विशुद्ध रक ब्यान्डको प्रस्तुति रहेको कन्सर्ट 'अलाइभ-४' ले गत साता यसका पारखीहरूलाई मज्जाले ततायो। रक संगीत त्यसै पनि जोसिलो साथमा हलभित्रै 'ओपन बार' को सुविधा भएपछि कन्सर्ट नतात्ने कुरै भएन। राती करिब १० बजेदेखि बिहानसम्म चलेको कन्सर्टले धेरैलाई असिनपसिन हुने गरी नचायो। एक्स्िट्रम इम्टरटेनमेन्टद्वारा प्रस्तुत कन्सर्टमा नेपाली ब्यान्ड 'द अन्डरसाइड' ले विदेशी दर्शकहरूको पनि मन जित्यो। कन्सर्टमा हङकङकै स्थानीय ब्यान्ड 'डेडसोल' पनि सहभागी थियो। गत साता सोमबार सेन्ट्रेलस्थित 'द ब्याकस्टेज लाइभ' मा आयोजित कन्सर्टमा दुई नेपालीबाहेक बेल्जियमको 'अ स्ट्रेन्थ विथइन', चिनियँा र पाकिस्तानी 'किङ लिची', फिलिपिन्सको 'टिम हिरो' का साथै अस्ट्रेलियन र युरोपियन ब्यान्ड 'डेफियन्ट स्कुम' ले पनि प्रस्तुति दिएका थिए। सन् १९५० को दशकमा अमेरिकाबाट उदाएको पाश्चात्य रक संगीत १९६० मा बेलायत र अमेरिकामा मौलाएको हो। द रोलिंग स्टोन्स, बोन जोवी, गन्स एन्ड रोजेज, मेटालिका, एसी डिसी आदि विश्वप्रसिद्ध रक ब्यान्डका करोडौं प्रशंसक संसारभर छन्। 'अलाइभ-४' मा सहभागी ब्यान्डहरूको प्रस्तुतिले पनि विश्वचर्चित सांगीतिक समूहहरूलाई सम्झायो। उक्त कन्सर्टको उद्देश्य केवल नाचगान मात्र थिएन। युवाहरूलाई लागूपदार्थ र हिंसाबाट टाढा बस्न सन्देश दिनु पनि कन्सर्टको उद्देश्य रहेको आयोजक मीन गुरुङले बताए।