साप्ताहिक संवाददाता
यद्यपि यसले भारोत्तोलनमा दीर्घकालीन चिनियाँ सहयोग प्राप्त हुने विश्वास भने जागेको छ। नेपाल भारोत्तोलन संघले चिनियाँ समकक्षीसँग प्रशिक्षणका लागि मदत माग्दा वास्तवमै यति 'हाइप्रोफाइल' प्रशिक्षण आउनेछन् भनेर कसैले विश्वास गरेका थिएनन्। चिनियाँ टोलीका मुखिया वे हुई हुन्। उनी चिनियाँ भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पनि हुन्। चीनमा उनको ठूलो सम्मान छ।
उनकै प्रशिक्षणमा सात खेलाडीले ओलम्पिकमा स्वर्ण जितेका थिए। अन्तर्राष्ट्रिय भारोत्तोलनमा चीन आफैंमा महाशक्ति हो। हुई भन्छन्, 'नेपाली युवा खेलाडीको भविष्य राम्रो देख्छु, तर यसका लागि कडा मेहनतको आवश्यकता पर्छ। उनीहरूको लगनबाट म प्रभावित छु। राम्रो योजना बनाएर अघि बढ्ने हो भने हामीले उनीहरूबाट राम्रो प्रदर्शनको अपेक्षा राख्न सक्छौं।'
खासमा उनी इन्चेनमा सहभागी टिमको तयारीमा मद्दत गर्न आएका हुन्, तर उनको विशेष ध्यान भने युवा खेलाडीतर्फ देखिएको छ। सम्भवत: इन्चेन जाने नेपाली भारोत्तोलकबाट उमेरका कारण धेरै अपेक्षा गर्न सकिँदैन कि ? इन्चेनमा नेपालका चार खेलाडीले सहभागिता जनाउने छन्। ती हुन्, पुरुषतर्फ कमलबहादुर अधिकारी, विकास थापा र गोपालबहादुर श्रेष्ठ तथा महिलातर्फ तारादेवी पुन। यी चार खेलाडीको लगनबाट पनि चिनियाँ प्रशिक्षण टोली प्रभावित छ। चिनियाँ प्रशिक्षण टोलीमा तीन महिला पूर्व खेलाडी छन्, ती हुन्, दुई पल्टमा ओलम्पिक स्वर्ण पदक विजेता लिउ छुङहङ, बेजिङ ओलम्पिक र वल्र्ड च्याम्पियसिपकी विजेता छाओ लेई तथा तीन ओलम्पिक र दुई वल्र्ड च्यामिपयनसिपकी स्वर्ण विजेता ली सिया।
यी तीनै जना स्टार पूर्व खेलाडी के मान्छन् भने छोटो अवधिको प्रशिक्षणले ठूलो उपलब्धि हात पार्न सकिँदैन, यसका लागि दीर्घकालीन प्रशिक्षण नै चाहिन्छ। त्यसका लागि नेपाललाई सहयोग गर्न चिनियाँ भारोत्तोलन संघ तयार पनि छ। यसलाई लिएर नेपाली भारोत्तोलन संघका महासचिव पार्थसारथी सेनगुप्ता पनि उत्साहित छन्। सेनगुप्ता भन्छन्- अब नेपालले यसतर्फ ठोस कदम चाल्नुपर्छ।