साप्ताहिक संवाददाता
काठमाडौं राजधानी भएका कारणले मात्र नभै आर्थिक गतिविधिको समेत केन्द्र भएकाले अधिकांश नेपालीको रोजगार गन्तव्य पनि हो । यही कारणले दसैंको बिदाका अवसरमा काठमाडौंबाट बाहिरिनेहरूको जमात ठूलो हुन्छ । यात्राका लागि काठमाडौंबाट बाहिरिने हो भने घुम्नका लागि देशभरि नै थुप्रै स्थान छनौट गर्न सकिन्छ । काठमाडौंबाहेक मुलुकका अन्य केन्द्रहरु पोखरा, विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, धनगढी, नारायणगढ, हेटौंडा, जनकपुर, धरान जस्ता ठाउँहरुबाट यात्रा प्रारम्भ गर्ने हो भने पनि यो लेखमा उल्लेख गरिएका तत्-तत् स्थानहरुबाट पनि आफ्नो यात्रा अघि बढाउन सकिन्छ ।
यदि काठमाडौंबाट पश्चिम लाग्ने हो भने मनकामना, गोरखा दरबार क्षेत्र, बन्दीपुर, तनहुँको ढोरबाराही र छाब्दीबाराही, लेखनाथ नगरपालिकाको वेगनास, मैदी तथा रूपा ताल, पोखरा उपत्यका, पोखरा आसपासका छोटा पदयात्रा गन्तव्यहरू, स्याङ्जाको आलमदेवी मन्दिर, कालीगण्डकी छेउमा रहेको रानी महल, पाल्पाको तानसेन र श्रीनगर डाँडा एवं रुरु क्षेत्र आकर्षक गन्तव्य हुन सक्छन् । उपरोक्त स्थानहरूमध्ये आफूलाई पायक पर्ने कुनै पनि स्थान रोज्न सकिन्छ । तीमध्ये कतिपय ठाउँमा काठमाडौंबाट सोझै वा पोखरा र तानसेनबाट स्थानीय सवारी साधनको सुविधा प्राप्त गर्न सकिन्छ ।
नारायणगढ र बुटवल हुँदै लुम्बिनी तथा जगदीशपुर ताल अर्को गन्तव्य हुन सक्छ । यी दुवै गन्तव्य अहिले अन्तर्राष्ट्रिय चर्चामा छन् । एक-अर्कासँग नजिक भएकाले लुम्बिनी र जगदीशपुर ताल पुग्न भैरहवालाई आधार बनाउन सकिन्छ । लुम्बिनीमा बसोबास र खानपिनको राम्रो प्रबन्ध भए पनि जगदीशपुर ताल क्षेत्रमा त्यो सुविधा उपलब्ध नहुन सक्छ । त्यसैले भैरहवामै त्यसको जोहो गर्नुपर्छ ।
बुटवलबाट पश्चिम लागेपछि अन्य आकर्षक गन्तव्यमा बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कर्णाली चिसापानी हुनसक्छ । बर्दिया जान नेपालगन्जलाई र शुक्लाफाँटा जान महेन्द्रनगरलाई आधार बनाउन सकिन्छ । शुक्लाफाँटा बाह्रसिंगे हरिणका लागि विश्वप्रसिद्ध छ । त्यहाँ बाह्रसिंगेको संसारकै सबभन्दा ठूलो झुन्ड अवलोकन गर्न सकिन्छ । बसोबासका लागि महेन्द्रनगर बजारमा पर्याप्त विकल्प उपलब्ध छन् । बर्दिया अहिले बाघ र कृष्णसार नामक हरिणको एक प्रजातिका लागि चर्चित छ । यो निकुञ्ज पुगेपछि बाघ हेर्न बबई उपत्यकासम्म र कृष्णसार हेर्न खैरापुर फाँटसम्म पुग्नुपर्ने हुन्छ । त्यसका लागि निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्छ भने आवश्यक सवारी साधन त्यहीं उपलब्ध हुन्छ । बसोबासका लागि नेपालगन्ज