साप्ताहिक संवाददाता
- दसैंमा छरिएर रहेका आफन्तहरूबीच भेटघाट हुन्छ । यस्तो अवसरमा उत्साह र उत्सव दुवै हुन्छ ।
- दसैंले आफन्त एवं छिमेकीहरूबीचको सम्बन्धमा ताजापन ल्याउँछ ।
- मिलनको खुसियालीमा धेरै नहौसी भोजनमा ध्यान दिनुपर्छ ।
- दसैंमा कतिपय घटस्थापनादेखि उपवास बस्छन् । उपवास तोडिसकेपछि खाने आहार सजिलै पच्ने तथा हलुका किसिमको हुनुपर्छ ।
- दसैंमा धेरैजसोले ढिलो गरी पच्ने खालका खानेकुरा खान्छन्, जसले शरीरमा समस्या उत्पन्न गर्न सक्छ । यस्तो अवस्थामा ढिलो पच्ने खानेकुराहरू दिउँसो खानुपर्छ वा त्यस्ता खानेकुरा खाएपछि थोरै भए पनि शारीरिक श्रम गर्नु उपयुक्त हुन्छ ।
- खानपिनको यो उत्सवमा आफ्नो पाचन क्षमतालाई ध्यान दिएर मात्र खानुपर्छ ।
- आशीर्वादमा शक्ति हुन्छ त्यसैले आशिष दिनेले पनि पूरा दिनुपर्छ भने आशिष लिनेले पनि धैर्यपूर्वक आशिष ग्रहण गर्नुपर्छ ।
- भोजनका कारण पेटमा समस्या भए ज्वानो, जिरा एवं धनियाँ हाली पानी पकाएर खाँदा फाइदा मिल्छ ।
- धार्मिक दृष्टिकोणले घटस्थापनामा रोपिने जमराको महिमा आफ्नै किसिमको हुनुका साथै यो स्वास्थका लागि पनि फाइदाजनक छ । जमरालाई अरू बेला गमला वा करेसा बारीमा रोपेर १० दिनपछि नियमित त्यसको डाँठको रस सेवन गरे धेरै किसिमका रोग निर्मुल हुनुका साथै रोग प्रतिरोधक क्षमता पनि वृद्धि हुन्छ ।
- दसैंको महिमालाई आफ्नो जीवनमा पनि उतार्ने प्रयास गर्नुपर्छ । दसैं सत्यको जित र असत्यको हार भएका कारण आफुलाई सत्यको मार्गमा चलाउने प्रयास गर्नु उपयुक्त हुन्छ ।
टिकेटिङ टिप्स
- दसैंका बेला गाडीमा यात्रीको चाप बढ्ने भएकाले बेलामै टिकटको जोहो गर्नुपर्छ ।
- आधिकारिक काउन्टरबाटै टिकट खरिद गर्नुपर्छ, यतिबेला दलालको फन्दामा फस्न सकिन्छ ।
- टिकटमा आफु पुग्ने स्थान, भाडा दर, गाडीको नाम र नम्वर स्पष्ट उल्लेख छ/छैन जाँच गर्नुपर्छ ।
- दसैंका बेला कतिपयले राम्रो गाडी देखाएर, थोत्रो गाडीको टिकट थमाउन सक्छन्, यस्ता कुरामा सर्तक हुनुपर्छ ।
- कुनै पनि गन्तव्यका लागि निश्चित भाडा तोकिएको हुन्छ । त्यसैले तोकिएको भाडा अनुसार पैसा तिर्नुपर्छ ।
- आफूलाई ठग्न खोजिए वा ठगिएको थाहा पाए तत्काल प्रहरीलाई खबर गर्नुपर्छ ।
ट्राभल्स टिप्स
- कतै यात्रा गर्नुअघि आफूलाई आवश्यक खर्च, लुगाफाटाजस्ता सामग्री जोहो गर्नुपर्छ ।
- धेरै गरगहना लगाएर वा पैसा बोकेर यात्रा गर्दा चोरिने वा हराउने डर हुन्छ ।
- दसैंका बेला थोत्रा गाडीहरू पनि प्रयोग गरिने हँुदा, त्यस्ता गाडीमा यात्रा गर्नु जोखिमपूर्ण हुन्छ ।
