आर्थिक वर्ष ०७०/७१ मा पूर्वमा भएका विभिन्न प्रकृतिका आपराधिक घटनामा बालबालिकाहरूको संलग्नता रहने गरेको पाइएको छ । २ सय ७८ वटा आपराधिक घटनामा ४ सय ४० जना बालबालिकाको संलग्नता प्रहरीले जनाएको छ । विभिन्न प्रकृतिका आपराधिक घटनामा १८ वर्षमुनिका बालबालिकाको संलग्नता छ । हत्या, ज्यान मार्ने उद्योग, चोरी, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, केही सार्वजनिक अपराध, लागूऔषध, हातहतियार खरखजनालगायतका घटनामा बालबालिकाको संलग्नता रहने गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनामा संलग्नमध्ये बालकको संख्या बढी छ । तीमध्ये ३ सय ७७ बालक र ६२ बालिका छन् । यो संख्या ०६९/७० को भन्दा १ सय ४८ ले बढी हो । ०६९/७० मा २ सय ९२ जना बालबालिका अपराधमा संलग्न थिए । कतिपय घटनामा बालबालिका आफंै सक्रिय पाइएको छ भने कतिपयमा अन्जानमा वा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ, पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी नवराज सिलवालले भने । केही सार्वजनिक अपराधमा २ सय ४७ बालक र २१ बालिका गरेर २ सय ६८ बालबालिकाको संलग्नता छ । सिलवालका अनुसार १ वर्षको अवधिमा सार्वजनिक अपराधबाहेक कर्तव्य ज्यानमा १२, ज्यान मार्ने उद्योगमा ७, चोरीमा ३१, जबरजस्ती करणीमा ६८, जबरजस्ती करणी उद्योगमा १८, लागूऔषधमा ३५ बालक तथा हातहतियार खरखजनासमेतका अपराधमा १ जना बालबालिका संलग्न छन् । पूर्वका १६ जिल्लामध्ये तेह्रथुमबाहेक अन्य १५ जिल्लामा अपराधमा बालबालिकाको संलग्न पाइए । ताप्लेजुङ र सोलुखुम्बु १-१, मोरङमा १ सय ३१, झापामा १ सय २७, इलाममा १९, पाँचथरमा २, ताप्लेजुङमा १, सुनसरीमा १ सय ४, धनकुटामा १२, भोजपुरमा ९, संखुवासभामा ४, सप्तरीमा ९, सिरहामा ५, उदयपुरमा ५, खोटाङमा ४, ओखलढुंगामा ७ जना बालबालिका अपराधमा संलग्न रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।