वाल्टनका स्मार्टफोन
बंगलादेशमा निर्मित वाल्टन ब्रान्डका तीन नयाँ स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । अहिले प्रिमो वालप्याड एम, प्रिमो एस थ्री, प्रिमो इ थ्री बजारमा उपलब्ध छ । रिडा इन्कर्पाेरेटेडले ल्याएका यी फोनहरूमध्ये वालप्याड एमको मूल्य २४ हजार ९ सय ९० रुपैयाँ छ । त्यस्तै प्रिमो एस थ्रीको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ पर्छ । अर्काे प्रिमो ई थ्रीको मूल्य ८ हजार ९ सय ९० रुपैयाँ छ । यी एन्डोइड फोनहरू किटक्याट भर्सनमा अपडेट हुन्छन् । ६ देखि ८ मेगा पिक्सेलका क्यामेरा जडित यी फोनमा ४२०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
टचकनको एम ८०० तथा एम ५०६ स्मार्टफोन
टचकनका यी दुई फोनमा ५ इन्चको डिस्प्ले छ । एम ८०० एन्डोइड ४.४.२ किटक्याट भर्सनमा अपडेट हुन्छ । अक्टाको र १ दशमलव ७ गिगाहर्ज सीपीयूले युक्त यो फोनमा २ जीवी र्याम तथा ६४ जीबी माइक्रो एसडी कार्ड छ । ५ एमपी फ्रन्ट क्यामेराजडित यो फोनमा १३ एमपीको सेकेन्डरी क्यामेरा छ । यसमा २८०० एमएएच क्षमताको ब्याट्री छ । यसको मूल्य २७ हजार
रुपैयाँ पर्छ ।
त्यस्तै टचकनकै एम ५०६ स्मार्टफोन एन्डोइड ४.४.२ किटक्याट भर्सनमा अपडेट हुन्छ । क्वाडकोर १.३ गिगाहर्ज सीपीयूले युक्त यो फोनमा १ जीवी र्याम, ५ एमपी फ्रन्ट क्यामेरा तथा १३ एमपी सेकेन्डरी क्यामेरा छ । २२०० एमएएच क्षमताको ब्याट्री जडित यो फोनको मूल्य १७ हजार रुपैयाँ पर्छ ।
क्लियर डिजिटल टिभी
क्लियर डिजिटल टिभी असोज ९ गते घटस्थापनाका दिन नेपाली बजारमा भित्रिएको हो । सुविसु केवल नेटले आयात गरेको यो टिभीमा ७५ भन्दा बढी च्यानल हेर्न सकिन्छ । यसमा एनालग टिभी सेवालाई डिजिटल सिग्नलमा परिवर्तन गरी सेवा प्राप्त गर्न सकिन्छ ।
प्रेस्टिजियो मल्टिफोन ५०४४ डुयो
सागर ग्रुपले भित्र्याएको ५ इन्चको यो फोन १ सय ३० ग्रामको छ । १ जीवी र्याम भएको यो फोनमा ४ जीवीको इन्टरनल मेमोरी छ, जसलाई ३२ जीवीसम्म विस्तार गर्न सकिन्छ । यो फोनमा १ दशमलव २ गिगाहर्जको कोरटेक्स ए ७ प्रोसेसर छ । यसमा ८ मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ । एन्ड्रोइड ४ दशमलव २ जेलिविन अपरेटिङ सिस्टममा चल्ने यो फोनमा २००० एमएएच क्षमताको ब्याट्री छ भने यसको बजार मूल्य करिब ३५ हजार रुपैयाँ पर्छ ।
कलर्स एक्स टी ७५१
टेलिटकले नेपाली बजारमा भित्र्याएको कलर्स ब्रान्डका एक्स टी ७५१ तथा ७२१ आकर्षक मोडलमा उपलब्ध हुन्छन् । ७ इन्च डिस्प्ले भएको नेटबुक एक्स टी ७५१ मा आइसीएस एचडी स्क्रिन छ । १ दशमलव २ गिगाहर्ज क्वाडकोर प्रोसेसरले युक्त यो फोन ४ दशमलव ४ एन्ड्रोइड ओएस किटक्याट भर्सनमा अपडेट हुन्छ । यसले टुजी र थ्रीजी दुवै सिम सपोर्ट गर्छ । यसमा १ जीवी र्याम छ । २ मेगापिक्सेलको प्राइमरी र सेकेन्डरी क्यामेरा जडित यो फोनमा ३५०० एमएएच क्षमताको ब्याट्री छ । यसको बजार मूल्य १७ हजार रुपैयाँ पर्छ ।
