त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमए पहिलो सेमेस्टर अध्ययनरत चाबहिल, काठमाडौंकी तारा दाहाल हिजोआजको फेसनेबल हेयर स्टाइल पफ नै भएको र पफ स्टाइल नै बढी मन पर्ने बताउँछिन् । केश महिलाको सौन्दर्यको अभिन्न अंग भएको बताउने दाहाल प्रायःजसो पफ उठाउने पार्टी वा विवाह समारोहमा जाँदासमेत पफ नै बनाउँछिन् ।
यसरी केशमा पफ उठाएर हिँड्ने युवतीहरूको संख्या प्रशस्तै छ । कलेज, कार्यालय, विवाह, पार्टी तथा अन्य विशेष समारोहमा होस् वा घरमै बस्दाहोस जो-कोहीले बढी रुचाउने स्टाइल नै पफ हो । के सहर, के गाउँ सबैतिर पफ उठाउने ट्रेन्ड छ । पफ बनाउँदा झन्झट बेहोर्नु नपर्ने तथा समय पनि बचत हुने भएकाले युवतीहरूमाझ यो स्टाइल लोकपि्रय भएको हो । गर्मी मौसमका लागि उपयुक्त पफ स्टाइल अहिले फेसन ट्रेन्ड बनेको हेयर डिजाइनहरू पनि बताउँछन् ।
हिजोआज चलेको पफ स्टाइलको स्रोत ६० को दशकमा देखा परेको हेयर स्टाइल नै हो । मेकअप आर्टिस्ट तथा हेयर डिजाइनर एवं प्रशिक्षक संगीता लामाका अनुसार टुइस्टिङ गर्ने, हाइपफ निकाल्ने, फ्रेन्च जुरो बनाउने र लामो केश पाल्ने जस्ता अहिले चलेका विभिन्न स्टाइलमध्ये पफ स्टाइलको ट्रेन्ड नै बढी लोकपि्रय छ । १० वर्ष अघिको छोटो केश पाल्ने ट्रेन्ड परिवर्तन भएर लामो केश पाल्ने फेसन आएसँगै पफ स्टाइल अहिले सबैको रोजाइ भएको लामा बताउँछिन् ।
हिन्दी तथा नेपाली चलचित्रका नायिकाहरूको हेयर स्टाइल नै अहिलेका युवतीहरूको छनौटमा परेको हो । पफ उठाएर मात्र विभिन्न हेयर स्टाइल बनाउन सकिने भएकाले पनि यो स्टाइल बढी प्रचलनमा आएको दमक झापास्थित न्यू मुन सेलुन एन्ड एकेडेमीका ईश्वरी श्रेष्ठ बताउँछिन् । हिजोआज उमेर पुगेका प्रायः सबै युवती पफ स्टाइलमा देखिने श्रेष्ठले बताइन् । पफ स्टाइलले नयाँ लुक्स दिने भएकाले सबैले रुचाएको श्रेष्ठको तर्क छ । हिजोआजका युवतीहरूमा अरूको सिको गर्ने फेसन बढेकाले पनि पफ स्टाइलको ट्रेन्ड बढेको श्रेष्ठ बताउँछिन् ।
वानपिस तथा सिफनको कुर्तीमा पफ स्टाइलले युवतीलाई आकर्षक देखाउने तथा आरामदायक हुने डिजाइनर प्रेमदेव बताउँछन् । कतिपय पहिरनको आकर्षण केशको स्टाइलमा पनि भर पर्ने डिजाइनर देवले बताए ।