नेपालमा सरकारी क्षेत्रबाट आइटीको विकास यथोचित हुन नसकेको भए पनि केही निजी कम्पनीले यस क्षेत्रमा राम्रो प्रगति गरिरहेका छन् र देशमा भित्रिएका आइटी तथा सफ्टवेयर कम्पनीहरूले दक्ष जनशक्ति उत्पादन एवं खपतमा योगदान पुर्याइरहेका छन्। इन्टरनेट सेवाप्रदायकहरूको वृद्धिसँगै आइटी अध्ययन गरेका विद्यार्थीहरूका लागि रोजगारीका अवसर फराकिला भैरहेका छन्। सरकारी तथा गैरसरकारी क्षेत्रमा टेलिफोन सेवाप्रदायक एवं उनीहरूले प्रदान गर्ने इन्टरनेट सेवाको वृद्धिसँगै सूचना-प्रविधि विज्ञहरूले हात बाँधेर बस्नुपर्ने अवस्था छैन। त्यस्तै विभिन्न बैंक तथा सञ्चार माध्यमहरूमा समेत सूचना-प्रविधि विज्ञहरूले रोजगारी पाइरहेका छन्। घरमै बसेर कुनै पनि संस्थाको वेबसाइट निर्माण, मर्मत तथा सफ्टवेयर निर्माण र निर्यातजस्तो आउटसोर्सिङमा संलग्न सूचनाप्रविधि विज्ञहरूले पनि राम्रै आम्दानी गर्न सक्छन्। राम्रो वेब डिजाइनर वा सफ्टवेयर डेभलपर घरमै बसीबसी राम्रो आम्दानी गर्न सक्षम हुन्छन्।
आइटी शिक्षा प्रयोगात्मक एवं व्यावहारिक शिक्षा भएकाले यसमा रोजगारीको अवसर प्राप्त गर्न गाह्रो छैन, तर पनि प्राविधिक शिक्षामा पोख्त र सिर्जनशील भने हुनैपर्छ। पछिल्लो समय युवाहरू कम्प्युटर इन्जिनियरिङ, इन्र्फमेसन टेक्नोलोजी, बीसीएजस्ता विषयमा आकषिर्त हुँदै गएका छन् र यसरी औपचारिक शिक्षामा दक्षता हासिल गरेका विद्यार्थीहरूले देशमा मात्र नभएर विदेशमा समेत अवसर पाइरहेका छन्।
आइटी पढ्ने कसरी?
सूचना-प्रविधिजस्ता प्राविधिक विषयमा विभिन्न सरकारी तथा निजी कलेजहरूले निश्चित कोटा छुट्टयाएका हुन्छन्। त्यसैले आइटीमा उच्च शिक्षा अध्ययनका लागि धेरै कलेजमा प्रवेश परीक्षा उत्तीर्ण गर्नु आवश्यक हुन्छ। प्लस टुमा भने अहिले देशभरका झन्डै अढाई सय कलेजले कम्प्युटर साइन्स पढाइरहेका छन् र प्लस टुको यो अध्ययन आइटी अध्ययनको पहिलो खुड्किलो मानिन्छ। अहिले त्रिभुवन, काठमाण्डु, पोखरा तथा पूर्वाञ्चल विश्वविद्यालयका ३ दर्जनभन्दा बढी क्याम्पसमा स्नातक तहको सूचना-प्रविधि शिक्षा अध्यापन हुने गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत बिआइटी, बिइआइटी तथा बिसिएजस्ता विषय अध्यापन हुन्छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिई आइटी, बिएस्सी आइटी, मोबाइल इन्जिनियरिङ, बीआइएम, बिई कम्प्युटर, बिइ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन आदि कार्यक्रम सञ्चालनमा छन्। पोखरा विश्वविद्यालयअन्तर्गत बिइआइटी, सफ्टवेयर इन्जिनियरिङ, बिसिए, बिसिआइएस आदि विषय अध्यापन भैरहेको छ। पोखरा विश्वविद्यालयअन्तर्गतका एपेक्स, नोबेल, पोखरा इन्जिनियरिङ आदि कलेजमा चारवर्षे आइटी पढ्न साढे ४ लाखको हाराहारीमा शुल्क लाग्छ। आइटी अध्ययनका लागि विषय हेरेर शुल्क कम वा बढी हुने भए पनि सामान्यतया अध्ययन पूरा गर्न २ लाखभन्दा बढी खर्च हुन्छ। विभिन्न इन्स्िटच्युटहरूले पनि वेबसाइट डेभलपमेन्ट, नेटवर्किङ, प्रोगामिङ, ओराकल, जाभा, पिएचपीजस्ता विषय अध्यापन गराउने गरेका छन्।
कलेजमा औपचारिक अध्ययन गरे पनि वा कुनै प्राविधिक विषय वा तालिम प्रदान गर्ने संस्थाहरूमा पढे पनि दक्षता हासिल गर्ने हो भने आइटीमा राम्रो अवसर र सम्भावना छ, तर त्यसका लागि खर्चको व्यवस्थापन, आफ्नो रुचि र काम गर्न सक्ने विषय छनोट एवं राम्रो कलेज वा शिक्षण संस्थाको छनौटमा बेलैमा ध्यान पुर्याउनु आवश्यक हुन्छ।