एप्स : एनलोकेट
कतै जानुपरेको छ, तर त्यहाँका बारेमा सबै जानकारी छैन भने एनलोकेट नामक एप्सले निकै सहयोग पुर्याउन सक्छ । सहरमा भएका बैंक र तिनका शाखा, अटोमोबाइल कम्पनीका शोरुम, पेट्रोल पम्प, सिनेमा हल, एम्बुलेन्स, कफी सप, कलेज, विदेशी दूतावास, अस्पताल, होटल, पार्टी प्यालेस के चाहियो ? रेस्टुराँ वा रिसोर्ट चाहियो कि ? यी सबै जानकारी यसबाट प्राप्त गर्न सकिन्छ । यसका लागि स्मार्टफोनमा एनलोकेट एप्स डाउनलोड गरे पुग्छ ।
यी सबैका कारण एनलोकेटले बिजनेस डाइरेक्टरीका रूपमा पनि पहिचान कायम गरेको छ । यसमा बिजनेस हाउसहरूले आफ्ना बारेमा विभिन्न जानकारी राखेका हुन्छन् । उनीहरूलाई त्यसका लागि लगइन गर्ने सुविधा उपलब्ध हुन्छ । त्यसैले यो एउटा बिज्ञापन गर्ने थलो पनि बनेको छ ।
कम्प्युटर इञ्जिनियरिङका विद्यार्थी दिपेन चापागाईंले एनलोकेट एप्सको विकास गरेका हुन् । राजधानीको कुनै पार्टी प्यालेसमा वैवाहिक समारोहमा जाने क्रममा तोकिएको गन्तव्य नभेटेपछि उनमा यस्तो एप्स बनाउन पाए हुन्थ्यो भन्ने आइडिया फुरेको थियो । दिपेनले रिचन श्रेष्ठसँग मिलेर निर्माण गरेको उक्त एप्सले गत बर्ष नेपालमै पहिलो पटक भएको मोबाइल एप्स डेभलप प्रतिस्पर्धामा युटिलिटिज एन्ड इन्टरटेनमेन्ट समूहमा प्रथम स्थान हासिल गरेको थियो । त्यसबापत उक्त एप्सले ४ हजार डलर पुरस्कार पाएको थियो ।
अब दसैंअघि नै यसको अपडेटेड भर्सन ल्याउने योजना रहेको उक्त एप्सका हालका सञ्चालक मनोज घिमिरेले जानकारी दिए । यसमा मनोज घिमिरे, तुलसीराम गौतम, आयुष श्रेष्ठ, निवेश श्रेष्ठ तथा नारायण कँडेलको समूह लागिपरेको छ । अब प्रयोगकर्ताले आफ्नो वरिपरिको लोकेसनका साथमा त्यसका बारेमा आवश्यक जानकारी पनि पाउनेछन् । यो एप्सबाट कुनै सिनेमा हलमा कुन र कस्तो चलचित्र लागेको छ, रेस्टुराँको मेनु, बैंकको ऋण एवं त्यसका लागि आवश्यक प्रक्रिया आदिका बारेमा जानकारीसमेत प्राप्त गर्न सकिनेछ ।
बोल्ने सफ्टवेयरले दृष्टिविहीनलाई इन्टरनेटमा सहज
पोखरा- 'दाइ सञ्चै हुनुहुन्छ' भनेर साथी आदित्य बन्जाडेले दुबईदेखि फेसबुक च्याटबाट म्यासेज गरेपछि दृष्टिविहीन श्याम परियारले खुसी हुँदै जवाफ लेखे, 'आरामै छु भाइ ।' दृष्टिविहीनहरूका लागि मोबाइलबाट चलाउन मिल्ने 'टक्स' (बोल्ने सफ्टवेयर) ले इन्टरनेट चलाउन यसरी सहज बनाइदिएको छ ।
केही वर्षअघिसम्म अपाङ्गता नभएका धेरैले साथीहरूले यस्तो स्टाटस लेखे र वर्षौंपछि फेसबुकमा साथी भेटियो भन्ने सुन्दा उनी कहिले यस्तो सुविधा लिन पाइएला भनेर सोच्थे । दुई महिना अघिदेखि मोबाइलबाट इन्टरनेट र सामाजिक सञ्जालमा पहुँच बनाएका परियारले भने, 'अहिले छिनछिनमा समाजिक सञ्जालमा अपडेट हुन पाइएको छ ।'