- आफ्नै गाडी हुनेले मादक पदार्थ सेवन गरी ड्राइभ गर्दा दुर्घटनाको जोखिम हुन्छ । त्यस्तै धेरै थकित वा तनावको अवस्थामा पनि ड्राइभ गर्नु खतरनाक सावित हुनसक्छ ।
- यात्राका क्रममा पकेटमारबाट विशेष सावधान रहनुपर्छ ।
हेल्थ टिप्स
- दसैंमा खानापानप्रति सजग रहनुपर्छ । किनभने अनियन्त्रित खानपानले स्वस्थ्यमा प्रतिकुल असर पुर्याउन सक्छ ।
- माछामासु एवं मसलेदार खानेकुराले पाचन प्रणालीमा असर गर्छ । त्यसैले उचित र सही मात्रामा खानेकुरा खानुपर्छ ।
- अनियन्त्रित मदिरा सेवनले स्वास्थ्य र व्यक्तित्व दुवैलाई हानि पुर्याउँछ । यस्ता कुरावाट सतर्क रहनुपर्छ ।
- बिरामी एवं औषधी सेवन गरिरहेकाहरूले खानपानमा विशेष सजग रहनुपर्छ ।
टेबल म्यानर
- आफूले निम्त्याएको पाहुना आउनु केही अघि नै खानेकुरा टेबलमा सजाएर राख्नुपर्छ ।
- सकेसम्म खानेकुरालाई कलात्मक रूपमा सजाउनुपर्छ ।
- काँटा, चम्चा, गिलासजस्ता सामग्री उचित ठाउँमा सही तरिकाले राख्नुपर्छ ।
- पाहुनाले खाना खाइरहेका बेला उनीहरूलाई के-के कुरा पुग/अपुग छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ ।
सपिङ टिप्स
- दसैंका लागि आवश्यक सामग्रीको सूची बनाएर किनमेल गर्न सकिन्छ । यसले गर्दा महत्त्वपूर्ण सामग्री छुट्ने सम्भावना हुँदैन ।
- धेरै भीडभाडमा सपिङ गर्दा कतिपय सामग्री कमसल पर्न सक्छन्, त्यसैले यस्ता कुरामा सचेत रहनुपर्छ ।
- सम्भव भएसम्म एउटै स्थानमा किनमेल गर्नु राम्रो हुन्छ । सहरी क्षेत्रका उपभोक्ताका निम्ति सपिङ मलजस्ता थुप्रै विकल्प छन् ।
- दसैंको अवसर पारी कतिपय उत्पादनमा व्यवसायीले छुट तथा सेलको अफर दिन्छन्, त्यस्ता सामग्री खरिद गरेर मौकाको फाइदा उठाउन सकिन्छ ।
डेकोरेटिभ टिप्स
- दसैंमा घरलाई विशेष रूपमा सजाउनुपर्छ, जसले आगन्तुकहरूलाई आकषिर्त गर्न सकोस् ।
- झ्याल-ढोकाको पर्दा एवं फर्निचर फेरबदल गरेर घरलाई नयाँ लुक्स दिन सकिन्छ ।
- घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । अनावश्यक सामग्रीलाई स्टोरमा थन्काउनुपर्छ ।
- घरलाई रंगरोगन गरेर नयाँ रूप दिन सकिन्छ ।
मनी म्यानेजमेन्ट
- दक्षिणा, किनमेल, पूजा सामग्री, खाद्यान्न, लताकपडा, यातायात, कोसेली आदिको सूची तयार गरेर त्यही अनुसार बजेट तयार गर्दा अनावश्यक खर्चबाट जोगिन सकिन्छ ।
- यसरी बजेट तयार गर्दा अति आवश्यक चिजलाई प्राथमिकतामा राख्नुपर्छ ।
- सामान्य एवं कम महत्त्वका सामग्रीलाई सूचीवाट हटाएर फजुल खर्चबाट जोगिन सकिन्छ ।
- बजेट तयार गर्दा आफ्नो आम्दानीलाई आधार बनाउनु बुद्धिमता हुन्छ ।
- दक्षिणा एवं पूजाआजाका लागि चाहिने खुद्रा पैसा समयमै जोहो गर्नुपर्छ ।