साप्ताहिक संवाददाता
मनमोहिनी
गीतकार उत्तम भौकाजीको एकल शब्द तथा गायक स्वरूपराज आचार्यको एकल स्वर तथा संगीतको नयाँ एल्बम 'मनमोहिनी' लाई रेकर्डिस्ट मित्र लामा, डिजाइनर अनिल स्थापित तथा एरेन्जर गोपाल रसाइलीले काठमाडौंमा सार्वजनिक गरेका छन् । समारोहमा गीतकार उत्तम भौकाजी तथा गायक सत्यराज-स्वरूपराजबीचको पुरानो सम्बन्धदेखि हालसम्मका आत्मीय गतिविधिका फुटेजहरूलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो । विमोचित एल्बमका दुईवटा गीतका म्युजिक भिडियो प्रिमियर गरिएको उक्त समारोहमा गायक स्वरूपराजले दुईवटा गीत प्रत्यक्ष गाएका थिए ।
भोगें, देखें अनि लेखें
गायक, संगीतकार तथा गीतकार अजय अधिकारी सुशीलको गीत तथा गीतसँग गाँसिएका अनुभूतिहरूको संग्रह 'भोगेँ, देखेँ अनि लेखेँ' लाई प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । समारोहमा गीतकार राजेन्द्र थापाले कृतिको समीक्षा गरेका थिए भने संगीतकार शक्ति वल्लभ, शिक्षासेवी उत्तम संजेल, गायक आनन्द कार्की आदिले संग्रहको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
मेरो गीत
गायक तथा संगीतकार विजेश पौडेलको स्वर, संगीत तथा शब्दको नयाँ एल्बम 'मेरो गीत' लाई गायिका कुन्ति मोक्तानले सार्वजनिक गरेकी छिन् । यसअघि 'सलोनी' तथा 'मनको पाना' शीर्षकका एल्बम सार्वजनिक गरिसकेका पौडेलले 'मेरो गीत' मा पाँचवटा गीत समावेश गरेका छन् । एल्बमका गीतमा गायक पौडेल तथा राजु सिंहको संगीत तथा योगेन्द्रमणि दाहाल, भूपेन्द्र खड्का एवं गायक पौडेल स्वयंको शब्द सुन्न सकिन्छ । एल्बममा गायिका देविका बन्दनासँगको एउटा युगल गीतमा पनि समाविष्ट छ । समारोहमा एल्बमको 'दिन ढलोस' गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।
दुखेको देश
गीतकार शिव सुवेदीको शब्द तथा संगीतमा तयार पारिएको राष्ट्रिय गीतको एल्बम 'दुखेको देश' लाई तीन मुख्य दलका युवा नेता चन्द्र भण्डारी, रविन्द्र अधिकारी तथा खिमलाल देवकोटाले संयुक्त रूपमा विमोचन गरे । संविधानसभाबाट करोडौं खर्च गरेर देशको अवस्था आक्रान्त बनाइएको घटनाक्रमलाई चित्रण गरी तयार पारिएको गीतमार्फत देशका नेताहरूलाई खबरदारी गरिएको छ । एल्बमको उक्त गीतमा पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, खुमन अधिकारी, रामजी खाँड, कुलेन्द्र विक, पुस्कल शर्मा, प्रकाश सुपत, जुना श्रीष तथा शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ ।
नृत्य एवं गायन प्रतियोगिता
बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले काठमाडौंमा एक्टिभ किड्स डान्सिङ एन्ड सिङ्गिङ कम्पिटिसन-२०१४' हुने भएको छ । कात्तिक २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा उक्त प्रतियोगिता सम्पन्न गरिनेछ । ५ देखि ९ तथा १० देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउने यो प्रतियोगिता यतिबेला अडिसनको क्रममा छ । प्रतियोगितामा गायक आनन्द कार्की, साल्सा नृत्य प्रशिक्षक बिनायकदास श्रेष्ठ, संगीतकार अनिल शाही तथा गायिका मीरा राणा निर्णायक रहनेछन् ।
गीतकार संघको सम्मान
गीतकार संघ नेपालले दसैं तथा तिहारको शुभकामना आदान-प्रदान गर्ने कार्यक्रममा संगीतकर्मीहरूलाई सम्मान गरेको छ । समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञिक सदस्यमा नियुक्त भएका गीतकार श्रवण मुकारुङ, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक एवं प्रतिष्ठानका उपकुलपति तथा संगीतकार शम्भुजित बास्कोटालाई सम्मान गरिएको थियो ।
बिन्ध्यवासिनी सांगीतिक साँझ
बिन्ध्यवासिनी फाउन्डेसनले दसैंको पूर्वसन्ध्या पारेर काठमाडौंमा आयोजना गरेको सांगीतिक समारोहमा संगीतकार शम्भुजित बाँस्कोटालाई नगद ५१ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । समारोहमा बिन्दवासिनी म्युजिकले १६ जना पत्रकारलाई विन्दवासिनी संगीत पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । समारोहमा विन्दवासिनी म्युजिक एवार्डको उत्कृष्ट पाँचमा पर्न सफल केही संगीतकर्मीलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । आगामी मंसिरमा वितरण गरिने एवार्डमा ३१ विधाका १ सय ५५ संगीतकर्मी मनोनयनमा परेका छन् । समारोहमा सत्य-स्वरुप, रजिना रिमाल, नरेन्द्र प्यासी, मौसम गुरुङ आदिले गीत-संगीत प्रस्तुत गरेका थिए ।
जन्मथलोमा गायक
पाल्पा जिल्लाको दर्लाम डाँडाका गायक नवीन पौडेलले गत साता आफ्नै गाउँको दर्लाम डाँडा उच्च माविमा पुगेर आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरे । कार्यक्रममा पौडेलले बिर्सियौ गुन्यू, बिर्सियौ घलेक बिर्सियौ चोली, आजै भेट भाकोसहित विभिन्न गीत सुनाएका थिए ।