र गुलरिया बजारमा पर्याप्त विकल्प छन् । कतिपय अवस्थामा नेपालगन्जमा रहेका ट्राभल एजेन्सीहरूले पनि प्याकेजका रुपमा बर्दिया शुक्लाफाँटा र कणर्ाली घुमाउने गरेका छन् । यो यात्राका क्रममा कणर्ालीको चिसापानीमा माछाको स्वाद लिन सकिन्छ भने त्यहाँबाट र्याफ्टिङ गर्दै टीकापुर बजार पुग्न सकिन्छ । टीकापुरमा नेपालकै एकमात्र बनाना रिसोर्टमा केराका दर्जनौं परिकार चाख्न सकिन्छ । यही यात्राका क्रममा कैलालीको सदरमुकाम धनगढी पसियो भने त्यहाँ नेपालकै एकमात्र हवाईजहाज संग्रहालय अवलोकन गर्न सकिन्छ । धार्मिक प्रवृत्तिको हुनुहुन्छ भने यो यात्राका क्रममा नेपालगन्जमा बागेश्वरीदेवी, धनगढीमा नैनादेवी र महेन्द्रनगरमा महाकालीदेवीको दर्शन गर्न सकिन्छ ।
यदि काठमाडौंबाट जाने हो भने तीनवटा रुट हुनसक्छन् । पहिलो काठमाडौंबाट बनेपा, खाडीचौर हुँदै दोलखा पुग्न सकिन्छ । दोलखाको सदरमुकाम चरिकोट नेपालको पहाडी क्षेत्रको सुन्दर सहर मानिन्छ । चरिकोटलाई गन्तव्य बनाएर नजिकैको पुरानो दोलखा बजारस्थित भीमेश्वर भीमसेन, कालिन्चोक भगवती आदि प्रसिद्ध मन्दिरको दर्शन तथा अवलोकन गर्न सकिन्छ । चरिकोट पुग्ने क्रममा काभ्रेको पाँचखालबाट दुईदेखि तीन घण्टा छुट्याउने हो भने पलान्चोक भगवतीसमेत पुग्न सकिन्छ । चरिकोट पुगिसकेपछि समय छ भने जिरी र सगरमाथाको आधार शिविरसम्मको यात्रा तय गर्न सकिन्छ । चरिकोटबाट काठमाडौं र्फकन मन लाग्दैन भने सोझै जनकपुर र्झन सकिने बाटो पनि छ ।
चरिकोटबाट जनकपुर पुगेपछि दुईदेखि तीन दिनको घुमफिरका लागि थुप्रै विकल्प उपलब्ध हुनेछन् । जनकपुरमा जानकी मन्दिरको दर्शन गरिसकेपछि त्यहाँ पोखरीहरूको अवलोकनले पनि मनलाई पुलकित बनाउँछ । जनकपुर मैथली भाषा र सभ्यताको केन्द्र पनि हो । जनकपुरबाट यात्रा थाल्दा जलेश्वरको जलेश्वर महादेव, राजविराजको राजदेवी, छिन्नमस्ता भगवती तथा कोसी ब्यारेज अवलोकन गर्ने अवसर प्राप्त हुन्छ । कोशी तरेपछि नजिकै रहेको अर्नाका लागि विश्वविख्यात कोसी टप्पु वन्यजन्तु आरक्ष घुम्ने समय निकाल्न सकियो भने त्यो सबैका लागि अविस्मरणीय अनुभव हुनेछ । कोशी टप्पुको यात्रापछि गन्तव्य विराटनगर वा धरान हुनसक्छ । धरानलाई आधार बनाएर कोसी नदी तराईमा झर्ने चतरा क्षेत्र (जहाँ विष्णुपादुकालगायत अन्य तीर्थस्थलहरू छन्) घुम्न सकिन्छ भने धरानमै पनि पिण्डेश्वर महादेव, दन्तकाली तथा बूढासुब्बाको मन्दिर अवलोकन गर्न सकिन्छ । विराटनगर पुगिएको छ भने त्यहाँको काली मन्दिर दर्शन गर्नैपर्ने गन्तव्य हुनसक्छ । विराटनगर नेपालको प्रमुख औद्योगिक सहर हो । यहाँ फस्टाएको उद्योग तथा व्यापारको अवलोकन पनि अर्को छनौट हुनसक्छ ।
