साप्ताहिक संवाददाता
सदावहार डेनी
सिक्किमका डेनी डेङ्जोङ्पा बलिउडमा साढे चार दशकभन्दा लामो समयदेखि सक्रिय छन् । खलनायकका रूपमा डेनीको आक्रामक भूमिका अति नै रुचाइन्छ । कतिपय चलचित्रमा उनले गरेको अभिनय बेजोड मानिएका छज् । अलग किसिमको अभिनेताका रूपमा उनलाई सम्भिmइने हिन्दी सञ्चारमाध्यमहरू बताउँछन् । दक्षिण भारतका चलचित्रमा पनि उनी उत्तिकै सफल छन् । रजनीकान्तसँगको रोबोटमा समेत उनी खलनायकको भूमिकामा थिए । पछिल्लो समयमा उनको एउटा अन्तर्वार्ता धेरै नै चर्चामा आयो, जसमा डेनीले भनेका छन्- 'म वर्षमा चार महिनामात्र मुम्बई बस्न सक्छु, यो सहरको बढ्दो प्रदूषणले म एकदमै थाकिसकेको छु ।' डेनीका अनुसार मुम्बईको प्रदूषणले दिक्क भएकाले उनी आठ महिना आफ्नो गृह राज्य सिक्किममा बस्न रुचाउँछन् । बुढेसकाल लागेसँगै उनको रुचि अध्यात्मतर्फ बढेको छ ।
डेनी घरमै बौद्ध भिक्षुको जस्तो जीवन बिताउन थालेका छन् । मदिरा व्यवसायमा ठुलो साम्राज्य खडा गरिसकेका डेनीले अबका दिनमा चित्त बुझ्दो दमदार भूमिकामा मात्र काम गर्ने बताएका छन् । नेपाली गीत समेत गाएका डेनीले नेपाली चलचित्रहरूमा समेत काम गरेका छन् ।
ज्याकलिनको फिटनेस
बलिउड नायिकाहरू फिटनेसको मामिलामा चनाखो मानिन्छन् । बलिउडमा टिक्नु छ भने पहिलो मन्त्र आफ्नो शरीरमाथिको नियन्त्रण आवश्यक छ भन्ने उनीहरूले राम्रैसँग बुझेका छन् । फिटनेसमा बढी ध्यान दिने नायिकाका रूपमा ज्याकलिन फर्नान्डिज पनि थपिएकी छिन् । नियमित जिमबाहेक उनी शरीरलाई फिट राख्न अन्य कुरामा पनि ध्यान दिन्छिन् । बिहान ७ बजे उठेर चिया पिउने र अखबार सरसर्ती हेर्ने काम सकेपछि ज्याकलिनको वर्कआउट सुरु हुन्छ । ज्याकलिन ब्रान्द्रास्थित उनको घर नजिकैको जिम सेन्टर पुगेर ट्रेडमिल, वेट्स र स्क्याबेट्समा सहभागी हुन्छिन् । जिमका अतिरिक्त उनी योग पनि गर्छिन् । हरेक दिन नृत्यको अभ्यास पनि गर्छिन् । ज्याकलिन भन्छिन्- ँम सूर्य नमस्कार मात्र होइन, अरु नयाँ-नयाँ अभ्यास पनि सिकिरहेकी छु ।’ उनी शिल्पा शेठ्ठी र विपाशा बसुको फिटनेस डिभिडी पनि हेर्ने गरेको बताउँछिन् । माधुरी दीक्षितझैं नाचेर पनि शरीरलाई फिट राख्ने ज्याकलिन पैदल गर्न यात्रा पनि उत्तिकै रुचाउँछिन् ।
श्रुति हसनको सफल यात्रा
अभिनेत्री श्रुति हसनले यो वर्ष पर्याप्त सफलता पाइन् । उनका अनुसार यो वर्ष उनका चलचित्र, यात्राहरू र भेट भएका सबै व्यक्तिको आधारमा यो वर्ष सफल भएको हो । करिअर ओरिएन्टेड युवतीका नाताले यो वर्षका उपलब्धि मेरा लागि महत्त्वपुर्ण रहे, श्रुतिले भनेकी छिन्- 'यो वर्ष मेरा निम्ति अद्भुत रहयो, काम, व्यक्तिहरू, विभिन्न स्थान र मैले पाएको शिक्षा र अनुभव जुन थियो, त्यो वास्तवमै सुपर डुपर थियो । श्रुतिले हालै मात्र तमिल चलचित्र पुजायको डबिङ सकिन् । त्यही क्रममा उनले टि्वट गरिन्-चलचित्रमा अभिनय गर्नुका अतिरिक्त डबिङ गर्नु पनि मेरो रुचिको काम हो ।'