स्कुटरमा नृत्य
सवारी साधन चलाउँदा प्रायः सबैमा केही न केही गरिरहने बानी हुन्छ । कसैलाई गीत गुनगुनाउन मन लाग्छ, कोही दायाँ-बायाँ हेर्दै ड्राइभ गर्न मन पराउँछन् । म भने स्कुटरमा यात्रा गरिरहेका बेला एयरफोनबाट गीत सुन्दै गीतकै तालमा हल्लिन रुचाउँछु । स्कुटरमै कम्मर मर्काएको देखेपछि मानिसहरू ट्वाल्ल परेर हेर्छन् । ट्राफिक सिग्नलमा रातो बत्ती बल्यो भने मेरो शरीर पनि रोकिन्छ, स्कुटर अघि बढ्नेबित्तिकै म पुनः आफ्नै पारामा नाचिरहन्छु ।
भान्सामा नृत्य
हुन त म हास्यकलाकारका रूपमा चिनिन्छु तर म कुशल नृत्यांगना पनि हुँ । नृत्य मेरो सौख पनि हो । स्कुटरमा मात्र होइन, भान्सामा खाना पकाउँदासमेत म नाचिरहेकी हुन्छ । भान्साको नृत्य भने केही गम्भीर हुन्छ । म खाना पकाउने क्रममा नृत्यका नयाँ-नयाँ स्टेप कम्पोज गरिररहेकी हुन्छु । भान्सामा अलि बढी नै नाच्ने क्रममा धेरै पटक तरकारीमा नुन हाल्न बिर्सिएकी पनि छु अनि कहिलेकाहीं दोहोर्याएर नुन हाल्दा चर्को भएर खानै नहुनेसमेत भएको छ ।
कवयित्री
म कविता लेख्छु । मैले बाल्यकालदेखि नै कविता लेख्दै आएकी हँु । स्कुले जीवनमा मलाई साथीहरूले कवियित्रीका रूपमा चिन्थे । अहिले पनि म फुर्सद भयो वा मुड चल्यो भने कविता रच्छु । समयले साथ दियो भने मैले रचना गरेका कविताहरूको संग्रह नै निकाल्न सक्छु ?
निर्देशक
दर्शकहरूले अहिलेसम्म मलाई हास्यकलाकारका रूपमा चिन्नुभएको छ । वास्तवमा म निर्देशक पनि हुँ । मैले थुप्रै सडक नाटक निर्देशन गरिसकेकी छु । निर्देशनसम्बन्धी विधिवत् अध्ययन गरेर पछिल्ला केही वर्षयता म नाटकको निर्देशनमा पनि सक्रिय छु । भविष्यमा म आफ्नै निर्देशनमा एउटा राम्रो हास्य श्रृंखला नै निर्देशन गर्न सक्छु ।
नृत्यांगना
मेरो हास्यकलाकारितामा रमाउने दर्शकहरूलाई मेरो नृत्य कौशलका सम्बन्धमा त्यति जानकारी छैन । म हास्यकलाकार बन्नुअघि नृत्यांगनाका रूपमा सक्रिय थिएँ । मैले १५ वटाभन्दा बढी चलचित्रमा कोरस डान्सरका रूपमा नृत्य गरेकी छु । भर्खरै मात्र मैले चलचित्र 'मेरो स्कुल' मा नृत्य निर्देशनसमेत गरेकी छु ।