चित्रकार
दर्शक तथा स्राेताले मलाई गायिकाका रूपमा मात्र चिन्नु भएको छ । स्टेजमा नृत्य गर्दै गीत गाउने भएकाले म राम्रो नृत्य गर्न सक्ने गायिकाका रूपमा पनि चिनिन्छु । गायन र नृत्यबाहेक म अर्को एउटा कलामा पनि निपूर्ण छु भन्ने कुरा धेरैलाई थाहा छैन । मैले बाल्यकालदेखि नै पेन्टिङ गर्दै आएकी छु । म राम्रो स्केच बनाउन सक्छु । मैले आफ्ना पेन्टिङहरूको संग्रहसमेत गरेकी छु । मलाई वाटर कलर र ब्रसको राम्रो ज्ञान नहोला तर म स्तरिय स्केच बनाउन सिपालु छु ।
भान्से
मलाई खाना पकाउन पनि रुचि छ । मैले पकाएको परिकार कतिसम्म स्वादिष्ट हुन्छ भन्ने कुरा मेरो परिवारका सदस्यलाई मात्र थाहा छ । मैले बनाएको नुडल्स र चिया सबैभन्दा मीठो हुन्छ । फुर्सद भएका बेला म अहिले पनि यी दुई कुरा बनाएर परिवारका सदस्यहरूलाई ख्वाउँछु ।
सैलुन
केश काट्न होस् अथवा फेसियल गर्न होस्, हामी युवतीहरूले महिनामा एक-दुई पटक सैलुन नपुगी हुँदैन । मैले नियमित रूपमा हेयर कट गर्ने सैलुन एउटै छ । म विगत १० वर्षदेखि लक्ष्मी पार्लरमा मात्र केश काटिरहेकी छु । भाटभटेनी सुपरमार्केटस्थित उक्त सैलुनमा केश काट्न थालेदेखि अन्यत्र जानु परेको छैन ।
जुत्ता
म जुत्ता/चप्पलका मामिलामा निकै 'चुजी' छु । म प्रायः जहिले पनि क्लोज्ड सुज अथवा स्यान्डलमात्र प्रयोग गर्छु । मैले अहिलेसम्म औंला देखिने जुत्ता/चप्पल लगाएकी छैन । क्लोज्ड सुज लगाउने बानी बसेका कारण ओपन सुजप्रति रुचि नै जागेन ।
सेतो रंग
मलाई मनपर्ने रंग सेतो हो । म प्रायः सेतो रंगका पहिरनमात्र लगाउँछु । कन्सर्टमा होस् अथवा रेकर्डिङमा, म जहिले पनि सेतो रंगका पहिरनलाई प्राथमिकता दिन्छु । मेरो पहिरनको कलेक्सनमा पनि सेतो रंगको बाहुल्यता छ ।
रिस भर्सेस नृत्य
मानिसहरू रिस नियन्त्रण गर्न अनेक उपाय अपनाउँछन् । म भने रिस नियन्त्रण गर्न ऐना अघि उभिएर नृत्य गर्छु । कसैसँग रिस उठ्यो भने म ठूलो साउन्डमा गीत बजाएर नृत्य गर्न थाल्छु । त्यसो गर्दा केही मिनेटमै मेरो रिस कन्ट्रोल हुन्छ ।