कुनै बेला पश्चिम नेपालको धनगढी, महेन्द्रनगरजस्ता सहरमा 'डान्सिङ स्टार' का रूपमा चिनिने राजेशनाथ यतिबेला लोकप्रिय हास्यकलाकारका रूपमा स्थापित भएका छन् । विगतमा कमेडी नृत्य गर्दै दर्शकको मन जितेका राजेशनाथले करिब एक दशकअघि हास्यश्रृंखला 'तीतो-सत्य' मा प्रस्तुत हुने अवसर पाएका थिए । सहयोगीका रूपमा उक्त श्रृंखलामा आबद्ध भएका राजेशनाथले राउटे युवकको भूमिका निर्वाह गरेपछि दर्शकहरूले उनलाई चिन्न थाले । त्यसपछि उनले 'मेरी बास्सै' मा पनि काम गर्ने अवसर पाए । केदार घिमिरे अर्थात् माग्ने बूढाको भान्जा (टुप्पी भान्जा) का रूपमा अभिनय गर्न थालेपछि उनलाई दर्शकहरूले मन पराउन थाले । उक्त भूमिकाका कारण राजेशले टुप्पी भान्जाको उपनाम नै पाए । 'मेरी बास्सै' पछि उनले 'सिस्नुपानी झ्याम्मै' शीर्षकको हास्यश्रृंखलामा मुख्य सहायक निर्देशनका साथै अभिनय पनि गरे । सोही श्रृंखलामा उनले निर्वाह गरेको मट्टारेको भूमिका प्रभावकारी थियो । विभिन्न श्रृंखलामा सहायक तथा मुख्य सहायक निर्देशकका रूपमा काम गर्दा-गर्दै उनले नेपालकै पहिलो साइलेन्स कमेडी (संवादरहित) श्रृंखला 'गुपचुप' निर्देशन गरे । नेपाल टेलिभिजनबाट प्रसारित उक्त श्रृंखलाका कारण उनी हास्यकलाकारहरूकै बीचमा उदाहरणीय सावित भए । आधा दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरेका राजेशनाथले एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । छ एकान छ, बिर्खेलाई चिन्छस्, श्री ५ अम्बरे आदि चलचित्रमा उनले प्रभावकारी भूमिका निर्वाह गरेका छन् । 'श्री ५ अम्बरे' मा सहायक निर्देशकका रूपमा समेत आवद्ध राजेशनाथ भर्खरै मात्र 'मेरी बास्सै' को सिक्किममा गरिएको छायांकनमा सहभागी भएर राजधानी फर्किएका छन् । निर्देशक सीताराम कट्टेलका सहयोगी राजेशनाथसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न :'मेरी बास्सै’ को सिक्किम प्याकेज कस्तो रह्यो ?
नयाँ लोकेसन तथा नयाँ परिवेशका कारण सिक्किम प्याकेज विशेष नै बनेको छ । निर्देशन सहयोगीका रूपमा मैले धेरै कुरा सिक्ने अवसर पाएँ । दर्शकले पनि नयाँ स्वाद पाउनुहुनेछ ।
नेपालकै पहिलो साइलेन्स कमेडी श्रृंखला बीचमै रोक्नुभयो नि ?
'गुपचुप' श्रृंखलाले कम समयमै दर्शकको मन जितेको थियो । पात्रहरूले संवाद नै नबोली दर्शकलाई हँसाउने उक्त श्रृंखलालाई विभिन्न कारणले २० भागभन्दा अघि बढाउन सकिएन । परिस्थिति मिल्यो भने भविष्यमा पुन: उक्त श्रृंखलालाई जिवित बनाउनेछु ।
आगामी योजना के-के छन् ?
सानो तथा ठूलो पर्दाका चलचित्रमा सहायक निर्देशनको कामलाई निरन्तरता दिँदै भविष्यमा सक्षम निर्देशक बन्ने लक्ष्य छ । त्यसबाहेक अभिनय कर्मलाई पनि निरन्रतता दिइरहनेछु ।