साप्ताहिक संवाददाता
अधकट्टीपछि दुई चलचित्र
निर्माता प्रदीपकुमार उदयले सोमबार काठमाडौंमा चलचित्र 'अधकट्टी' का दुई गीतको भिडियो प्रिमियर गर्नुका साथै दुई नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । उदयले फागुन १ गते प्रदर्शन हुने 'अधकट्टी' अघि नै 'नमस्ते नेपाल' तथा 'प्रोडक्सन नम्बर-३' शीर्षकका दुई चलचित्र निर्माण गर्नेछन् ।सञ्चारकर्मी सुव्रत आचार्यको डेब्यु निर्देशनको चलचित्र अधकट्टीमा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत तथा प्रदीप बाँस्तोलाले अभिनय गरेका छन् । युरोपका विभिन्न देशमा छायांकन हुने 'नमस्ते नेपाल' को निर्देशन राजु शाहले गर्दैछन् भने प्रोडक्सन नम्बर-३ को निर्देशन ऋषि लामिछानेले गर्नेछन् ।
एकादेशमा सम्पन्न
छोटा चलचित्रहरूको तीन दिने 'एकादेशमा चलचित्र महोत्सव' मा चिनियाँ नागरिक हु वाई निर्देशित 'द बटरक्याम्प' ले जुरी एवार्ड जित्दै नगद ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । गौरी मल्ल, पूजा गुरुङ तथा सुजन चित्रकार सम्मिलित जुरीले २७ देशका ६९ चलचित्रमध्ये 'द बटरक्याम्प' लाई उत्कृष्ट घोषणा गरेको हो । महोत्सवमा 'फ्युचर अफ द सिनेमा' को एवार्ड कला संग्रौलाद्वारा निर्देशित 'बुट्टे जामा' ले जित्यो । उक्त अवसरमा पासाङ दावा शेर्पाद्वारा निर्देशित 'क्यार क्यार पंखा' ले पब्लिक च्वाइस एवार्ड जितेको थियो ।
हाउ फन्नीको घोषणा
पूर्व मिस नेपाल माल्भिका सुब्बाले कमेडी शैलीको चलचित्र 'हाउ फन्नी' निर्माण गर्ने घोषणा गरेकी छिन् । काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रका कलाकार तथा प्राविधिकहरूको नामसमेत सार्वजनिक गरिएको छ । निलु डोर्मा शेर्पाले डेब्यु निर्देशन गर्ने यो चलचित्रमा दयाहाङ राई, निशा अधिकारी, प्रियंका कार्की, केकी अधिकारी तथा अनुप विक्रम शाहीले अभिनय गर्नेछन् ।
दसैंपछि आगो टु
एक दशकअघिको व्यवसायिक सफल चलचित्र 'आगो'को सिक्वेल चलचित्र 'आगो टु'को प्रदर्शन दसैंपछि हुने भएको छ । असोज ३१ गते देशभरी एकैसाथ लाग्ने बताइएको उक्त चलचित्रमा सुशिल क्षेत्री नै मुख्य भुमिकामा छन् भने 'आगो'का अन्य कलाकारहरु भने देखिने छैनन् । यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।
नन्दिताको बर्थडे
नायिका नन्दिता केसीले असोज ५ गते एसआईभी संक्रमित बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन् । कीर्तिपुरस्थित बेबी लाइफ होममा आश्रति बालबालिकामाझ केक काटेर नन्दिताले जन्मदिनको खुसियाली साटासाट गरेकी हुन् ।
नेफ्टाको नयाँ मीति
कात्तिक १ गते आयोजना गर्ने भनिएको नेफ्टा एवार्ड दुई दिन ढिला गरी कात्तिक ३ गते वितरण गरिने भएको छ । यसअघि कात्तिकको तेस्राे साता वितरण गर्ने तयारी गरिएको एवार्ड तिहारअघि नै वितरण गर्न लागिएको आयोजक एसके फिल्म्सका प्रमुख सुनिलकुमार थापाले बताएका छन् । चलचित्र प्राविधिक संघसँगको सहकार्यमा यो एवार्ड पहिलो पटक हङकङमा वितरण गरिँदैछ ।
