साप्ताहिक संवाददाता
यसबीच पहिलो पटक हङकङमा वितरण गर्न लागिएको नेफ्टा एवार्ड-२०७० को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ। समारोहको तयारीका लागि यतिबेला हङकङमा रहेका कार्यक्रम संयोजक सुनिलकुमार थापाले साप्ताहिकलाई इमेलमार्फत दिएको जानकारीअनुसार एवार्ड समारोह आयोजना हुने हल, कलाकार तथा प्राविधिकहरू बस्ने होटल एवं सहभागीहरूको भिसाको सम्पूर्ण कार्य पूरा भएको छ।
संयोजक थापाका अनुसार एवार्ड समारोहलाई भव्य बनाउन काठमाडौंबाट करिब १ सय जनाको समूह हङकङ पुग्नेछ। कार्यक्रममा सहभागिता जनाउनेहरूमा करिब ६० जना कलाकार हुनेछन् भने १५ जना आयोजक संस्थाका पदाधिकारी, १० जना सञ्चारकर्मी, ५ जना टेलिभिजनकर्मी तथा १० जना प्रायोजक रहनेछन्। एवार्ड समारोहमा सहभागिता जनाउने कलाकारसहितको समूह कात्तिक १८ गते मंगलबार हङकङतर्फ प्रस्थान गर्नेछ। चार दिनको हङकङ बसाइपछि उक्त समूह कात्तिक २२ गते काठमाडौं र्फकनेछ। कार्यक्रमलाई मनोरञ्जक बनाउने क्रममा नायक-नायिकासहित करिब दुई दर्जन कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। यसपटकको एवार्डमा विभिन्न ३४ विधामा पुरस्कार वितरण गरिँदैछ।
एवार्ड वितरण समारोह सम्पन्न गर्न करिब साढे २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न रिद्धिसिद्धी ज्वेलर्स, एनआरएन हङकङ, नेपाल चेम्बर अफ कमर्स हङकङ, एनआरएन मकाउसहितका संघ-संस्थाहरूले सहयोग गरेका छन्।