उत्कृष्ट आधुनिक पुरुष गायन तर्फको एवार्ड गायक प्रमोद खरेलले तथा गायिकातर्फको एवार्ड माण्डवी त्रिपाठीले हात पारिन् । आधुनिक संगीतकारको एवार्ड राजकुमार बगरले तथा रचनातर्फको एवार्ड राजनराज शिवाकोटीले पाए । चलचित्र बिन्दास-२ को 'सुन्छु तिमीले...' गीतबाट चलचित्रतर्फको पुरुष गायनको एवार्ड गायक शिव परियारले प्राप्त गरे । महिला गायनको एवार्ड भने गायिका मिलन अमात्यले प्राप्त गरिन् । पुरुष पप गायनतर्फ कमल खत्री तथा महिला पप गायनतर्फ सञ्जना श्रेष्ठले एवार्ड पाए । पप गायनतर्फको संगीतकारको एवार्ड लोकेश गुरुङले पाए भने पप गायनतर्फको रचनाकारका रूपमा योगेन्द्रमणि दाहालले एवार्ड जिते । सर्वोकृष्ट पप ब्यान्डको एवार्ड भने सविन राई एन्ड द इलेक्टि्रक्सले प्राप्त गर्यो । लोकदोहोरी पुरुष गायनतर्फ पशुपति शर्माले 'चिन्ता छैन केही...' तथा महिलातर्फको एवार्ड मञ्जु पौडेलले 'धूवाँसरि ..' बाट हात पारे ।
लोकदोहोरीतर्फ सर्वोकृष्ट ट्युनको एवार्ड गायक रामजी खाँडले पाए भने लोकदोहोरीतर्फ नै सर्वोकृष्ट शब्द रचनाको एवार्ड शिरीष देवकोटाले हात पारे । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी एवं गीतकार यादव खरेललाई लाइफटाइम एचिभमेन्ट एवार्डबाट सम्मान गरियो । त्यसैगरी लोकदोहोरी गायिका मञ्जु महतलाई मरोणपरान्त सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट गजलको एवार्ड गायक आनन्द कार्कीले तथा नवप्रवेशी गायकको एवार्ड सुरज थापाले पाए भने युगल गायनको एवार्ड चलचित्र नोभेम्बर रेनको गीत 'पल भर..' बाट युवराज चौलागाई तथा रजिना रिमालले हात पारे ।
कालिका म्युजिक एवार्डमा सर्वोकृष्ट राष्ट्रिय गीतको एवार्ड गायक बबिन्द्र नेम्वाङले हात पारे भने स्थानीय गायकका रूपमा भुवन प्यासीले एवार्ड थापे । स्थानीय लोदोहोरी गायकको एवार्ड भने तीर्थ सापकोटाले पाए । कार्यक्रममा गायक प्रमोद खरेलले 'हंगामा भो..' गाएर वातावरण तताए । त्यस्तै संगीतकार वसन्त सापकोटा तथा मिलन अमात्यले चलचित्र कालीको गीत 'स्लोली..' गाएर दर्शकहरूलाई नचाए । सबैको नजरमा पर्न सफल गायक प्रेम परियारले 'यी आँखामा ..' मार्फत सबैको मन छुने काम गरे ।