साप्ताहिक संवाददाता
'आमा जब ज्युँदै हुन्छिन्, हामी खिर खान्छौं,
र आमालाई भोकै राख्छौं,
आमा जब मर्छिन्, हामी भोकै बस्छौं
र, उनलाई खिर ख्वाउँछौं ।'
ब्यंग्यकवि अर्जुन पराजुलीले आमाका बारेमा मात्र यसो भने पनि यो सुत्र सबैमा लागू हुन्छ । मामा, सानिमा, काका, भिनाजु ज्युँदो हुन्जेल सम्झनै हुँदैन, जब उनीहरूले प्राण त्याग्छन्, तब तिनका रंगीन कर्महरू झलझली सम्झना आउँछन् । आफन्तमात्र होइन, मरेपछि सत्रुलाई पनि सबैभन्दा नजिकको मान्ने ज्ञान कहाँबाट आउँछ होला, धेरै मानिसहरू जवाफ खोजिरहेका छन् । जीवन हुन्जेल गुमनाम भएर बाँचेकाहरू मृत्युपछि कसरी रातारात चर्चित हुन्छन् होला ?
हुनतः 'बाँचुन्जेल तेरो र मेरो मरेपछि ढुंगैको चौघेरो' भनिन्छ । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ, 'बाँचुन्जेल माथि र तल, मरेपछि खोलीमा सलल ।'
आ-आफ्नो संस्कृति र संस्कारअनुसार मृत्युपछिका संस्कारहरू होलान्, तर जीवनभरि एकथोप्पो तारिफ नगरिएको मान्छेलाई मरेपछि सम्मानका फुलबुट्टा भर्ने चलनलाई संस्कार नभनेर कुसंस्कार भन्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।
भरखरकै कुरा गरौं, माओवादी नेता बोगटी बित्नुभो । प्रचारका हिसाबले उहाँ खासै चर्चित नेता होइन, तर इमान्दारचाहिँ पक्कै हो । यद्यपि ज्युँदो हुन्जेल कसैले उहाँको इमान्दारिताको कुरा गरेन । कसैले पनि माओवादीमा बोगटीजस्ता नेता अगाडि आउनुपर्छ भन्नेतिर ध्यान दिएन । सबै माओवादी नेता भ्रष्ट नै हुन् जस्तो गरियो, जब कमरेड बोगटीको मृत्यु भयो, तब उहाँ जस्तो महान् र आदरणीय नेता कोही थिएन, उहाँ त सबैभन्दा सम्मानित नेता हुनुहुन्थ्यो जस्तो प्रचार भयो । पार्टीभित्र, बाहिर, समर्थकभन्दा विरोधीले उहाँप्रति बढी सम्मान गरेको देखियो ।
त्यही सम्मान ज्युँदै भएको भए बोगटी सरमा आत्मविश्वास बढ्थ्यो होला । उहाँको नेतृत्वलाई प्रोत्साहन भैदिएको भए माओवादी उहिल्यै लाइनमा आउँथ्यो होला । उहाँको सरलताको पहिल्यै हाइहाई भएको भए अरू अप्ठ्यारा नेताहरू पाखा लाग्थे होलान्, तर हामी कहिल्यै मानिसलाई ज्युँदैमा बुझ्ने प्रयास गर्दैनौं । बाँचुन्जेल मान्छेका कमीकजोरीमात्र खोजी रहन्छौं । उसभित्र रहेका सकारात्मक पाटाहरूको ख्याल गर्दैनौं, तर मरेपछि नभएका कुरा पनि खोजी-खोजी समवेदना व्यक्त गर्छौं । यसले मृतआत्मालाई होइन, समवेदना दिनेवालालाई मात्र शान्ति प्रदान गर्छ भन्ने गजुरियल बुझाइ छ ।
सहाना प्रधान र बोगटी त उदाहरणमात्र हुन् । गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु भयो । मृत्युपछि उनको सम्मान र प्रशंसा कति गरिने हो, थाहा छैन । गजुरियल विश्लेषणअनुसार, नन्दप्रसादको 'अधिकार'को पक्षमा अझै थप आन्दोलन हुने अवस्था छ । बाँची रहेकाहरूलाई यस्ता आन्दोलन- अधिकारले केही होला, तर मरेर जानेका लागि मृत्यु पछिको सम्मानको कुनै अर्थ छैन भन्ने गजुरियल ठम्याइ छ ।
दसैं नजिकै आउँदैछ । हामीहरू दुर्गा भवानीको पूजा गरिरहेका छौं । महिशासुररूपी राक्षसको मृत्युमा खुसी मनाइरहेका छौं । मानिसमा रहेको राक्षसरूपी शक्तिको अन्त्य एवं देवरूपी शक्तिको संरक्षण होस् भनेर कामना गरिरहेका छौं । यो कामनामा यो पनि थप्न आवश्यक छ कि मानिसलाई मरेपछि देवता देख्ने चलनको अन्त्य होस् । ज्युँदैमा उसको क्षमता तथा योग्यताको कदर गर्ने बानी बसोस् । मरेपछि गाथा गाउने कामले मृत आत्मालाई कहिल्यै शान्त गर्दैन, बरु थप भड्काउँछ भन्ने गजुरियल ठम्याइ छ । विजयदशमीको हार्दिक शुभकामना ।