संयोगले प्राकृतिक स्रोत तथा जलवायु विशेषज्ञ कार्की यो क्षेत्रमा नआएको भए गोठालो बन्थें कि भन्ने सोच्छन् । सिन्धुलीको मजुवास्थित नागिलेकमा जन्मिएका कार्कीको बाल्यकाल नै संघर्षमय थियो । त्यो जिल्लाकै एकदम विकट क्षेत्र मानिन्छ । एसएलसीसम्म पुग्दा उनले सर्लाही र रौतहट जिल्लाका स्कुल पनि चहारे । गौरस्थित श्री ३ जुद्ध उच्च माध्यमिक विद्यालयमा पढ्दा माधवकुमार नेपालका बुबा मंगलकुमार नेपालले पढाएको सम्झना उनमा अझै ताजै छ । त्यही स्कुलबाट ०२७ सालमा पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका कार्की त्यसपछिको अध्ययनका लागि त्रिचन्द्र क्याम्पसमा भर्ना भए । त्यसै क्रममा उनलाई छात्रवृत्ति पाएर भारत जाने मौका मिल्यो । पञ्जाब विश्वविद्यालयबाट उनले आईएस्सी र बीएस्सी स्तरको अध्ययन पूरा गरे । फर्केर दोलखाको जिरीस्थित क्षमावती माविमा एक वर्ष विज्ञान, अंग्रेजी र कृषि पढाए ।
कार्कीले सरकारी जागिरको अनुभव पनि बटुले, तर छोटो समयमै उनमा सरकारी जागिरप्रति वितृष्णा पैदा भयो । सहायक कृषि अधिकृतका रूपमा उनले जम्मा ४ महिना मात्र जागिर खाए । 'आफूले सिकेको ज्ञान र कर्मचारीतन्त्रबीच कुनै तालमेल नमिलेजस्तो लाग्यो ।' कार्कीले प्रस्ट्याए, 'ज्ञानको मूल्यभन्दा चाकरी गर्नेको बढी मान्यता हुन्थ्यो, त्यसैले मलाई चित्त बुझेन ।' सरकारी जागिरबाट बिदा लिएपछि उनले भारतप्रसाद धितालले सुरु गरेको कृषि आयोजना सेवा केन्द्रमा कृषि विशेषज्ञका रूपमा काम थाले । खुला प्रतिस्पर्धाबाट छानिएका कार्कीको जिम्मेवारी विभिन्न ठाउँ घुमेर कृषिसम्बन्धी योजना बनाउनु थियो । कृषि आयोजना सेवा केन्द्रले त्यसको प्रतिवेदन सरकारलाई बुझाउँथ्यो । यसै क्रममा नेपालका ६० वटा जिल्ला घुमेका कार्कीले नेपालको भौगोलिक अवस्था, भूबनोट आदिका सम्बन्धमा बुझ्ने अवसर प्राप्त गरे । विकट गाउँका बासिन्दाहरूको अवस्था बुझे । महाकालीका केही जिल्ला घुम्दा ६० रुपैयाँमा खसी किनेको कुरा सम्झँदा उनलाई अहिले पनि अचम्म लाग्छ ।
शिक्षा मन्त्रालयको छात्रवृत्ति पाएर अमेरिका हान्निएका कार्कीले कोलोराडो विश्वविद्यालयबाट प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरे । मिसिगन विश्वविद्यालयबाट वन विज्ञानमा विद्यावारिधि हासिल गरेपछि उनलाई विदेशमै बस्न मन लागेन, त्यसैले उनी नेपाल फर्किए । कार्कीले पोखरामा वन विज्ञान क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा १३ वर्ष अनुभव बटुले । आफूलाई कहिल्यै फुर्सदमा राखेनन्, कुनै न कुनै रूपमा व्यस्त भैरहे । केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईडीआरसी, आईएनबीआर, इसिमोड, आइसेटमा काम गरिसकेका कार्की हाल आईयूसीएनका दक्षिण एसिया क्षेत्रीय प्रमुख छन् । उनको धेरैजसो समय ल्यापटप र कम्प्युटरमा बित्छ । प्रायःजसो लेख्ने र पढ्ने काम पनि कम्प्युटरमै हुन्छ । दार्शनिक पुस्तक एवं चर्चित व्यक्तित्वका आत्मवृत्तान्तले उनलाई आकषिर्त गर्छन् ।
कार्कीले ५० देश घुमेका छन् । स्वदेशमा उनले घुमेका जिल्लाको संख्या ६५ छ । कार्की विदेशभन्दा पनि स्वदेश नै घुम्न मन पराउँछन् । कार्की डेल र एसर ब्रान्डका ल्यापटप प्रयोग गर्छन् । बिजुलीबाट चल्ने धूवाँरहित गाडीमा हुइँकिन्छन् । सुजुकीको वेगनआर ब्रान्डको उक्त गाडी कार्कीले ५ लाख रुपैयाँमा खरिद गरेका हुन् । उनलाई यो गाडी हाँक्न र पार्किङ गर्न एकदमै सजिलो लाग्छ । कार्की नेपाली र अंग्रेजी भाषाका अतिरिक्त उर्दू, हिन्दी, पञ्जाबी, भोजपुरी, मैथिली तथा अंग्रेजी भाषा राम्रोसँग बोल्न सक्छन् भने नेपाली लोकगीत सुन्न विशेष चाख राख्छन् । मन लागेका गीतहरू इन्टरनेटमा खोजीखोजी सुन्ने उनको बानी छ । गाडीमा सवार हँुदा र हवाईजहाजको लामो यात्रामा उनको कानमा सांगीतिक धुनहरू गुन्जन्छन् । 'मौलिक गीतहरू सुन्न मन पराउँछु,' कार्कीले भने । सर्ट, पाइन्ट र टिसर्टमा सजिने कार्की लुगा किन्न प्रायः भाटभटेनी सुपरमार्केट पुग्छन् । विदेश घुम्न गएका बेला उनलाई सपिङ गर्न मन लाग्दैन । जे किने पनि नेपालमै किन्न मन लाग्छ । स्वदेशको पैसा विदेशमा खर्चिएको उनलाई त्यति मन पर्दैन ।
कार्कीलाई आफू जन्मिएको ठाउँ र पढेको स्कुलमा केही योगदान गर्न मन छ । सिन्धुलीको मजुवा जहाँ उनले कख सिके, त्यही ठाउँमा पुस्तकालय बनाउने इच्छा छ । उनलाई जीवन एकदम छोटो लाग्दैछ । गर्नुपर्ने कामहरूको सूची भने लामै छ । 'जीवनको बाँकी समय सदुपयोग गर्दै अझै सक्रिय हुन मन छ ।' छुट्टिने बेला कार्कीले भने ।