गत आइतबार हङकङमा सम्पन्न फेसन सो 'द रनवे' मा मोडल आस्था पोखरेल मुख्य आकर्षण साबित भइन् । सिंगापुरमा आयोजित 'एसियाज नेक्स्ट टप मोडल' मा उत्कृष्ट पाँचमा परेपछि पोखरेलको चर्चा चुलिएको हो । हाल मुम्बईमा मोडलिङमै कार्यरत आस्था फेसन सोमा सहभागिता जनाउन सीधै हङकङ आएकी हुन् । तीन महिनाका लागि मुम्बईकै एक कम्पनीसँग अनुबन्धित पोखरेल हङकङकी डिजाइनर माया पुर्जाले तयार पारेको 'रोयल काउचर गाउन' मा 'सो स्टपर' का रूपमा प्रस्तु भएकी थिइन् । नेपालका फेसन डिजाइनर खुश्बु डंगोल तथा तेन्जिङ छेतेन भुटियासमेत उक्त सोमा सहभागी थिए । पूर्व मिस हङकङ नेपाल ममिता गुरुङ खुश्बुले तयार पारेको पहिरनकी 'सो स्टपर' थिइन् । खुश्बु, तेन्जिङ र मायाका डिजाइनमा एक दर्जन स्थानीय मोडलले क्याटवाक गरेका थिए । याउ मा तेइस्थित हेनरी जि लियोङ हलमा सम्पन्न कार्यक्रममा उपस्थित अधिकांश दर्शक युवा थिए । सेन्स अफ क्लिक मोडलिङ एजेन्सीद्वारा हङकङमा आयोजित यो दोस्रो फेसन सो थियो । कार्यक्रमको उद्देश्य नेपाल र हङकङका डिजाइनर तथा मोडलहरूलाई अवसर प्रदान गर्ने रहेको आयोजक पवन सुब्बाले बताए ।