साप्ताहिक संवाददाता
पी.
तपाईं दुई जनासँगको प्रेममा परिसक्नुभएको रहेछ। कसैप्रतिको आकर्षण र वास्तविक प्रेम फरक कुरा हुन्। तपाईंको घटना एकदम अस्वाभाविक होइन, तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैले पनि एकपटक गम्भीर भएर मनन गरे अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय गर्न मद्दत पुग्नेछ।
जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ नै। त्यसमाथि पनि गलत मान्छेसँग त्यस्तो सम्बन्ध भएको घटनाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले तपाईंलाई पटक-पटक घचघच्याइरहन्छ। यो पनि स्वाभाविक हो, तर तपाईंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्वपूर्ण हुन्छ। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने त्यसलाई शिक्षा नै मान्नुपर्ने हुन्छ। घटना दोहोर्याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ।
खुला र उदार भनिएको पश्चिमा समाजमा पनि मानिसहरूमा प्रेम, यौन र रोमान्सप्रति पश्चाताप हुने गरेको छ। धेरैजसो अमेरिकीसँग नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोधियो भने प्रेम, यौन र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्याउने वाचा गरिने अनुसन्धानहरूले देखाएका छन्।
पुरुषहरूले कुनै बेला आफूसँग भेट भएकी आकर्षक युवतीसँग प्रेमप्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ, तर धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौनसम्पर्क गरेकोमा दु:ख प्रकट गर्ने गरेका छन। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो कुमारित्व गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। पुरुषहरू अनौपचारिक यौनसम्पर्क मन पराउँछन्। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर महिलाहरू जीवन बिताउन पुरुषसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। पुरुषहरू यौनसम्पर्कपछि प्रेम गर्ने खालका हुन्छन् भने महिलाहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन्। महिलाहरू यौनसम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु कुनै पनि महिलाका लागि जैविक, भावनात्मक एवं प्रजननजन्य कुरा हुन्छ। धेरैजसो अवस्थामा महिलाहरू कुनै पुरुषसँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र कुमारित्व गुमाउँछन्। कुमारित्व र प्रजनन महिलाका लागि जीवनका दुई महत्वपूर्ण सम्पत्ति हुन। समयक्रमसँगै समाप्त हुने प्रजनन क्षमता एवं कुमारित्वलाई टार्न सकिँदैन, तर गलत मान्छेबाट कुमारित्व गुमाउने काम रोक्न सकिन्छ। अब तपाईंसँग गुमेको कुरा बाँकी छैन। विगतका घटनाप्रति पश्चाताप गरिरहनेभन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क गर्न सक्नुहुन्छ।