'हरियो डाँडामाथि हलो जोत्ने साथी' गीतका स्रष्टा जनकविकेशरी धर्मराज थापाको मंगलबार स्वयम्भू, काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको छ । जनताको गीत गाएबापत राजा महेन्द्रबाट 'जनकविकेशरी' को उपाधि पाएका थापा जनताको गीत गाएर जनतालाई नै सुसूचित गराउने गायकका रूपमा चिनिन्थे । वि.सं. १९८१ साल साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाले प्रजातन्त्रको मिर्मिरे, प्रजातन्त्रको काफल पाक्यो बरिलै, हरियोडाँडा माथि, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन गरी सयौं गीत गाएका छन् । २०२५ सालको साहित्यतर्फको मदन पुरस्कार धर्मराज थापाको 'मालती मंगले' काव्यले प्राप्त गरेको थियो भने २०५७ सालमा गुठीले जगदम्बाश्री पुरस्कार पनि थापालाई नै प्रदान गरेको थियो ।