प्रेम गीत सार्वजनिक
चलचित्र 'अझै पनि' को एउटा गीतको भिडियो यसै साता सार्वजनिक भएको छ । 'प्रेम दिवस' गीतमा सुदर्शन थापा तथा पूजा शर्माको रोमान्टिक अभिनय हेर्न सकिन्छ । हरि लम्सालको स्वर तथा संगीतको यो गीतको शब्द सञ्जीव थापाले रचना गरेका हुन् । आलोक नेम्बाङको निर्देशनमा पूनम गौतम क्षेत्रीले निर्माण गरेको यो चलचित्र फागुन १५ गते प्रदर्शनमा आउनेछ ।
टाइगरलाई पिजी
राजु गिरीद्वारा निर्देशित चलचित्र 'टाइगर द रियल हिरो' ले पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा समावेश दोहोरो अर्थ लाग्ने शब्द तथा केही हरर दृश्यका कारण यो चलचित्र हेर्ने बालबालिका अविभावकसँगै हुनुपर्नेछ । यो चलचित्रमा अशोक फुँयाल, शुभेच्छा थापा, सुशान्त कार्की, सुरज रानाभाट, दीपक कँडेल, समीक्षा अर्याल आदि कलाकारले अभिनय गरेका छन् ।
रोधीघरमा गेट पास
आदिवासी जनजाति युवाहरूमा भर्तीका कारण परेको शैक्षिक प्रभावका विषयमा आधारित चलचित्र 'गेट पास' बेलायतको निरमाया रोधीघर अल्डरसटमा प्रदर्शन गरिएको छ । चलचित्रका निर्देशक मनोज तमु यसको प्रदर्शनका लागि बेलायत पुगेका थिए । चलचित्र गेटपासमा सुरज गुरुङ, प्रतीक गुरुङ, रिना गुरुङ, सोविन गुरुङ आदिले अभिनय गरेका छन् ।
निर्देशकको निधन
गुरुङ चलचित्रका निर्देशक लोकबहादुर गुरुङको ६५ वर्षको उमेरमा निमोनियाका कारण पोखरामा निधन भएको छ । डेढ दशकदेखि गुरुङ भाषाका चलचित्र निर्देशन गरिरहेका लोकबहादुरले पहिलो पटक २०५२ सालमा 'कुहिरो भित्र' शीर्षकको चलचित्र निर्देशन गरेका थिए । त्यसयता उनले 'हाम्रो गाउँघर', 'भाउजू-बुहारी', 'लेकाली फूल', 'पछ्यौरी', 'बेहुली', 'घर' आदि चलचित्र निर्देशन गरे ।
उर्लाबारीमा चलचित्र
उर्लाबारी, मोरङका युवाहरूको समूहद्वारा सञ्चालित लमिश प्रोडक्सनले युवाहरूको समाज परिवर्तनप्रतिको भूमिका तथा कर्तव्यमा आधारित छोटो चलचित्र 'परिवर्तन' निर्माण गरेका छन् । गत साता चलचित्रको प्रोमो सार्वजनिक गरिएको थियो । उर्लाबारी आसपासका पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यो चलचित्रमा आनन्द भुर्तेल तथा रमेश दाहाल मुख्य भूमिकामा छन् । दसैंको अवसर पारेर प्रदर्शन गरिने यो चलचित्रको निर्देशन मिलन पोखरेलले गरेका हुन् ।
आशिक बलमा छायांकनमा
भोजपुरी चलचित्र 'आशिक बलमा' को छायांकन वीरगन्जमा भैरहेको छ । ब्ल्याक चिल्ली इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भैरहेको यो चलचित्रको निर्देशन नेपाली चलचित्रका युवा निर्देशक एनआर घिमिरेले गरिरहेका छन् । शेर खान, श्याम देहाती, शशिकुमार नायक रहेको यो चलचित्रमा उमा कार्की र रविना खड्काले नायिकाको भूमिकामा छन् । भोजपुरी र नेपाली दुवै भाषामा तयार पारिने प्रेमकथामा आधारित एक्सन चलचित्र आशिक बलमाको छायांकन वीरगन्ज, चितवन, पोखरा तथा काठमाडौंका साथै भारतको रक्सौल, हाजिपुर र पटनामा समेत गरिने निर्देशक घिमिरेले जानकारी दिएका छन् ।