धरानबाट माथि उक्लने हो भने भेडेटार, धनकुटा बजार, हिले, वसन्तपुर, तीनजुरे-मिल्के, म्याङलुङ, चैनपुर बजार तथा खाँदबारी उपयुक्त गन्तव्य हुन सक्छन् । यी गन्तव्य धार्मिकभन्दा पनि भौगोलिक दृष्टिले महत्वपूर्ण छ । अहिले पदयात्राका लागि लोकप्रिय रहेका यी गन्तव्यहरूमध्ये कुनै एकलाई छनौट गर्ने हो भने पनि एक दुई दिन छुट्याउनुपर्ने हुन्छ ।
विराटनगर वा धरान नगएर इटहरीबाट सोझै पूर्व लाग्ने हो भने झापा पुगिन्छ । झापाको बिर्तामोडबाट इलामदेखि ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको यात्रा तय गर्न सकिन्छ । यो यात्राका क्रममा इलामका चियाबारी तथा चिया प्रशोधन केन्द्रहरू अवलोकन भ्रमण गर्न सकिन्छ । जसले इलामको सम्पन्नतासँग साक्षात्कार गराउनेछ भने यो यात्रा अविस्मरणीय पनि हुन सक्छ । इलामबाट माथि पाँचथरको फिदिम अनि फिदिमपछिको गन्तव्य ताप्लेजुङको पाथीभरा मन्दिर हुनसक्छ । ताप्लेजुङ बजारबाट पाथीभरा मन्दिरको यात्रा एक दिनको मात्र पनि हुन्छ ।
काठमाडौंबाट चितवनको नारायणगढ हुँदै बाराको सिम्रौनगढमा टुंगिन सक्ने यात्रा रुट पनि दसैंको बिदा सदुपयोग गर्ने अवसर हुनसक्छ । यसका लागि सबैभन्दा पहिले चितवन पुग्नुपर्छ । चितवनमा विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जले यात्रालाई अविस्मरणीय बनाउन सक्छ । यो निकुञ्ज घुम्न काठमाडौं र नारायणगढमै रहेका साना-ठूला ट्राभल एजेन्सीहरूले खर्च गर्न सक्ने क्षमताअनुसार प्याकेज पनि उपलब्ध गराउँछन् । चितवनको यात्रापछि बारा अर्को प्रमुख गन्तव्य हुनसक्छ । बाराको सदरमुकाम कलैया बजार नजिकै रहेको गढीमाईको मन्दिर बली प्रथाका कारण विश्वमै प्रसिद्ध एवं चर्चित छ । कलैया बजारबाट ६ किलोमिटर टाढा रहेको गढीमाईको दर्शन गरेपछि ऐतिहासिक सिम्रौनगढ पुग्न सकिन्छ । सिम्रौनगढमै छ काठमाडौंका मल्ल राजाहरूकी इष्टदेवी तुलजा भवानीको मूल मन्दिर एवं प्रसिद्ध ककांलिनी माईको मन्दिर । तुलजा भवानी र कंकालिनी माईको दर्शनसँगै सिम्रौनगढमै हेर्न सकिन्छ झरोखर नामक पोखरी । झरोखर पोखरी धेरैका लागि बिर्सिएको गन्तव्य हुनसक्छ, तर इतिहासमा चाख राख्नेहरूलाई थाहा छ ००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा नेपाली कांग्रेसले प्रारम्भ गरेको सशस्त्र आन्दोलनको प्रस्थानबिन्दु झरोखर पोखरी नै थियो । जहाँ भएको गोलीकाण्ड नेपालको इतिहासकै निर्मम गोलीकाण्डहरूमध्ये एक मानिन्छ ।
