स्टार प्लसबाट प्रत्येक सोमबारदेखि शनिबारसम्म साँझ ७:१५ बजे प्रसारण हुँदै आएको लोकप्रिय धारावाहिक 'साथ निभाना साथीयाँ' बन्द हुने भएको छ । स्टार प्लस स्रोतले जनाएअनुसार यो धारावाहिकमा गोपी बहुको मुख्य भूमिका निर्वाह गर्ने नायिका देवोलिना भट्टाचार्यका कारण यसको प्रसारण टुंगिन लागेको हो । कात्तिकको पहिलो सातादेखि यसमा नयाँ कथा समावेश गर्न चाहन्थे तर मुख्य भूमिकामा प्रस्तुत भैरहेकी देवोलिना नयाँ कथामा काम गर्न तयार भइनन् । उनले धारावाहिकबाट विदा हुने सूचना दिइसकेकी छिन् । निमर्ाताहरूले देवोलिनाको पारिश्रमिक बढाउने निर्णय समेत गरेका थिए तर उनी आफ्नो निर्णयबाट पछि हटेकी छैनन् । अर्को एक सूत्रका अनुसार स्टार प्लसले नै यो धारावाहिकको प्रसारण टुंग्याउने निर्णय गरेको हो । आशुतोष गोवारिकरको नयाँ कार्यक्रम 'एभरेष्ट' को प्रसारणका लागि 'साथीयाँ' को प्रसारण टुंग्याउने योजना बन्न लागेको उक्त सूत्रको दाबी छ ।
वुमन अफ द इयर
गायिका टेलर स्विफ्ट बिलबोर्ड म्यागजिनका तर्फबाट प्रदान गरिने 'बिलबोर्ड वुमन अफ द इयर' को उपाधिका लागि छनौट भएकी छिन् । यो सम्मान संगीतकर्मीको लगनशीलता तथा नेतृत्वदायी भूमिकाका लागि प्रदान गरिन्छ । टेलरलाई यो सम्मान डिसेम्बर १२ का दिन न्युयोर्कमा हुने एक भव्य समारोहमा अर्पण गरिनेछ । यो सम्मानका लागि उनी दोस्रो पटक छनौट भएकी हुन् । टेलरले सात पटक ग्रामी एवार्ड जितिसकेकी छिन् ।