साप्ताहिक संवाददाता
कलाकार: सुशील क्षेत्री, जेनिशा केसी, बिरेन डिसी, उमेश खड्का, पंकज खड्का, दुर्गा सापकोटा, रमेश वाइवा तथा राज श्रेष्ठ ।
एक्सन प्रधान चलचित्र 'जोश' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । नियमित रूपमा चलचित्र निर्देशन गरिरहेका ऋषि न्यौपानेले यो चलचित्रमा केही पुरानाबाहेक अधिकांश नयाँ कलाकारलाई महत्वपूर्ण भूमिकाहरूमा प्रस्तुत गरेका छन् । सुशील क्षेत्री र जेनिशा केसीले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको यो चलचित्रमार्फत नव नायक बिरेन डिसी एक्सन नायकका रूपमा स्थापित हुने सम्भावना छ । उनले यसअघि 'बर्दी' तथा 'खतरनाक' चलचित्रमा अभिनय गरेका थिए । यो चलचित्र आफ्नो लक्ष्य प्राप्तिका लागि कुनै पनि परिस्थिति तथा समयसँग सम्झौता नगर्ने केही युवाको जोशमा आधारित छ ।
नेपाली समाजमा अझै पनि अधिकांश युवा परिस्थितिसँग सम्झौता गर्न बाध्य छन् तर चलचित्रका नायकहरूले त्यस्तो परिस्थितिसँग सम्झौता होइन त्यस्ता चुनौतीलाई परास्त गर्नुपर्छ भन्ने सन्देश दिन्छन् । जोशिला युवाहरूको बहादुरीपूर्ण यात्रा समेटिएको यो चलचित्रमा एक्सनका डरलाग्दा दृश्यहरू समावेश छन् । रवि कोइरालाले छायांकन गरेको यो चलचित्रमा प्रदीप खड्काको द्वन्द्व तथा बब्बु थापाको नृत्य निर्देशन छ ।
निर्देशक: हेमन्त मधुकर
कलाकार: बिना मलिक, विजय भाटिया, करणवीर बोहरा तथा वेदिता प्रताप सिंह ।
संगीतकार: मणि शर्मा
बलिउडमा थ्रीडी प्रविधिमा आधारित चलचित्रको संख्या बढ्दो छ । आज शुक्रबार सार्वजनिक हुने 'मुम्बई १२५ किमी' बलिउडको नयाँ थ्रीडी चलचित्र हो । हरर शैलीको यो चलचित्रले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट प्राप्त गरे । प्रसस्त यौनजन्य दृश्य समावेश गरिएकाले १८ वर्षभन्दा कम उमेरका दर्शकले यो चलचित्र हेर्न पाउने छैनन् । यो चलचित्रमा पाकिस्तानी नायिका बिना मलिक मुख्य भूमिकामा छिन् । विभिन्न कारणले विवादमा आइरहने बिनाले यो चलचित्रमा उत्तेजक भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनी बोक्सीको भूमिकामा छिन् । यो चलचित्रमा ती पाँच जना साथीको कथा चित्रण गरिएको छ जो कारमा मुम्बई गैरहेका छन् । यात्राका क्रममा स-साना घटना पनि घटिरहन्छन् तर जब मुम्बई १ सय २५ किलोमिटरको दूरीमा हुन्छ, त्यसपछि अकल्पनीय घटनाहरू घट्न थाल्छन् । केही घण्टाको अवधीमा घट्ने ती डरलाग्दा घटनाले नै यो चलचित्रलाई रोमाञ्चक बनाएको छ ।