काठमाडौंबाट एक-दुई दिनको गन्तव्य खोज्ने हो भने नुवाकोट सबैभन्दा भरपर्दो गन्तव्य हुनसक्छ । विदुर नगरपालिका, त्रिशूली उपत्यका लगायतका स्थान घुम्न दुई दिन लाग्न सक्छ । यो यात्राका क्रममा नुवाकोट दरबार क्षेत्र घुम्न सकिन्छ भने स्वादका पारखीहरूले ट्राउट हाइवे नाम पाएको ककनीदेखि विदुर नगरपालिकासम्म ठाउँ-ठाउँमा ट्राउट माछाको स्वाद चाख्न सक्छन् । त्यसबाहेक अघिपछि लामो फुर्सद निकाल्न नसक्नेहरूले उपत्यका नजिकै रहेको दक्षिणकाली, पनौती, चित्लाङ, कुलेखानी, खोकना, साँखुको बज्रयोगिनी जस्ता क्षेत्रहरू घुम्न सक्छन् ।
यात्राअघि
यात्राका लागि आफूले छनौट गरेको स्थान आफू बसेको ठाउँबाट कति टाढा छ ? खानपिन र बसोबासका लागि त्यहाँ के व्यवस्था छ ? त्यहाँसम्म पुग्ने सजिलो साधन वा माध्यम के हो ? निजी साधनबाट जाने हो वा सार्वजनिक सवारी साधन प्रयोग गर्ने हो त्यसकाबारेमा पहिले नै पर्याप्त तयारी गर्नुपर्छ । त्यहाँ हुन सक्ने सम्भावित खर्च कति हुनसक्छ र उक्त ठाउँको विशेषता के हो ? भन्ने कुराको निक्र्यौल यात्राअघि नै गर्नुपर्छ । यसका साथै त्यहाँको मौसमका बारेमा पनि पर्याप्त जानकारी बटुल्नुपर्छ । एक्लै, साथीसँग वा परिवारमध्ये कोसँग जाने हो ? त्यहीअनुरूप तयारी गर्नु उपयुक्त हुन्छ ।
यात्राका क्रममा
जुन वा जे साधनबाट यात्राका क्रममा रहे पनि आफू कहाँ पुगियो ? आफू पुगेको ठाउँबाट तोकिएको गन्तव्य कति टाढा छ ? आफूलाई वा आफूसँग यात्रा गरिरहेका साथी, परिवारका सदस्य कसैलाई सन्चो-बिसन्चो के छ ? ख्याल गरिरहनुपर्छ । सम्भव भएसम्म प्राथमिक उपचारको साधन बोक्नुपर्छ । सार्वजनिक सवारी साधनमा भए जहाँ पायो त्यहीं, जे पायो त्यही अपच हुने गरी खानुहुँदैन । यसरी जथाभावी खाँदा स्वास्थ खराब हुनसक्छ । खराब स्वास्थले यात्राको आनन्दमा बाधा पुर्याउँछ । खानाका सौखिनहरूले भने सम्बन्धित ठाउँको विशेष परिकार चाख्न बिर्सनु हुँदैन । त्यसैगरी आफू पुगेको ठाउँमा त्यहाँ कुनै मौलिक वस्तु वा सम्झना चिनो खरिद गर्दा यात्रा स्मरणीय हुन्छ । नेपालमा मौलिक परिकारका दृष्टिकोणले काठमाडौं उपत्यकापछि पोखरा र पाल्पा विशेष मानिन्छन् । पोखराको थकाली खानाले संसारभरि नै नाम कमाएको छ भने पाल्पालाई हाँसको छोयला, चुकौनी र मासको पिठोबाट बनाइएको बटुकको उत्पत्ति स्थल मानिन्छ । कोशी ब्यारेजमा माछाको स्वाद लिन बिर्सनुहुँदैन । यसैगरी धरानमा बंगुरको सेकुवा, विराटनगरमा खसीको सेकुवा स्वाद लिन सकिन्छ । भेंडेटार अनि हिले सुकुटी र तोङ्बाका लागि प्रसिद्ध
छन् । इलामको चिया त भैहाल्यो नै । त्यसैगरी गढीमाई लाग्दा कलैयाको खसीको मासुको स्वाद विशेष हुनसक्छ । नारायणगढमा खसीको तास, नेपालगन्जमा चाट र रबडी, कणर्ालीमा माछाको स्वाद लिन सकियो भने यात्रा अविस्मरणीय सावित हुन्छ ।