साप्ताहिक संवाददाता
आमासँगको अत्यन्त लगावकै कारण मैले २०६५ सालतिर 'आमा...' शीर्षककै गीत गाएँ। आमासँगको भावना गाँसिएको उक्त गीतलाई श्रोताहरूले मार्मिक मान्नुभयो र त्यो लोकप्रिय पनि भयो। श्रीकृष्णबम मल्लको शब्दको उक्त गीतको म्युजिक भिडियोले पनि दर्शकको मन जित्यो। चरित्र अभिनेत्री सुभद्रा अधिकारीले आमाको भूमिका निर्वाह गर्नुभएको भिडियोका कारण मेरो लोकप्रियता पनि बढ्यो। सांगीतिक कार्यक्रमका सिलसिलामा स्वदेश अथवा विदेश जहाँ पुग्दा पनि श्राेताले यही गीत सुन्ने इच्छा व्यक्त गर्नुहुन्छ। म अधिकांश कार्यक्रममा 'आमा...' बाटै गायन प्रारम्भ गर्छु। यो गीत गाउँदा-गाउँदै म आफैं भावुक हुन्छु, दर्शकदीर्घामा रहेका दर्शक खासगरी महिला तथा वृद्ध-वृद्धाहरू गीतसँगै रुन थाल्छन्। गत वर्षको मेरो एकल गायनमा कलाकार सुभद्रा अधिकारी स्वयं यो गीत सुनेर भक्कानिनुभएको थियो। यो गीतलाई मैले सम्पूर्ण आमाहरूप्रति समर्पित गरेको छु।