कम्प्युटरबाट 'जज' (पढेर सुन्ने) सफ्टवेयर चलाउँदै आएका दृष्टिविहीनहरूले केही वर्षयता मोबाइलबाट पनि यस्तो सुविधा लिन थालेका हुन् । मोबाइल साथमा लिएर हिँड्ने भएकाले यो प्रविधि अझ सहज भएको परियार बताउँछन् । यो सफ्टवेयर अंग्रेजी, हिन्दी आदि भाषामा बने पनि यसमा नेपाली भाषा प्रयोग हुँदैन । हेम गौतमले कम्प्युटरमा मात्र प्रयोग गर्न सकिने नेपालीमा बोल्ने सफ्टवेयर बनाएका छन् ।
कसैले म्यासेज पठायो, को-को अनलाइन छन्, स्टाटसमा लेखिएका कुरालगायत सबै सफ्टवेयरले बोलिदिन्छ । बोली सुनेरै सामाजिक सञ्जालको उपयोग गर्न सकिन्छ । देख्ने मान्छेले जसरी इमेल, इन्टरनेटमा पहुँच बनाइरहेका छन् त्यसरी नै मोबाइलले बोलेको सुनेर उनीहरूले ती सञ्जाल उपभोग गर्दैछन् । दृष्टिविहीनहरूको प्रविधिमा पोख्त र अगुवा मानिने खोमराज शर्माले प्रविधिको विकासले अध्ययन र सूचनामा समेत आफूहरूलाई सजिलो बनाएको बताए । 'हीनताबोध हटेर आत्मविश्वास बढेको छ,' उनले भने, 'मोबाइलमा बोल्ने सफ्टवेयरले छिन-छिनमा दुनियाँको खबरसँग नजिक बनाइदियो ।' भारतमा प्रविधिसम्बन्धी अध्ययन गरेर आएका शर्माले आफूजस्तै अपाङ्गता भएकाहरूलाई प्रविधि प्रयोग गर्न सिकाए ।
बजारमा आएका प्रविधियुक्त मोबाइल सेटमा सफ्टवेयर नराखे पनि हुन्छ, तर पुराना मोबाइलहरूमा भने स्टल गरेर राख्नुपर्छ । नेत्रहीन संघ जिल्ला समितिका सचिव श्रीकान्त सापकोटाले एक वर्षदेखि मोबाइलमा यो प्रविधिको उपभोग गरेर इन्टनरेटको सुविधा उपभोग गरिरहेका छन् । 'नेपालीसँग मिल्दो भएकाले हिन्दी सफ्टवेयरबाट काम चलाउँदै आएको छु,' सापकोटाले भने, 'यो सुविधाले दिन कटाउन पनि सजिलो भएको छ ।' उनले नेपाली सफ्टवेयर निर्माण भएको खण्डमा अझ सहज हुने बताए ।
- शिव शर्मा
अब नेपाली भाषामा पनि डोमेन
अब नेपाली भाषामा पनि डोमेन नेम बनाउन सकिने छ । अहिले सम्म डटकम, डट ओआरजी, डटएनपी आदि नाम राखी अंग्रेजी भाषामा मात्र डोमेन नेम राख्न सकिन्छ । भारतीय सरकारको पहलमा नेसनल इन्टरनेट एक्सचेन्ज अफ इन्डिया (निक्सी), ल्याङग्वेज टेक्नोलोजी ग्रुप सी-ड्याक तथा डटइन रजिस्ट्रीको सहयोगमा यो सेवा उपलब्ध गराइनेछ । अहिले चीन र युरोपका केही देशले मात्र आफ्नै भाषामा इन्टरनेट डोमेन नेम राख्न सक्छन् । अब भारत पनि त्यस्ता देशको समूहमा सामेल भएको छ । यसका कारण डट भारत भनेर हिन्दीमा समेत डोमेन नेम राख्न सकिनेछ । हिन्दी देवनागरी लिपिमा रहेको र नेपालीसमेत त्यही लिपिमा भएकाले नेपाली भाषामा पनि डोमेन नेम राख्न सम्भव भएको हो । यद्यपि यो सेवा नेपालमै उपलब्ध हुने भने होइन । देवनागरी लिपिमा हिन्दीसहित बोडो, डोगरी, कोंकणी, मैथिली, मराठी, नेपाली तथा सिंधी गरी ८ भाषा भएकाले ती सबै भाषामा डोमेन नेम राख्न सकिनेछ ।
