साप्ताहिक संवाददाता
भारतमा आएको हुदहुद समुद्री आँधीको प्रभावले नेपालमा पनि दसैंपछि बेमौसमको बादल लागेर मौसम नै चिसो हुने गरी पानी पर्यो, जसका कारण यहाँको पनि जनजीवन प्रभावित भयो । अचानक चिसो बढेर कामकाजीहरूलाई घरबाटै निस्कन गाह्रो पर्यो भने पानी पर्दा त झनै अप्ठेरो भयो । मैले अहिले एकपछि अर्को गरेर पाँचवटा चलचित्रमा काम गर्नुछ । बेमौसमको वर्षाले गर्दा छायांकन हुन नसकेर दुई दिनदेखि घरमै बस्नुपर्यो । यसरी समयमा काम नहुँदा अर्को चलचित्रको छायांकनसँग डेट जुध्ने डर हुन्छ । केही गरी डेट जुध्यो भने समयमा काम गर्न सकिँदैन । त्यसैले यो हुदहुदले मेरो काममा चाहिँ गडबड नगरोस् भन्ने कामना गरिरहेकी छु ।
गत वर्ष पनि जाडोको एक बिहान न्यानो घाम लागिरहेकै बेला भक्तपुर जानुपर्ने भयो । ज्याकेट अनि इयरफोन लगााएर स्कुटर हाँक्दै म भक्तपुर पुगें । एकघण्टा जतिमै अनायसै आकाशमा बादल आएर गड्याङगुडुङ गर्न थाल्यो । बेमौसममा बादल आए पनि कारण पानी चाहिँ नपर्ला भन्ने थियो । बलिउड चलचित्रमा डाइलग पनि सुनकै थिएँ 'जो गरजते है वो बरसते नहीं', तर त्यो दिन भने बादल गर्जिने मात्र होइन, मुसलधारे पानी नै पर्न थाल्यो । भिज्दै हिँड्न पनि डर लाग्यो । केहीबेर पर्खने निधो गरेँ । डेढ घण्टा कुर्दा पनि पानी रोकिएन । काठमाडौंमा दिउँसो एउटा चलचित्रको मिटिङ थियो । 'जेसुकै होस्' भनेर पानीमा रुझ्दै स्कुटर हाँकेर फर्किएँ । मिटिङ पनि भ्याएँ, तर त्यो रातनै मलाई रुघा खोकीसहित एक सय दुई डिग्री ज्वरो आयो । त्यसपछि औषधि खाँदै तीन दिनसम्म घरमै आराम गर्नु पर्यो । त्यो दिनदेखि म यस्ता बेमौसमी वर्षाबाट सजक हुन थालेकी छु र सकेसम्म नभिज्ने निधो पनि गरेकी छु ।