साप्ताहिक संवाददाता
गत वर्षको एउटा घटना, सिंगापुरमा चलचित्र 'माई प्रमिस'को छायांकन भैरहेको थियो । समुन्द्री किनारमा साँझपख लाग्ने खानेकुराका स्टलहरू सामून्ने एउटा दृश्य खिचिँदै थियो, निकै रमाइलो वातावरण थियो । मानिसहरू स्टल अगाडि राखिएको टेबलमा बसेर खानेकुराहरूको आनन्द लिइरहेका थिए । मेेरो दृश्य खिचिएपछि म पनि एउटा टेबलमा बसेर जुस पिइरहेकी थिएँ । मेंरो छेउको टेबलमा रहेका मानिसहरू उठेर गए । उनीहरू निकै पर पुगिसकेका थिए, मेरो ध्यान मेचमा रहेको एउटा वालेटमा गयो । मैले त्यो वालेट लिएँ र खोलेर हेरें । पर्स खोलेपछि त म तर्सिएँ । निकै सिंगापुर डलर थियो त्यसमा । मैले निकालेँ र गने । उक्त रकम नेपालीमा कन्भर्ट गर्दा २ लाखभन्दा बढी हुन्थ्यो । म त त्यति धेरै रकम देखेर नर्भस भएँ अनि उक्त कुरा निर्देशक सुरज सुब्बा नाल्बोसँग सेयर गरेँ । उहाँले एउटा राम्रो सुझाव दिनुभयो । उक्त रकम जसको हो, उसले खोजिरहेको हुनसक्छ । ऊ त्यति धेरै रकम हराएकोमा चिन्ताले पिरोलिएको पनि थियो होला । फेरि सिंगापुरमा लस्ट एन्ड फाउन्डको सिस्टम पनि त छ । फेरि जहाँ पनि सिसिटिभी हुन्छ । त्यो भन्दा पनि अर्काको धनको लोभ गरियो भने त्यसले मलाई आजीवन पिरोलिरहन्थ्यो । अन्ततः मैले सुरज दाइसँग गएर प्रहरी कार्यालय पुगेर उक्त पर्स बुझाइदिएँ । त्यसपछि मात्र मेरो मन प्रसन्न भयो ।