साप्ताहिक संवाददाता
गाईको दूध दुहुने प्रतियोगिता
गाईको दूध दुहुने पनि प्रतियोगिता हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अझ युरोपमा यस्तो प्रतियोगिता नियमित रूपमा आयोजना हुँदै आएको छ भन्दा धेरै जना छक्क पनि पर्न सक्छन् । इटालीको लिनामा सम्पन्न यस पटकको प्रतियोगितामा जियानमारियो घिरार्डीले सर्वाधिक दूध दुहेर विश्व कीर्तिमान नै कायम गरेका छन् । ३१ वर्षीय जियानमारियोले निर्धारित २ मिनेटमा ८ दशमलव ७ लिटर दूध दुहेका थिए । यसअघि सन् २०१२ मा माउरिजियो पास्चेटाले साढे ४ लिटर दूध दुहेर विश्व कीर्तिमान आफ्नो नाममा गरेका थिए । यसपटक माउरिजियोले गाईलाई धेरै दूध आउने औषधि ख्वाएर प्रतियोगितामा सहभागी गराइने हुँदा गाईको डोपिङ टेस्ट गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताव आयोजक समितिले अस्वीकार गरेपछि उनले प्रतियोगितामा भाग लिएनन्, जसका कारण यसपटकको प्रतियोगिता केही विवादित हुन पुगेको थियो ।
फेरि जुर्मुराए छात्रा
कल्याणकारी कार्यका लागि निर्वस्त्र क्यालेन्डर निकालेर चर्चामा आएका युनिभर्सिटी अफ वारविकका छात्राहरूले यो बर्ष पनि त्यस्तै प्रकृतिको क्यालेन्डर प्रकाशनलाई निरन्तरता दिने भएका छन् । म्याकमिलन क्यान्स संस्थालाई अनुसन्धानमा सहयोग पुर्याउन बेलायतस्थित वारविक युनिभर्सिटीका रोविङ खेलका छात्राहरूले वाषिर्क रूपमा क्यालेन्डर प्रकाशित गर्दै आएका छन् । तेस्रो वर्ष उक्त कार्यलाई निरन्तरता दिन उनीहरूले सन् २०१५ का लागि फोटो सुट सम्पन्न गरेका छन् । क्यालेन्डरको बिक्रीबाट आएको पैसा कल्याणकारी काममा लागोस् भनेर उनीहरूले उक्त क्यालेन्डर फेसबुकमा राख्दा फेसबुकले त्यसलाई अश्लील भन्दै आफ्नो पेजवाट ती तस्बिरहरू हटाएको थियो । उक्त घटनाले चर्चा पाएपछि उनीहरूको क्यालेन्डरको बिक्री पनि बढेको थियो । यो वर्ष उनीहरू गत वर्षभन्दा बढी निर्वस्त्र भएका छन् । उनीहरूको सामाजिक अभियानलाई सहयोग होस् भनेर अहिले देखिनै क्यालेन्डरको अर्डर आउन थालेको छ । उता छात्राहरूले यो बर्ष फेसबुकबाट क्यालेन्डरको प्रचार-प्रसार नगर्ने घोषणा गरेका छन् ।
समलिंगीद्वारा क्षतिपूर्ति माग
ओहायोका एक समलिंगी दम्पतीले शुक्रकिट बैंकविरुद्ध गलत शुक्रकिट दिइएकोमा मुद्दा दायर गरेका छन् । ओहायोका जेनिफर क्राम्बेल्ट तथा अमान्दा जिन्कोनले सहमतिमा गर्भधारण गर्न स्थानीय मिडवेष्ट स्पर्म (शुक्रकिट) बैंकमा सम्पर्क गरेका थिए । गोरो वर्णकी महिला समलिंगीलाई उक्त बैंकले दिएको शुक्रकिट प्रत्यारोपण गरेर बच्चा जन्माउँदा कालो वर्णकी बालिका जन्मिएपछि उनीहरूले उक्त मुद्दा दायर गरेका हुन् । गर्भधारणका लागि उनीहरूले गोरो वर्णको पुरुषको शुक्रकिट माग गरेकोमा बैंकले कालो वर्णका पुरुषको शुक्रकिट उपलब्ध गराएका कारण आफूहरूले साढे ४८ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ । क्राम्बेल्ट र जिन्कोन दम्पतीकी सन्तान अहिले २ वर्षको भैसकेकी छिन् । सन् २०१२ मा विवाह गरेको यो दम्पतीमध्ये जिन्कोनले आफ्नो पाठेघरमा शुक्रकिट प्रत्यारोपण गराएकी थिइन् ।