साप्ताहिक संवाददाता
शिल्पाले तोडिन् सम्झौता
अन्ततः नायिका शिल्पा पोखरेलले एउटा सम्झौता तोडेकी छिन्। शिल्पाले विगत डेढ वर्षदेखि कुनै पनि म्युजिक भिडियोमा अभिनय गरेकी थिइनन्। छवि ओझा प्रोडक्सनका दुई चलचित्र 'लज्जा' तथा 'हवल्दार सुन्तली' प्रदर्शन नहुन्जेल कुनै पनि म्युजिक भिडियो तथा चलचित्रमा अभिनय नगर्ने सम्झौतामा हस्ताक्षर गरे पनि पहिलो चलचित्र 'लज्जा' प्रदर्शन पूर्वनिर्धारित मितिमा नभएपछि शिल्पा सम्झौता उल्लंघन गर्न बाध्य भएको बताइन्छ। आज शुक्रवार शिल्पाले चलचित्रमा अभिनय गरेपछिको पहिलो म्युजिक भिडियोमा अभिनय गर्दैछिन्। काठमाडौंमा छायांकन गरिने गायक दावा के शर्पाको 'बि्रटिशको लाहुरे..' गीतमा शिल्पाले मोडल पल शाहसँग अनस्क्रिन रोमान्स गर्न लागेकी हुन्। 'शिल्पाले गत मंगलबार म्युजिक भिडियोमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छिन्, निर्देशक समन अधिकारीका अनुसार भिडियोको भूमिकाका लागि शिल्पा नै सुहाउने भएकाले उनलाई प्रस्ताव गरिएको थियो।
दिनेशको सेकेन्ड इनिङ
अभिनेता दिनेश शर्मा पछिल्लो समय सानो पर्दामा व्यस्त थिए। विभिन्न टेलिश्रृंखलामा खलनायकका रूपमा प्रस्तुत भएर आफूलाई सक्रिय राख्ने यी अभिनेता अब निर्देशकका रूपमा दर्शकमाझ आउने भएका छन्। दसैंको पूर्वसन्ध्यामा प्रदर्शन हुने चलचित्र 'दानव' मार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन्। त्यसो त यो चलचित्रका निर्माता तथा नायक पनि दिनेश नै हुन्। 'चलचित्र क्षेत्रको लामो अनुभवलाई सदुपयोग गर्न निर्देशनमा हात हालेको हुँ,' साप्ताहिकसँगको एक भेटमा शर्मा भन्दै थिए- 'आगामी दिनमा अभिनय एवं निर्देशनलाई सँगसँगै अघि बढाउनेछु।' चलचित्रमार्फत दिनेशले समाजमा मानवसँगै दानवको पनि अस्तित्व रहे पनि दानवको अन्त्यपछि नै समाज सुन्दर हुने सन्देश दिन खोजेका छन्। चलचित्रमा दिनेशले नायिका महिमा सिलवालसँग अनस्क्रिन रोमान्स गरेका छन्।
सुष्माको बिकिनी तयारी
प्रेममा पटक-पटक धोका पाएपछि नायिका सुष्मा कार्कीले अब काममा मात्र केन्दि्रत हुने निर्णय गरेकी छिन्। 'लभ धेरै गरियो, अब बबाल गर्नुपर्छ' भन्ने अभिव्यक्तिसहित सुष्माले अब आफू करियरमा मात्र ध्यान दिने बताइन्। करियरका लागि सुष्माले पुनः एउटा धमाकेदार बिकिनी फोटोसुटको तयारी गरेकी छिन्। केही महिनाअघि कवीन्द्रमान शाक्यसँग बिकिनी सुट गराएर चर्चामा आएकी सुष्मा यतिबेला मकाउ पुगेर पुनः एउटा बिकिनी सुटको तयारी गर्दैछिन्। फोटोसुटका लागि उनी दसैंअघि नै मकाउको समुद्री तटमा पुगेर कामुक फोटोसुट गर्दैछिन्। 'त्यो फोटोसुट बबाल हुने वाला छ, सुष्माको दाबी छ- 'त्यसले नेपाली चलचित्र क्षेत्रमा तहल्का मच्चाउने पक्का छ।'
सुनिल होस्टल रिटर्नमा
छोटो समयमै आफूलाई सफल चलचित्र निर्माताका रूपमा उभ्याउन सफल सुनिल रावलले 'होस्टल रिटर्न' निर्माण गर्ने भएका छन्। यसअघि सायद र होस्टलजस्ता सफलजस्ता निर्माण गरिसकेका रावलले तेस्रो चलचित्रका रूपमा होस्टल रिटर्न निर्माण गर्न लागेका हुन्। होस्टल रिटर्नलाई सुरज भुषालले निर्देशन गर्ने पक्का भएको छ। यसअघि मौनबाट चर्चा बटुलेका भुषालले सन्तोष लम्सालसँग मिलेर होस्टल रिटर्नको पटकथा लेखेका हुन्। बुटवलमा छायांकन गरिने चलचित्रका सबै कलाकार छनौट भैसकेको निर्माता रावलले जानकारी दिए। होस्टल रिटर्नमा सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला, अभय बराल, शशि श्रेष्ठ, स्वस्तिका खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी तथा रमेश श्रेष्ठले अभिनय गर्नेछन्। होस्टल रिटन्र्समा अघिल्लो चलचित्र होस्टलको कथा, पात्र र कलाकार दोहोरिएका छैनन्। होस्टलको जीवनशैली, मित्रता र प्रेमको कथा प्रस्तुत हुने होस्टल रिटर्नमा स्याडोज ब्यान्डका गायक स्वप्निल शर्माको संगीत रहनेछ। दुर्गिश फिल्म्सले यसअघि निर्माणको घोषणा गरेको चलचित्र 'लभ नम्बर' को सुटिङ भने पोस्टपोन्ड भएको बताइन्छ।