साप्ताहिक संवाददाता
टिभी फिल्मीमा ६० सेकेण्ड
गोपीकृष्ण टिभी फिल्मीले 'फिल्मी समाचार ६० सेकेन्ड' प्रारम्भ गरेको छ । यसअघि दिनको आठ पटक ३० मिनेटको समाचार बुलेटिन 'फिल्मी समाचार' प्रसारण गर्दै आएको टिभी फिल्मीले तिहारको अवसर पारि गत मंगलबारदेखि फिल्मी समाचार ६० सेकेण्डको प्रसारण प्रारम्भ गरेको हो । टेलिभिजनका समाचार प्रमुख विष्णु सुवेदीका अनुसार चलचित्रसम्बन्धी समाचारलाई सकेसम्म चाँडो दर्शकमाझ पुर्याउने उद्देश्यले यो नयाँ शैलीको समाचार प्रसारण गर्न थालिएको हो । फिल्मी समाचार ६० सेकेन्ड दिनको ३ पटक प्रसारण भैरहेको छ ।
केटिभीमा नयाँ श्रृंखला
कान्तिपुर टेलिभिजनले हिजो बिहीबारदेखि नयाँ हास्य श्रृंखला 'इर्किनी मिर्किनी' को प्रसारण प्रारम्भ गरेको छ । दृश्य दर्शन प्रोडक्सन इटहरी तथा प्रकाश ओझाको यो प्रस्तुति प्रत्येक बिहीबार राति ७:३० बजेदेखि प्रसारण हुनेछ । पूर्वाञ्चलमा रमणीय लोकेसनमा छायांकन गरिएको यो श्रृंखलाको निर्देशन प्रकाश सुब्बाले गरेका हुन् । श्रृंखलामा प्रकाश ओझा, प्रकाश सुब्बा, तीर्थ याक्सो, राजन थापा, अशेष तिमिल्सिना, अशोक सुब्बा, अर्पणा सुब्बा आदि कलाकारले अभिनय गरेका छन् ।