साप्ताहिक संवाददाता
सुमी
इलाम शान्तिपुरकी सुमी सिंहले आफ्ना रचनाको पहिलो एकल एल्बम 'सुमी' सार्वजनिक गरेकी छिन्। एल्बमका गीतमा अविदको एकल संगीत छ। एल्बम सुमीका गीतमा अञ्जु पन्त, रिमा गुरुङ होडा, सत्यराज आचार्य, थुप्देन भुटिया, शिव परियार, जीना रसाइली आदि गायक-गायिकाको स्वर सुन्न सकिन्छ।
एकै साथ छ एल्बम
लोक संगीतमा सक्रिय विभिन्न गायक-गायिकाका ६ वटा लोक तथा दोहोरी गीतका एल्बम एउटै समारोहमा सार्वजनिक भएको छ। राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले आयोजना गरेको समारोहमा दसैं-तिहारलाई लक्षित गर्दै तयार पारिएको मदन बेल्बासेको 'घुम्दै फिर्दै दसैं-तिहार आयो' तथा रेशम बिकको 'दसैं-तिहार आयो' सार्वजनिक गरिएको थियो। समारोहमा लोक गायक मच्छेश्वर सापकोटाको 'खुसी मनले', अर्जुन घिमिरेको 'जिम्मलका छोरी', सागर दर्नालको 'सिन्धुलीको जुनार' तथा मौसम गुरुङको 'एउटा राम्रो बाटो देखाइदेऊ' शीर्षकका एल्बम पनि सार्वजनिक गरिए।
दुई एल्बमको विमोचन
संगीतकार संघ नेपालले बुधवार काठमाडौंमा एक साथ दुई एल्बम सार्वजनिक गर्यो। समारोहमा संगीतकार पारस मुकारुङद्वारा संगीत तथा स्वरबद्ध एल्बम 'स्रष्टासँग संगीतकार' तथा गायक प्रकाश आचार्यको गीति एल्बम 'संसार' लाई प्राज्ञ गणेश रसिकले सार्वजनिक गरेका थिए।