वर्षका ७७ जना स्वास्थ पुरुषमा गरेको अध्ययनले यौनइच्छा र क्रियाकलापमा टेस्टोसटेरोन हार्मोनको कमीले असर पारे पनि यौन आनन्दमा त्यसको कुनै असर नहुने देखाएको छ,।
यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ, तर मानिसहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो। यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बूढ्यौलीमा अनि दोस्रो विवाहमा पनि सम्भव छ। फरक यति हो कि मानिसहरूले हरेक निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? यौन सम्पर्क मात्र महत्त्वपूर्ण होइन। त्यससँग जोडिएका धेरै पक्ष छन। टचिङ, किसिङ, सेन्सिङ, मायामोहको भावना साटासाट आदि कुरा पनि यौन सम्पर्कका अभिन्न पक्ष हुन्। दोस्रो कुरा, उमेरलाई अघि जान दिइरहनुहोस् र यौनजीवनलाई आनन्दित बनाउने, लाइट मुडमा रहने, एक-अर्कालाई अझ बढी माया गर्ने, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राखिरहने, नयाँ-नयाँ सोच विचारहरू ल्याउने तथा छलफल गर्ने, यौनका कुरा गर्ने, रमाइलो कल्पना गर्ने, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन प्राप्त हुने ठाउँमा जाने, धेरै लज्जालु नबन्ने र इमान्दार बन्ने प्रयास गर्नु नै यौनजीवन फलदायी बनाउने उपयुक्त उपाय हुन्।
डा. टेसिनाका अनुसार यौनजीवनलाई प्राथमिकता दिनु महत्त्वपूर्ण पक्ष हो। दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन्। यौन नै यस्तो क्रियाकलाप हुन सक्छ जसले एक-अर्कालाई बुझ्न, भावनात्मक कुरा महसुस गर्न र सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ। उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द प्राप्त गर्न सकिन्छ। सकारात्मक सोचका साथ काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त राख्ने, चिन्ता नलिने तथा बुढयौली र नयाँ विवाहसँगै आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौनआनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन्।