प्रत्येक वेबसाइटको आइपी एड्रेस र डोमेन नेम हुन्छ । इन्टरनेटमा उपलब्ध करोडौं कम्प्युटरमध्ये कुनै एउटा कम्प्युटरमा उपलब्ध वेबसाइटसम्म पुग्न सबै सर्भरलाई अंकसहितको एउटा ठेगाना उपलब्ध गराइन्छ, त्यसलाई आईपी एड्रेस भनिन्छ । नम्बर सम्झिन गाह्रो हुने भएकाले वेबसाइटलाई डोमेन नेम दिइन्छ । सन् १९८३ देखि डोमेन नेमको प्रयोग प्रारम्भ भएको हो । यसको श्रेय कम्प्युटर वैज्ञानिक जाँन पोस्टल तथा पल मोकापेटि्रसलाई जान्छ, जसले डोमेन नेमको सिस्टम डिजाइन गरेका थिए । ती डोमेन नेम इन्टरनेट कर्पोरेसन अफ एसाइन्ड नेम्स एन्ड नम्बर्स अर्थात् आइक्यानमा दर्ता हुन्छन् र तिनको प्रयोगका बारेमा आइक्यानले अनुगमन गरिरहेको हुन्छ । विश्वभरका सबै डोमेन नेम आइक्यानमा दर्ता हुनुपर्छ र उसको नियम पालना गर्नुपर्छ ।
नेपाली बजार : पोस मेसिन
अहिले सबै कार्य अनलाइन रूपमा हुन थालेको छ । मोबाइल, बत्ती तथा डिस होमको बिल तिर्नदेखि लिएर मनी ट्रान्सफर गर्न समेत अनलाइन रूपमै सकिन्छ । पछिल्लो समयमा नेपाल टेलिकम र एनसेलको रिचार्ज पनि अनलाइन रूपमै गर्नेहरू बढिरहेका छन् । यी सबैका लागि एउटा मेसिनको आवश्यकता पर्छ । व्यवसायीहरूले यही मेसिन प्रयोग गरी यी सबै कार्य गर्छन् ।
यसै सन्दर्भमा अलाइन्स म्यानेजमेन्ट सर्भिस लिमिटेडले नेपाली बजारमा पोस मेसिन उपलब्ध गराएको छ । पेप्वाइन्टको सफ्टवेयर प्रयोग गरिएको यो पोस मेसिनमार्फत एमपोस सिस्टमअन्तर्गत विभिन्न कार्य सम्पन्न गर्न सकिन्छ । मोबाइलको बिल तिर्ने र यस्तै विभिन्न कार्य गरिने सिस्टम नै एमपोस सिस्टम हो । यसको सहयोगले एउटै स्थानबाट एउटै समयमा विभिन्न सेवा प्रदान गरी सुरक्षित रूपमा आफ्नो आम्दानी बढाउन सकिन्छ । यो मेसिन खासगरी व्यापारीहरूले प्रयोग गर्न सक्छन् । हेर्दा मोबाइल सेटजस्तो देखिने यो मेसिनको माथिल्लो भागमा रिडिङ गर्न सकिने डिस्प्ले हुन्छ । यसमा पेमेन्ट रसिद समेत प्रिन्ट गर्न सकिन्छ । जिपिआरएस सिस्टमबाट सञ्चालित यो मेसिन हाल लोकप्रिय हुने क्रममा छ ।
क्यास्परस्की एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी-२०१५
क्यास्परस्की एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी-२०१५ बजारमा आएको छ । सागर ग्रुपले उपलब्ध गराउने यो एन्टिभाइरसको क्यास्परस्कीको पछिल्लो संस्करण हो । यसमा विशेष सुविधाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा वाईफाई सेक्युरिटी नोटिफिकेशन, वेबक्याम प्रोटेक्सन, सिष्टम वाचर, इन्टरनेट चार्जको न्यूनीकरणजस्ता सुविधा उपलब्ध छन् । त्यसका साथै यो एन्टिभाइरसमा सेफ मनी, एन्टी फिसिङ प्रोटेक्सनजस्ता सुविधा पनि छन् ।